समाज

तिलौराकोटलाई विश्व सम्पदा बनाउन मौर्यकालीन पोखरीको उत्खनन

तिलौराकोटलाई विश्व सम्पदामा सुचीकृत गराउने अभियान अन्तर्गत यस बर्ष फेरी तिलौराकोट दरबार भित्र उत्खनन थालिएको छ। पुरातत्त्व विभागको विज्ञ टोलीले तिलौराकोटस्थित मध्य भागमा रहेको मौर्यकालीन पोखरीको उत्खनन पुनः सुरु गरेको हो।

तिलौराकोट राजा शुद्धोधनको राजप्रसाद एवं सिद्धाथ गौतमले २९ वर्ष बिताएको ठाउँ हो। तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न लुम्बिनी विकास कोष र पुरातत्त्व विभागले विभिन्न किसिमका प्रक्रिया अगाडि बढाएको छ। तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचीकृत गराउन विगत एक दशक बढी समय देखि यहाँ हरेक बर्ष उत्खनन गर्ने गरिएको छ।

यस्तै जग्गा अधिग्रहण, संरक्षण बिभिन्न अध्ययन अनुसन्धान जारी छ।  युनेस्को जापनिज फन्ड्स इन ट्रस्टको आर्थिक सहयोगमा सन् २०१४ मा पुरातत्त्व विभाग बेलायतको दुरह्याम विश्वविद्यालय र लुम्बिनी विकास कोषलगायतको टोलीले पोखरीको भौतिक सर्वेक्षण गरेको थियो।

तिलौराकोटलाई विश्व सम्पदा क्षेत्रमा सुचीकृत गराउने अभियान अन्तर्गत यहाँ एक दशक बढी समय देखि उत्खनन अध्ययन र अनुसन्धानका काम जारी रहको पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत राम बहादुर कुवरले बताए।

यही अभियान अन्तर्गत यस बर्ष विगत उत्खननमा भेटिएको मौर्यकाली पोखरीको थप अनुसन्धानका लागि उत्खनन गरिएको उनले बताए। सर्वेक्षणबाट जमिनभित्र अलिकति धस्सिएको ३०/३० मिटर क्षेत्रफलको एउटा संरचना फेला पारेको थियो। भौतिक सर्वेक्षणले यसको वरिपरि चौडा बाहिरी पर्खाल देखाएको छ। मध्य भागमा खाली रहेकाले उक्त संरचना प्राचीन नगरका अन्य सडक तथा भवनजस्तै भएको संकेत गरेको थियो। उत्खननबाट नगरभित्र इँटाको गारो लगाइएको ठुलो पोखरी रहेको भेटिएको हो।

सन् २०१५ मा उत्खनन गर्दा जोगिएको २६ तहको इँटा भेटिएको थियो त्यो इँटाका तहहरू क्रम मिलाएर राखिएको पुरातत्त्व विभागका अधिकृत भास्कर ज्ञवालीले बताए। पोखरीका इँटाहरू कुनै ४५ सेन्टिमिटर लम्बाइ सम्म भएको भेटिएको थियो। यो संरचनालाई रेडियो कार्बन तिथि निर्धारण गर्दा सो पोखरी मौर्यकालीन समयमा बनेको कुरा पत्ता लागेको ज्ञवालीले बताए।

विभागले पोखरी दक्षिणतर्फको पर्खालको पहिचान गर्नका लागि गत वर्षदेखि अध्ययन सुरु गरेको थियो। गत वर्ष दक्षिणतर्फ रहेको पर्खालको करिब १२ मिटरमा उत्खनन गरिएको हो। यो वर्ष बाँकी रहेको ११ मिटर उत्खनन गरिने छ। उत्खनन गर्ने क्रममा दक्षिणतर्फको पर्खालको लम्बाइ २७ मिटर रहेको पाइएको उनले बताए।

विगतको वर्षहरूमा पोखरीको उत्खनन गर्दा २६ तहको इँटा थियो। यस वर्ष गरिएको अध्ययन अनुसन्धानबाट यो पोखरी विभिन्न समयमा बनेको तथ्य फेला पर्ने उनले बताए। २६ तहभन्दा बढी २७ देखि २८ तहसम्म पहिचान गर्न सफल भएको उनले बताए।

पोखरीको निर्माण काठमाडौँ उपत्यकामा नगरी योजनाको मुख्य अंश भएको र तिलौराकोटमा समेत यसको निर्माण भएको अनुमान गरिएको छ। नेपालको तराई र पहाडका बीचमा नगर योजनासम्बन्धी साझा अवधारणाहरू रहेको हुन सक्ने लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले बताए।

विगत वर्षहरूमा पोखरी उत्खनन गर्ने क्रममा मौर्यकालीनमा बनेको पोखरीको भग्नावशेष, कृषाणकालीन सिक्का, पाञ्चमार्कका सिक्का, विभिन्न किसिमका माटोबाट बनेका आकृतिहरू फेला पारेका थिए।

विगतका वर्षहरूमा तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्स, समयमाई मन्दिर, दरबारको पूर्वी प्रवेशद्वार, कन्थक स्तूप, शिव गढ र तिलौराकोटको उत्तरतर्फको खाली ठाउँमा उत्खनन गरिएको थियो।

प्रकाशित: ८ माघ २०७९ ०९:२६ आइतबार