समाज

ज्येष्ठ नागरिकलाई सिरक

त्रियुगा नगरपालिका–१० का ज्येष्ठ नागरिक, असहाय, एकल महिला र असक्त नागरिकलाई सिरक वितरण गरिएको छ। वडाको वार्षिक बजेटबाटै न्यानो सिरक खरिद गरी उनीहरूलाई वितरण गरिएको वडाध्यक्ष किरण पाण्डेले बताए। सिरक पाउनेमा ६८ वर्ष कटेका ज्येष्ठ नागरिक, ६० वर्ष कटेका दलित ज्येष्ठ नागरिक तथा शारीरिक, मानसिक अपांगता भएका व्यक्ति र एकल महिला रहेका छन्।  

पुस अन्तिमदेखि चिसो उत्कर्षतर्फ गइरहेको र यसले ज्येष्ठ नागरिक र असक्तहरूलाई गाह्रो पार्ने भएकाले वडा कार्यालयकै बजेटबाट सिरक वितरण गररिएको वडाध्यक्ष पाण्डेको भनाइ छ। बढ्दो चिसोले ज्येष्ठ नागरिक, शारीरिक रूपमा असक्त, एकल महिला तथा दलित वृद्धवृद्धा जाडोले कठ्यांग्रिन थालेको पाएपछि वडा कार्यालयले थालेको ‘नागरिक बचाऔं’ अभियानअन्तर्गत सिरक वितरण गरिएको पाण्डेले बताए।

चिसोले उनीहरूको कष्टकर दैनिकीलाई सहज बनाउन सहयोग पुगोस् भनेर फाइबरको सिरक वितरण गरिएको उनले बताए। उनका अनुसार वडाले तोकेको मापदण्डअनुसार ५ सय ३० जना वडाका लक्षित वर्गलाई सिरक वितरण गरिएको छ। लक्षित वर्ग लाभान्वित होऊन् भनेर मापदण्ड बनाएर सिरक वितरण गरिएको छ। कोही छुटेका भए लगत संकलन गरेर फेरि वितरण गरिने उनले प्रतिबद्धता जनाए। सुरुमा धेरै वृद्धवृद्धा र असक्तहरूले रेडियोको माग गरेकोमा पछिल्लो समय चिसो बढ्दै गएपछि सिरक माग्न थालेको र सोहीअनुसार सिरक बाँडेको वडाले जनाएको छ। उनले भने, ‘अर्को वर्ष रेडियो र बुढेसकालको सहारा लौरो र चस्मा वितरण गर्ने योजना बनाएको छु।’

वडाको बोक्सेस्थित नयाँ बस्तीमा शनिबार आयोजित एक कार्यक्रममा नगर प्रमुख वसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई र वडाध्यक्ष पाण्डेले संयुक्तरूपमा सिरक वितरण गरे। सो क्रममा मेयर बस्नेतले नगरबासी नागरिकको सुरक्षा गर्नु जनप्रतिनिधिको प्रमुख कर्तव्य भएको बताए। उनले वडाभित्रका लक्षित वर्ग पहिचान गरी न्यानो कपडा वितरण गरेकोमा वडाध्यक्षलाई धन्यवाद दिए।

उपमेयर राईले स्थानीय तह सरकार नै भएकाले आफ्ना नागरिकको सुरक्षा गर्नु दायित्व भएको भन्दै ज्येष्ठ नागरिक, असहाय, बालबालिका, गरिब र विपन्नलाई सबै वडाले यसरी नै सहयोग गर्नुपर्ने बताइन्। जनभावनाअनुसार काम गर्नु नै विकास हो भन्नेमा उपमेयर राईको जोड थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जनतालाई चिसोबाट जोगाउन विपत् व्यवस्थापन समितिले पनि सबै स्थानीय तहसँग समन्वय गरिरहेको बताए।  

चिसोको समय सर्वसाधारण घरबाहिर निस्कन नसकेर घुर, आगो तापेर बस्दा कतिपयलाई आगो सल्कने खतरा रहेको भन्दै त्यस्तो हुन नदिन विपत् व्यवस्थापन समितिले पहल गरिरहेको बताए।

प्रकाशित: ४ माघ २०७९ ०१:५१ बुधबार