समाज

आमाको हत्या गरी बाबुले आत्महत्या गरेपछि छोराछोरीको बिचल्ली

बैतडी—घरायसी विवादमा बुबाले आमाको हत्या गरी आफूले पनि आत्महत्या गरेपछि चार वर्षमुनिका तीन छोराछोरी बिचल्लीमा परेका छन्।  बैतडीको पाटन नगरपालिका–९ कुलडाका २८ वर्षीय कमल बोहराले आफ्नी २५ वर्षीया श्रीमती बिन्दु बोहराको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए। 

आइतबार दिउँसो श्रीमान् श्रीमतीबीच सामान्य विवाद हुँदा कमलले श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ। श्रीमतीलाई बन्चरोको प्रहार र लौरोले हिर्काएर हत्या गरेको र श्रीमान्‌ले घरभित्र झुन्डिएर आत्महत्या गरेका हुन्। भारतमा रोजगारी गर्दै आइरहेका कमल २५ दिन अगाडि मात्रै घर फर्केका थिए। 

घटनाको विषयमा अनुसन्धान गर्न गएका प्रहरी निरीक्षक सुरेन्द्र बमले भने 'कमल साइको रहेछन् भन्ने बुझिएको छ सामान्य विवादपछि रिसको झोकमा श्रीमतीको हत्या गरी आत्महत्या गरेको भन्ने पारिवारिक स्रोतको भनाइ रहेको छ।'

श्रीमान् भारतमा मजदुरी गर्न गएको बेला घरमा रहेकी श्रीमतीमाथि अरु केही शङ्का गरेर पनि हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ। 

कमल र बिन्दुको मृत्युपश्चात् तीन छोराछोरीको बिचल्ली भएको छ। चार वर्षमुनिका एक छोरी र दुई छोरा रहेका छन्। छोराछोरी र आमाबुबाको रुवाबासी छ। 

मृतक दुवैको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र आज परीक्षणपश्चात् थप विवरण आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। रासस 

 

प्रकाशित: ३१ श्रावण २०७३ ०३:४३ सोमबार

आमाको हत्या गरी बाबुले आत्महत्या गरेपछि छोराछोरीको बिचल्ली