जुम्लाको सिँजा गाउँपालिकाले सिँजा क्षेत्रमा नापी र मालपोत कार्यालय स्थापना गर्न माग गरेको छ।
जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको पर्वपक्षीय र सर्वदलीय बैठकले तीनवटा स्थानीय तहका लागि सिँजा क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग गरेको हो।
तत्कालीन ३० वटा गाविसका लागि सदरमुकाम खलंगामा नापी र मालपोत कार्यालय राखिएको थियो। ती कार्यालय स्थानीयलाई पायक पर्ने स्थानमा नभएकाले सिँजा क्षेत्रमा कार्यालय बनाउन माग गरिएको हो। उक्त कार्यालय उकालो डाँडामा छ। सवारीसाधनको व्यवस्था पनि नभएकाले ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई जग्गाको कारोबार गर्न समस्या छ।
जिल्लामा रहेका कार्यालयहरू संघीय संरचना अनुसार स्थानीय तहमा विकेन्द्रीकरण हुनुपर्ने हो। अधिकांश सरकारी कार्यालयहरू स्थानीय तहमा पुगे पनि मालपोत र नापी कार्यालय विकेन्द्रीकरण हुन सकेका छैन। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सिँजा क्षेत्रमा नापी र मालपोत माग गरिए पनि अर्थ मन्त्रालयका कारण काम रोकिएको सिँजा गाउँपालिकाका प्रवक्ता तथा-२ वडा अध्यक्ष तिर्थ वडले बताए।
अर्थ मन्त्रालयको निर्णयले सिँजामा मालपोत र नापी कार्यालय स्थापना गर्न बाधा पुर्याएको उनको भनाइ छ। उनले भने,'हामीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग माग गरेका थियौँ। उक्त माग फाइल अर्थ मन्त्रालयमा पुगेको छ। अर्थले पुस २० गते नापी र मालपोत कार्यालयको अवस्था, वार्षिक बजेट तथा कार्यक्रमका विषयमा दूरदृष्टिसहितको सर्वेक्षणका लागि गृहकार्य गर्न उपयुक्त हुने निर्णय गरेको छ।'
प्रकाशित: ६ माघ २०७९ ०८:५४ शुक्रबार