समाज

फेवातालमा हराएका युवाको शव भेटियो

पोखरा–फेवातालमा डुंगा डुब्दा हराएका दुई युवकको शव बिहीबार बिहान फेला परेको छ। गत सोमबार बेलुकी फेवातालमा डुंगा घोप्टिँदा उनीहरु बेपत्ता भएका थिए।

बैदाम चौकीका प्रहरी निरीक्षक मोहनमणि अधिकारीले तालमा डुबेका काठमाडौं चक्रपथका प्रतीक श्रेष्ठ (१९) र बसुन्धराका एलन केसी (२३) को शव भेटिएको जानकारी दिए। ‘तालमा तैरिरहेको अवस्थामा बिहीबार बिहान शव फेला परेको हो,’ उनले भने, ‘हामीले चारदिनदेखि खोजी गरिरहेका थियौं। तर बिहीबार बिहानै तालमा तैरिरहेका अवस्था भेटायौं।’

युवाहरु तालमा हराएलगत्तैदेखि खोजी भइरहेको थियो। त्यसका लागि प्रहरी, सशस्त्र प्रहरी र डुंगाचालकले खोजी गरिरहेका थिए। मोटरबोट प्रयोग गरेर तालमा हराएका युवाहरुको खोजी गरिरहेको उनले बताए। मृतक युवाद्वयको शव अहिले गण्डकी अञ्चल अस्पतालमा राखिएको छ। पोष्टमार्टम गरेर परिवारले शव बुझ्ने अधिकारीले बताए। युवाहरुका आफन्त अहिले पोखरा आइसकेका छन्।

सोमबार बेलुकी ८ जना सवार डुंगा तालको बीचभागमा घोप्टिएको थियो। तर, प्रहरी, स्थानीय डुंगा चालक र सशस्त्र प्रहरीका सक्रियताले तत्काल ६ जनालाई सकुशल उद्धार गरिएको थियो। हराएका दुईजनाको पनि त्यहीबेलादेखि खोजी भइरहेको थियो। तालपारिको रेस्टुरेन्टबाट खानपिन गरेर वारिपट्टिको पोखरा बजार फर्कँदै गर्दा डुंगा तालमा पल्टेको थियो। लाइफज्याकेट नलगाउँदा डुंगामा सवार युवाहरु तालमा डुबेका थिए।

 

प्रकाशित: २७ श्रावण २०७३ ०५:०६ बिहीबार

फेवातालमा हराएका युवाको शव भेटियो