समाज

माओवादी नेता पुनको कलेजो प्रत्यारोपण देश बाहिर गर्ने तयारी

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको उपचारमा संलग्न नेपाल र चिनियाँ चिकित्सकले उनलाई कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन्।

कलेजो प्रत्यारोपण भने देश बाहिरनै गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न एक चिकित्सकले नागरिक न्यूजलाई बताएका छन्।

नेता पुनको उपचारमा संलग्न कलेजो तथा पेट रोग विशेषज्ञ डा युवराज शर्माले भने, ‘उहाँको स्वास्थ्य अवस्थाबारे चिनियाँ स्वास्थ्य विशेषज्ञहरुसँग छलफल गरे। उहाँको स्वास्थ्य अवस्थाको सम्पूर्ण जानकारी गराएको छु। हामीले गराएको जानकारी अनुसार चिनियाँ स्वास्थ्य विशेषज्ञहरुले पनि कलेजो प्रत्यारोपण नै गर्नुपर्ने बताएका छन्।’  

प्रत्यारोपण बाहेक अन्य विकल्प नभएको हुँदा केहि हप्ता वा महिना भित्रनै पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने शर्माले बताए। ‘परिवासँग छलफल गरिरहेका छौं। अब उहाँहरुले के भन्नुहुन्छ त्यहिअनुसार अगाडि बढछौं,’ उनले नागरिकन्यूजसँग भने ‘नेपालमा यसको शल्यक्रिया अलि गाह्रो नै छ। जहाँ राम्रो शल्यक्रिया हुन्छ त्यहि नै गर्ने हो। त्यसैले प्रत्यारोपण गर्न बाहिरनै जाने कुरा छ।’

दुवै देशका विशेषज्ञले एउटै सुझाव दिएपछि उनको परिवार त्यही अनुसारको तयारीमा लागेको हो। पुन यसअघि पनि कलेजोको उपचारका लागि चिन गएका थिए। त्यति बेला उपचारमा संलग्न चिकित्सक टोली र यहाँका चिकित्सक टोलीबीच उनको उपचारबारे छलफल हुँदा ‘कलेजो प्रत्यारोपण’ गर्नुपर्ने निष्कर्ष निस्किएको हो।

वंशाणुगत जन्डिसका विरामी नेता पुनको पुस ३० गते पुनः स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना गरी उपचार भइरहेको छ।

डा. शर्माका अनुसार पुनको कलेजोको ८० प्रतिशत भन्दा बढी भाग बिग्रिसकेको छ, त्यसैले कलेजो प्रत्यारोपण नै गर्नुपर्छ।

कलेजो प्रत्यारोपणमा कलेजो दाता परिवारकै सदस्य हुनुपर्ने र कलेजोको आकार मिल्नुपर्ने हुँदा त्यसको बारेमा पनि छलफल भइरहेको शर्माले बताए। उनले भने,‘कलेजो प्रत्यारोपणमा दाता परिवार भित्रकै हुनुपर्छ। उहाँहरुको परिवारका सबै सदस्यहरु तयार नै हुनुहुन्छ। तर कसको कलेजो मिल्छ भन्ने हुन्छ। कलेजो हामिले काटेर हाल्छौं। हाल्ने र दिनेको कलेजोको आकार मिल्नुपर्छ। अब कस्को मिल्छ त्यो भने जाँच गर्न नै बाँकी छ।’

प्रत्यारोपणका लागि चिन पठाउन लाग्नु भएको हो भन्ने प्रश्नमा उनले पहिला देखिनै त्यहि उपचार गरिरहेकाले शल्यक्रिया गर्न पनि चिन नै जान सक्ने बताए। डा.शर्माका अनुसार  पुनलाई विश्वमा बिरलै देखिने जटिल प्रकृतिको वंशाणुतग रूपमा रहेको जण्डिस देखिएको छ।  

उनको जण्डिसको लेबल बेला–बेलामा उच्च हुने गरेको छ। काममा बढी खट्दा, तनाव बढी लिँदा, इन्फेक्सन भई शरीरका विभिन्न अंगमा असर देख्दा जण्डिसको लेबल उच्च हुने उनले बताए।

पुनले एउटा टेलिभिजन अन्तवार्तामा आफूलाई २०५२ सालतिर जाँच गराउदा आफूलाई वंशाणुतग जण्डिस भएको थाहा पाएको बताएका थिए। पछिल्लो समय पुन वंशाणुतग जण्डिसको उपचार गराइरहेका छन्। नेपालमा उपचार सम्भव नभएपछि उनी उपचारका लागि थाईल्याड पुगेका थिए। थाइल्याण्डस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका पुन स्वास्थ्यमा सुधार नभएपछि चिनको थर्ड पिपल्स हस्पिटल अफ सेनजेनमा उपचारका लागि गएका थिए।

प्रकाशित: ५ माघ २०७९ ११:२६ बिहीबार

वर्षमान पुन