समाज

निर्वाचन कार्यालय र कोलेनिकालाई ३ रोपनी जग्गा दान

भगिश्वर लिम्बू

तेह्रथुम– कोष तथा लेखा नियन्त्रण कार्यालयको भवन निर्माणका लागि एक स्थानीयले करिब ३० लाख रुपैयाँ मूल्य डेढ रोपनी जग्गा निशुल्क प्रदान गरेका छन्। कोलेनिकाको भवन निर्माणका लागि म्याङलुङ– २ बस्ने मायादेवी ढकालले १ रोपनी ८ आना जग्गा दान गरेकी हुन्।

जग्गा प्राप्त भएपछि अब चाँडै भवन निर्माण गरिने र यसका लागि पक्रिया अगाडि बढाइसकिएको कोलेनिका प्रमुख मनोज सुनवारले जानकारी दिए। कोलेनिका कार्यालय अहिले भाडाको घरबाट सञ्चालन हुँदै आएको छ।
त्यस्तै, जिल्ला निर्वाचन कार्यलय तेह्रथुमको भवन निर्माणका लागि निशुल्क जग्गा प्राप्त भएको छ। भवन निर्माणका लागि म्याङलुङ नगरपालिका १ निवासी तोककुमारी तुम्बाहाङफेले डेढ रोपनी जग्गा दान गरेकी हुन्। 

जग्गादाता तुम्बाहाङफेले म्याङलुङ १ को दलित सचेतना समाज(ड्यास)को कार्यलय नजिकै आफ्नो नाममा रहेको जग्गा उनका स्वर्गीय पति पुष्पलाल तुम्बाहाङफेको स्मृतीमा निर्वाचन कार्यलयलाई प्रदान गरेको बताइन्।

करिब ४ लाख ८० हजार रुपैयाँबराबर मूल्य पर्ने उक्त जग्गाको लालपूर्जा प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका बिच निर्वाचन कार्यलयलाई हस्तान्तरण गरिएको छ।

निर्वाचन कार्यलयको कार्यकक्षमा आयोजित जग्गा हस्तान्तरण कार्यत्रलममा प्रमुख जिल्ला अधिकारीलगायत कार्यलय प्रमुख तथा जग्गादाताहरुको उपस्थिति रहेको थियो। निर्वाचनको कार्यलय जिल्ला विकास समितिको नामका रहेको भवनमा सञ्चालन हुँदै आएको छ।

प्रकाशित: २९ श्रावण २०७३ ११:१२ शनिबार

निर्वाचन कार्यालय कोलेनिकालाई रोपनी जग्गा