समाज

३७ लाख मूल्य बराबरका १०६ बोरा अवैध गुट्खा बरामद

वीरगन्ज– वीरगन्जका विभिन्न फर्म तथा पसलहरुबाट प्रहरीले ठुलो परिमाणमा अवैध गुट्खा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साको प्रतिनिधि राखेर ४ वटा गोदाममा गरिएको छापामारीमा एक सय ६ बोरा गुट्खा बरामद गरेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए।
‘त्यसमध्ये २६ बोरा त कुहिएको अवस्थामै छ, अरु ८० बोरामा पनि खतराको चिन्ह नियम अनुसार नभएको र सबैमा उत्पादन मिति उल्लेख नभएको अवस्थामा बरामद भएको हो,’ श्रेष्ठले भने, ‘यी सबैलाई जफत गरेर नष्ट गर्न राय सहित हामीले जिल्ल्स्थित प्रसाशन कार्यालयलाई पठाएका छौं।’ उनले ६ महिना प्रयोग गर्न मिल्ने उल्लेखित प्याकेटमा एउटामा पनि उत्पादन मिति उल्लेख नभएको पाइएको बताए। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन समितिले यसको मुद्दा सुनुवाई गर्ने उनले बताए।  

बरामद गरिएको गुट्खा साढे ३७ लाख मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ। वीरगन्ज उपमहानगरपालिका– ११ गहवामा रहेको माँ वैष्णवी ईन्टरप्राईजेजबाट ६१ बोरा, वडा नं. ७ रेशमटोलस्थित चावासति मार्केटिङ्गबाट ९ बोरा, वडा नं. ८ स्जित कृष्ण जनरल स्टोरबाट २ बोरा र सोही ठाउँमा भएको कन्चन किराना पसलबाट ८ बोरा गुट्खा बरामद गरिएको हो।

बरामद गुट्खाका पाकेटहरुमा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ मा उल्लेखित मापदण्ड अनुसारको प्राणघातक जनाउ दिने चिन्ह नभेंटिएको प्रहरीको भनाइ छ। बरामद गुटखा स्वदेशमा नैं बनेका हुन् ।

श्रीराम तम्बाकु उधोग बुटवल र शिखर प्रडोक्टर एण्ड प्याकेजिङ्ग इन्डष्ट्रिजका शुद्धधन गुट्खा, शुद्ध प्लस, शुद्ध प्लस पानमसला, रौनकप्लसलगायतका उत्पादन हुन्।

 

प्रकाशित: ३२ श्रावण २०७३ १३:५१ मंगलबार

३७ बराबरका १०६ बोरा अवैध गुट्खा बरामद