समाज

सडकपेटी पार्किङमा परिणत

काठमाडौं- राजधानीको तीनकुने चोकदेखि गैरीगाउँ जाने सडकको पेटी सवारीसाधन पार्किङले नै भरिने गरेकाले बटुवा सडक पेटी हो कि पार्किङ रनभुल्लमा पर्न थालेका छन्। 'सडक पेटी जहिल्यै पार्किङ हुने गरेको छ, जसले गर्दा हिँड्नै सकस हुन्छ,' एक स्थानीय भने, 'कहिले पार्टी प्यालेसका सवारीले भरिन्छ भने कहिले मार्बल गोदामका गाडी त कहिले मोटरसाइकलले फुटपाथ भरिने गर्छ।' स्थानीयका अनुसार ट्राफिक प्रहरीले पनि सडक पेटीमा गरिने सवारीसाधन पार्किङप्रति आँखा चिम्लेको छ। मार्बल गोदामले सवारीसाधन सडकमै राखी निर्माण सामग्री लोड/अनलोड गर्दा पनि ट्राफिक मुकदर्शक बन्ने गरेको स्थानीयले आरोप लगाए। 

बिहीबार मध्यान्हमा नागरिककर्मी त्यहाँ पुग्दा पनि फुटपाथमा मोटरसाइकल बग्रेल्ती पार्किङ गरिएका थिए। फुटपाथसँगै रहेको मोटरसाइकल वर्कसपले पनि फुटपाथमै मोटरसाइकल पार्किङ गरेको थियो भने आराम्याक्स कुरिअर तथा मार्बल कम्पनीका गाडी पनि सडकमै पार्क गरिएका थिए। सडकमा निजी कार पनि उत्तिकै पार्किङ गरिएका थिए। त्यहाँ करिब आधा दर्जन मार्बल कम्पनीका गोदाम छन्। रोयल ब्याङक्वेटलाई देखाउँदै एक स्थानीयले भने, 'यहाँ ठूलो पार्टी भएको दिन त यो फुटपाथमा पार्किङले गर्दा खुट्टा हाल्ने ठाउँ हुँदैन।' उनका अनुसार पार्टी प्यालेस, मार्बल कम्पनी लगायतका गाडीले सडक पनि कब्जा हुने गरेको छ। उच्च स्रोतका अनुसार ट्राफिक प्रहरीले ती कम्पनीबाट 'हप्ता' उठाउने भएकाले गर्दा बगे्रल्ती पार्किङ हुँदा पनि चासो नदिएको बतायो।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरले सडक र पेटीमा हुने गरेको पार्किङविरुद्ध अपरेेसन नै थालेको बतायो। 'पार्किङ बढी हुने क्षेत्रमा अहिले हामीले अप्रेसन नै थालेका छौं,' प्रभाग प्रमुख इन्सपेक्टर भगीरथ रेग्मीले भने, 'सडक तथा फुटपाथ पार्किङ गर्नु कानुन विपरित हो त्यसैले हामीले त्यस्तो पाएका कारवाही गरेका छौं।' ट्राफिक प्रहरीले हप्ता उठाउने कुराको इन्स्पेक्टर रेग्मीले चर्को स्वरमा आलोचना गरे। 'यो हुनै सक्दैन्। पहिला थियो भने जान्दिन, म आएपछि यस्तो २ नम्बरी कुनै कार्य भएकै छैनन्,' उनले भने, 'कुनै प्रमाण भेटियोस् वा कसैले हामी हप्ता दिन्छौ भनोस् म कानुनी कारवाहीको भागीदार भई जागिरसमेत छोडेर जान तयार छु।' उनले कुनै कारणले नेताहरुलाई रिस उठेर आरोप लगाएको हुन सक्ने बताए। ड्युटीमा रहेका कसैले पनि यस्तो गैरकानुनी कार्य गरेको कुनै प्रमाण नभएर आधार भेटिएमा मात्र पनि तुरुन्तै कानुनी कारवाही गर्ने बताए।

रेग्मीका अनुसार अहिले प्रभागले दैनिक सवारीसाधन कारबाही गरेर करिब ३० हजार रुपैयाँ राजस्व उठाउँदै आएको छ। दैनिक ६० वटा भन्दा बढी सवारी कारबाहीमा पर्ने गरेको रेग्मीको भनाई छ।

'हिजो नै दुई वटा गाडि उठाएर बग्गीखाना पुर्‍यायौं,' उनले भने, 'सडकमा जथाभावी पार्किङ गर्ने कसैलाइ पनि छाडेका छैनौं।' उनका अनुसार मोटरसाइकल भने प्रभागसँग गाडी नभएकोले महानगरपालिकासँग समन्वय गरेर उठाउने गरेको छ।

रेग्मीले कतै कसैले पार्किङ निषेधित ठाउँमा पार्किङ गरेको जानकारी पाए तुरुन्तै कारबाही गरिने बताए। 'कतै हामीले थाहा नपाएर पनि हटाउन सकेका हुँदैनौं,' उनले भने, 'पार्किङ भएको देख्नासाथ हामीलाई सूचना आओस् हामी तुरुन्तै पार्किङ हटाउन पुग्नेछौं।'

 

प्रकाशित: ३० श्रावण २०७३ ०२:२९ आइतबार

सडकपेटी पार्किङमा परिणत