समाज

‘डमी’ दूर्घटनाकाे अभ्यास मंसिर २३ गते, यती विमान दूर्घटना माघ १ गते: उद्दार अभ्यास भने सधै

क्याप्शन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउनु भन्दा केहीदिन अघि मात्र विमानस्थल परिसरमा आपतकालिन उद्धारको अभ्यास गरिएको थियो। केहीगरि विमान दुर्घटनामा परिहाले यात्रुलाई कसरी बचाउने, यात्रुको उद्धार कसरी गर्ने र दुर्घटनामा परेको जहाजमा आगलागी भए नियन्त्रण कसरी गर्ने लगायतका विषयमा अभ्यस्त बनाउने त्यो अभ्यासको उद्देश्य थियो।

हरेकजसो विमानस्थलमा वर्षेनी यो खालको अभ्यास हुन्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको तयारी भईरहँदा गत मंसिर २३ गते त्यस्तै अभ्यास गरिएको थियो। अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ‘डमी’ जहाज तयार पारेर दुर्घटना घटाएर उद्धार र आगलागी नियन्त्रणको अभ्यास त्यो बेला गरिएको थियो। तर, त्यही उद्धार अभ्यासलाई वास्तविकतामा बदल्ने गरि अघिल्लो साता पोखराको मध्यसहर भएर बग्ने सेतीखोंचमा यती एयरलाइन्सको जहाज खस्यो।  

चालकदलका चारसहित ७२ जना सवार उक्त जहाज अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २ किलोमिटर पर दुर्घटनामा परेको थियो। त्यस्तै दुईसाता अघिसम्म यही जहाज उडान र अवतरण गरिरहेको पोखराको पुरानो विमानस्थलबाट एककिलोमिटर दूरी भित्रै दुर्घटनास्थल पर्छ। पोखरामा यतिबेला दुइवटा बिमानस्थल संचालनमा छन्। ती दुईवटा विमानस्थलबाटै नजिकै यो दुर्घटना भएको थियो। तर, जहाज साच्चै दुर्घटनामा पर्दा भने कोही यात्रुको पनि जिवित उद्धार हुन सकेन र अभ्यासताका नियन्त्रणमा लिएजस्तो जहाजमा लागेको आगो पनि बेलैमा नियन्त्रणमा आएन। बेलैमा उद्धार नहुँदा समग्र राज्यको उद्धार क्षमतामाथि प्रश्न उठेको छ।

मध्य सहरमा साच्चै विमान दुर्घटना हुँदा गरिने उद्धारको काम निकै नै सकसपूर्ण बनेको अघिल्लो साताको घटनाले देखाएको। के अभ्यास गर्दाको जस्तो प्रयासले वास्तविक घटनामा उद्धार सहज नहुने हो? पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख बिक्रम गौतम भन्छन,’ अभ्यासले केही कुरा सिकाएको थियो, लगत्तै वास्तविक दुर्घटनामा हामी खटिनुप¥यो। अभ्यासताका अपनाइएको उपायले थोरै भएपनि सहज त थप्यो तर, त्यो नै काफि भएन। किनकी हामीसँग धेरै अप्ठेरा थिए। ती अप्ठेरा सहजै पार लगाउन हामीले सक्ने अवस्था रहेन।’ उनका अनुसार अभ्यासताका आइपरेका अप्ठेरालाई पछि सुधार गर्दा वास्तविक दुर्घटना हुँदा सहजीकरण गर्न केही सहज भएको थियो।

गौतमका अनुसार जहाज दुर्घटना हुँदा मानवीय क्षति हुन नदिनु, थप भौतिक क्षति रोक्नु र सकेसम्म छिटोगरि विमानस्थल संचालनमा ल्याउनु मुख्य कुरा हुन्छ। माघ १ गतेको यती एयरको जहाज दुर्घटना भएको २ घण्टा १३ मिनेटमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ववत अवस्थामा संचालनमा आएको थिएन। किनकी विमानस्थलमा कुनै क्षति थिएन। तर, मानवीय र भौतिक क्षति भने रोक्न सकिएन। त्यसो हुनुमा मुख्य कारण भने सहज पहुँचको कारणले अप्ठेरो आइपरेको हो।

‘जहाज दुर्घटनामा परेको १२–१३ मिनेटभित्रै बारुणयन्त्र घटनास्थलमा पुगेको हो। एम्बुलेन्स पनि पुगेको हो। तर, बाटोको पहुँच नै समस्या भयो। भनेको ठाउँमा भारयुक्त वारुणयन्त्र सहजै पु¥याउन सकिएन,’ उनले भने, ‘लगातार तीनवटा वारुणयन्त्र पठाएपनि बाटोका कारण नजिक जान सके। त्यसले गर्दा आगलागी नियन्त्रणमा ल्याउन कठिनाई भयो।’  

