समाज

बुटवलबाट हतियार सहित दुइजना पक्राउ

प्रहरीले बुटवलबाट हतियारसहित २ जनालाइ पक्राउ गरेको छ। व्यवसायीहरुलाई धम्काएर पैसा असुली गर्ने काममा संलग्न दुइ जनालाइ प्रहरीले हतियार सहित सोमबार साँझ बुटवल उपमहानगरपालिका ११ देवीनगरबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गुल्मीको मालिका गाँउपालिका ४ अर्खावाङका ३५ वर्षे नविन चन्द्र रेग्मी र कञ्चनपुरको भिमदत्त नगरपालिका २ का २७ वर्षीय विश्वराज कार्की छन्। नविनको साथबाट एक थान रिभल्वर फेला पारेको रुपन्देहीका प्रहरी प्रमुख एसपी रबिन्द्र रेग्मीले जानकारी दिए।

छानबिनकै क्रममा प्रहरीले नविनको कोठाबाट ९ एमएमको १४ राउण्ड गोली,७.६२  एमएमको ४ राउण्ड गोली र ०.२  एमएमका १७ राउण्ड गोली समेत बरामद गरेको छ। त्यस्तै तयारी डेटोनेटर ३ थान,डेटोनेटर केस ६० थान र ४ मिटरको डेटकर्ड, ३ थान मोवाइल पनि बरामद गरेको प्रहरी प्रमुख रेग्मीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय बुटवलको टोलीले अनुसन्धानकै क्रममा शंका लागी जाँच गर्दा नविनको साथबाट एक थान रिभल्वर फेला पारेपछि सोमबार साँझ दुवै जनालाइ नियन्त्रणमा लिएर थप अनुसन्धान गरेको थियो। अनुसन्धानकै क्रममा सैनामैना नगरपालिका १ को पर्रोहामा रहेको नविनको कोठाबाट गोली र विफोटाक पदार्थ बरामद भएको उनले बताए।

पक्राउ परेका कार्की र रेग्मीले रोयल गु्रुप को नाममा व्यवसायीहरुलाइ धम्काएर रकम असुल्ने काम गर्दै आएको प्रहरीले बताएको छ। यसअघि नै बुटवल र आसपासका उद्योगी व्यवसायीले आफुहरुलाइ  धम्काएर रकम असुली गर्ने गिरोह सक्रिय रहेको भन्दै  भन्दै प्रहरीमा उजुरी दिएका थिए। व्यवसायीले आफूहरुलाइ ज्यानै मार्ने धम्की आएको भन्दै उजुरी गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

पक्राउ परेका रेग्मी र कार्कीले रुपन्देहीका उद्योगी व्यवसायीको लिष्ट नै बनाएर दश हजार देखि लाखौ रकम असुलीको धम्की दिने गरेको खुलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी दानबहादुर थापाले बताए। पक्राउ परेका नविन यसअघि जनमुक्ति सेनाबाट स्वयच्छिक अवकास लिएर बसेको खुलेको डिएसपी थापाले बताए।  

प्रकाशित: ३ माघ २०७९ १२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App