समाज

कर्णालीकै लामो जात्रा शुरु

जुम्ला-जुम्लामा शुक्रवार  देखि कर्णालीकै ठूलो र लामो जात्रा शुरु भएकोछ। जनैपूर्णिमाको भोलिपल्ट अर्थात गाईजात्राको दिन देखि शुरु हुने जात्रा श्रीकृष्ण जन्माष्टमीका दिन मात्रै सकिने छ।  पहिलो दिन सोमवार गाइजात्रा निकालिएको छ भने शनिवार रोपाइँ जात्रा निकालिने जात्रा समितिका अध्यक्ष राजुसिंह कठायतले जानकारी दिए। यसैगरी तेस्रो दिनमा सानो पल्टन, मिम बादशाह र   रमाइला आइटम तथा चौथो दिन मिम बादशाह, ठूलो पल्टन तथा बाघ भालु जात्रा निकालिने उनले बताए।

दिवंगत भएका आफन्तहरुको सम्झना गर्दै उनीहरुको आत्माशान्त्तिको कामना गर्दै  गाइजात्रा पर्व मनाइएको हो । भाद्र शुक्ल प्रतिपदाका दिन सुरु भइ भाद्र कृष्ण अष्टमि गरेर आठ दिनसम्म मनाउने चलन छ । एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवरका सदस्यहरुको सम्झनामा प्रतिकको रुपमा मानिसलाई गाईको रुपमा सृंगारेर वा गाईलाई नै नगर परिक्रमा गराउने चलन छ । नगरपरिक्रमा गर्दा श्रद्धालुहरुले गाईको पुच्छर समाइ वैतरणी नदी पार गरिने धार्मिक विश्वासका साथ फलफुल दही, चिउरा दान गर्ने चलन छ।

  लाखे जात्रा अवधीभर लाखे नाच पनि नाच्ने चलन छ ।  लिच्छविकालमा मल्ल राज प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए । त्यसपछि पनि रानीको मन शान्त हुन नसकेपछि हसाउने कार्यक्रम गरेको इतिहास छ । त्यसैलाई आधार मानेर गाईजात्रामा सामाजिक कुरिती, राजनीतिक विकृती र प्रशासनिक कमजोरीलाई लक्षित गरेर व्यङ्ग्यात्मक कार्यक्रमको आयोजना गर्ने गरिन्छ।

प्रकाशित: ३ भाद्र २०७३ १२:१५ शुक्रबार

कर्णालीकै जात्रा शुरु