उनका बिचारमा केहीगरि जहाज समथर मैदानमा दुर्घटनामा परेको भए त्यो क्षति कम हुन्थ्यो। अझ विमानस्थलभित्रै दुर्घटनामा परेको भए त अझै मानवीय क्षति नहुन सक्थ्यो। ‘विमानस्थलभित्रै दुर्घटनामा परेको भए त मानवीय क्षति नै हुँदैनथ्यो, तर, घटना खोंचमा भयो,’ उनले भने, ‘बाटो अनुसारका वारुणयन्त्र भएनन। वारुणयन्त्र अनुसारको बाटो पनि भएन। बाटो र वारुणयन्त्रको संयोजन मिल्नै सके। जसले गर्दा उद्धारमा कठिनाई भएकै हो।’

यतीको जहाज दुर्घटनामा पर्दा पोखराका दुवै विमानस्थल र पोखरा महानगरका वारुणयन्त्र परिचालन भएका थिए। ती वारुणयन्त्र चाहेको बेला घटनास्थलमा पुग्नै सकेनन, किनकी खोंचसम्म पुग्ने बाटो साँघुरो भयो। त्यस्तै कुनैपनि बेला आइपर्ने विपद्का बेला आवश्यक पर्नेगरि ‘स्याटेलाईट स्टेशन’ पनि खड्केको महसुस  भएको गौतमले बताए। उनका अनसार सहरका ठाउँठाउँमा रहनुपर्ने त्यस्ता स्याटेलाईट स्टेशन हुनुपर्छ, जहाँ वारुणयन्त्र, एम्बुलेन्स, उद्धार सामाग्री, औषधि, टेन्ट, खाद्यान्न लगायतका बस्तु राख्नुपर्छ। जसलाई आवश्यकता अनुसार कुनैपनि बेला परिचालन गर्न सकिया।  

‘अहिले पो जहाज दुर्घटनामा प¥यो, तर विपद्भित्र दुर्घटना मात्र पर्ने होइन, अरुखालका घटना पनि हुनसक्छन। बाढीपहिरोदेखि भूकम्प, आगलागी जस्ता घटना पनि हुनसक्छन। ती स्टेशनबाट आवश्यक जनशक्ति र श्रोतसाधन परिचालन गर्न सकियोस, अहिलेजस्तो एकठाउँको मात्र भर पर्नुपर्ने अवस्था आउनुहुँदैन,’ उनले भने, ‘सहरका ठाउँठाउँमा यस्ता स्टेशन अभाव देखेको यो दुर्घटनाबाट थाहा भयो।’

त्यस्तै दुर्घटनास्थलमा सञ्चार सम्पर्क पनि निकै कठिनयुक्त थियो। दुर्घटनालगत्तै ठुलो संख्यामा सर्वसाधारण घटनास्थलमा पुग्दा सञ्चार सम्पर्क कठिनपूर्ण बनेको थियो। त्यसैगरि सडक, विद्युत, पानी जस्ता आवश्यकता पनि त्यहाँ खड्केको उनले बताए। ‘घटनास्थलको त कुरै छाँडौ, गत जनवरी १ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने दिनमा पनि विमानस्थल परिसरमा फोन सम्पर्कमा कठिनाई थियो, त्यो बेलाका लागि अब दूरसञ्चार कम्पनिले तत्कालै टावर पु¥याउन सक्ने गरि पूर्वाधार तयार पार्नुपर्ने देखिन्छ,’ उनले भने, ‘यस्ता घटनामा सबैको भूमिका महत्वपूर्ण रहन्छ। तर, केही अभाव थिए।’  

उद्धारका बेला मात्र नभई दुर्घटनामा मृत्यु भएका यात्रुको शव राख्नेगरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा ‘फ्रिज’ अभाव भएको थियो। ‘जम्मा १७÷१८ जनाको शव अट्ने रहेछ। तर, हामीसँग ७२ वटा शव थिए । अब त्यो क्षमता पनि बढाउनुपर्ने महसुस भयो,’ उनले भने।  

भौगोलिक हिसाबले पोखरा देशकै ठुलो महानगर, गण्डकी प्रदेशको मुकाम, सेवासुविधाको हिसाबले अब्बल मानिएको सहरमा एउटा जहाज दुर्घटना हुँदा उद्धारमा परेको सकसले पनि बुझाउँछ की सरकार विपद्को तयारीमा पटक्कै छैन। नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी भन्छन, ‘विपद् व्यवस्थापनलाई डेमोको रुपमा मात्र सिमित राखिएको छ। तयारी व्यवहारिक रुपमा देखिएन । खालि परेको बेला जसोतसो टार्ने काम मात्र भएको छ,’ मुल्मी भन्छन, ‘विपदसँग जुध्ने तयारी बुुझ्दा अन्तर्राष्ट्रिय विमानस्थलले पर्याप्त स्वरुप देखाएन। नागरिक उड्ययन प्राधिकरणले आफुलाई सुसज्जित बनाउनुपर्छ।’  

उनका अनुसार पोखरामा अहिले पर्याप्त दमकल छैनन। त्यसबाहेक उद्धारमा प्रयोग गरिने उपकरणको  अभाव छ। सबैखाले विपद् व्यवस्थापन जिम्मा पाउने निकाय प्रहरीलाई दिइएको छ। अब विपद्का लागि भिन्दै सुरक्षा निकाय चाहिन्छ। ‘विपद् व्यवस्थापन गर्ने जिम्मा प्रहरीलाई मात्र दिइएको छ। तर, प्रहरीसँग पर्याप्त श्रोतसाधन नै छैन। विपद् व्यवस्थापनका लागि हाम्रो लागि भौगोलिक अवस्था अनुसार भिन्दै सुरक्षा निकाय चाहिन्छ,’ उनले भने, ‘उपकरणले भरिपूर्ण टिम बनाउने हो भने सहज हुन्छ।’  

हरेक जिल्लामा त्यहाँका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विपद् व्यवस्थापन समिति रहन्छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले केही अप्ठेराका बाबजुत पनि सबै श्रोतसाधनको परिचालन गर्दा उद्धारमा सहज भएको दावि गर्छन। ‘पहुँचका हिसाबले सबैखाले सवारी पुग्न सकेनन। तर, आवश्यक साधन श्रोत र जनशक्ति नजिक भएकोले सहजै घटनास्थल पु¥याउन सकियो, यस्तै घटना दुर्गममा घटेको भए अझै अप्ठेरो हुन्थ्यो,’ उनले भने, ‘विपद्का बेला के कस्ता सामाग्री आवश्यक पर्छन भन्ने यकिन हुँदैन। तर, पोखरामा क्रेन देखि तुइनमा झुण्डिएर भएपनि उद्धार ग¥यौ। यतिसम्मकी सबैको पहुँच भएकोले सेतीको पानी नै अन्यत्र डाइभर्ट गरेर उद्धारमा खटियौ।’ सबै ठाउँमा दोहोरो सवारी चल्ने पहुँच नहुँदाको अप्ठेरो भने आइपरेको उनले बताए।  

भौगर्भिक विषय विज्ञ श्रीकमल द्विवेदी विपद् व्यवस्थापनमा साहै्र नै कमजोर बनेको बताउँछन्। ‘उद्धारमा लगाव हुनुपर्छ। जात्रे कल्चर बढेको छ,’ उनले भने, ‘वास्तविकतामा शुन्य भयौ, तर देखाउने काममा अघि बढ्यौ। विपद्सँग लड्ने भनेको देखाउने काम मात्र भएको छ। आदेशको भरमा चलेको देखिएको छ।’ अब विपद् व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने उनले बताए।  

‘विपद् व्यवस्थापनलाई प्राथमिकता दिएका छैनौ, त्यसका लागि पूर्वतयारी नै हुन सके। सधैं हुने घटना होईनन, तर, तयारी सधैका लागि चाहिन्छ,’ उनले भने, ‘घटना एकदिन घट्छ, तर तयारी ३६४ दिनकै लागि हुनुपर्छ। हरेक दिनका लागि टिम तयार हुनुपर्छ।’ घर बनाउँदा बाटो छाडेको भरमा सहरीकरण हुँदा यस्ता घटना हँदा पहुँचमा समस्या पर्ने गरेको उनले बताए। ‘विपद् व्यवस्थापन गर्न योजनावद्ध काम हुनुपर्छ। त्यो भएन भने हामी टिक्दैनौ, अहिलेसम्म टालटुले पाराले चलेको छ। सधै टालटुले पाराले चल्दैन,’ उनले भने।  

प्रकाशित: ८ माघ २०७९ १०:५७ आइतबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यती एयर दुर्घटना उद्धार क्षमता