समाज

नेता जन्माउने विद्यालय उपेक्षित !

बाल कल्याण उच्च माध्यमिक विद्यालयको दुई तले आठ कोठे भवनको शिलान्यास गर्दै व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्तीमगर।

हीराबहादुर घर्तीमगर                                               

रोल्पा- २०२३ सालमा सदरमुकाम लिबाङमा बाल कल्याण प्राथमिक विद्यालय स्थापना भयाे। हाल यो विद्यालयमा दश जोड दुईको पढाई हुन्छ । यहाँ मानविकी, व्यवस्थापन, शिक्षा संकायको पढाई भइरहेको छ। यही विद्यालयमा हालका उपराष्ट्रपति नन्दबहादुर पुनमगर, सभामुख ओनसरी घर्तीमगर, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री बर्षमान पुनमगर, नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द लगायतका नेता तथा कार्यकर्ताले अध्ययन गरेका थिए।

उपप्रधान तथा अर्थमन्त्री महराले त यही विद्यालयमा लामो समय पढाए पनि। रोल्पाका अधिकांश नेताले यही विद्यालयमा पढे । हाल उनीहरु राष्ट्रको उच्च ओहोदामा छन । तर तिनै नेताहरुले पढेको यो विद्यालय व्यवस्थापन समितिले भने आफ्ना उत्पादनले आफैंलाई सोचे अनुसार सहयोग नगरेको गुनासो गरेको छ।

व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्तीमगरले आफैंले अध्ययन गरेको विद्यालय भवनको बुधबार शिलान्यास गरिन्। उनले सदरमुकाम लिबाङस्थित बाल कल्याण उच्च माध्यमिक विद्यालयको दुई तले आठ कोठे भवनको शिलान्यास गरेकी हुन्। जिल्ला शिक्षा कार्यालयको ६० लाख र विद्यालयको २० लाखको लागतमा भवन बन्न लागेको हो ।

 सभामुख घर्तीले २०५० सालमा बाल कल्याण उच्च माध्यमिक विद्यालयबाट एसएलसी परिक्षा उत्तिर्ण गरेकी थिइन्। यो विद्यालय जिल्लाकै जेठो विद्यालयको रुपमा पनि चिनिन्छ । विद्यालय भवनको शिलान्यास गर्दै सभामुख घर्तीले राम्रो शिक्षा हासिल गर्ने अवसरबाट वञ्चित हुँदा युवाहरु विदेश पलायन भई रहेको बताइन्। उनले आफूलाई समय चक्रले सभामुख जस्तो गरिमामय पदको नेतृत्व गर्ने ठाउँमा पुर्याएको उल्लेख गरिन्। उनले भनिन, ‘मैले पाएको मौकालाई ऐतिहासिक क्षणको रुपमा लिएको छु । परिस्थिति र वस्तुस्थिति अनुसार चल्दै गर्दा म अहिलेको अवस्थामा आई पुगेकी हुँ ।’

 प्रविधिको प्रतिस्पर्धामा विद्यालयलाई डिजिटल सिस्तममा लग्नु पर्ने सभामुख घर्तीले बताइन्। उनले शिक्षालाई समय सापेक्ष, वैज्ञानिक र व्यवहारिक बनाउनु पर्नेमा जोड दिइन्। बाल कल्याण उच्च माविले उहिल्यै देखि नेतृत्वदायी भूमीका निर्वाह गर्दै आएकोमा खुशी व्यक्त गरिन्। उनले विद्यालयलाई सक्दो सहयोग गर्ने आश्वासन पनि दिइन । उनले भनिन ‘यो विद्यालयमा बोर्डिङ पढ्ने विद्यालर्थीहरु पनि बोर्डिङ छोडेर यहाँ पढ्न आउँछन भन्ने मैलें सुनेको छु । यसमा मलाई गर्भ र खुशी लाग्छ ।’

 विद्यालयका प्राचार्य मधुसुधन पोख्रेलले विद्यालयमा बढ्दो विद्यार्थी चापसँगै भौतिक पूर्वाधारको अभाव रहेको सभामुख घर्तीलाई जानकारी गराए । उनले सिभिल ओभरसियरको डिप्लोमा तहको पढाई सञ्चालनका लागि तयारी भई रहेको बताए । विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष महेश न्यौपानेले विद्यालयले देशका लागि धेरै नेता जन्माउन सफल भए पनि विद्यालयको अवस्था भने पुरानै रहेको गुनासो गरे । उनले भने ‘यो विद्यालयले राष्ट्रका लागि धेरै नेता जन्मायो । तर विद्यालयको भौतिक संरचना निर्माणमा अपेक्षा गरिए अनुसार सहयोग पाउन सकिएन । यस तर्फ म हाम्रा नेताहरुको ध्यानाकर्षण गराउन चाहान्छु ।’

 

प्रकाशित: २६ श्रावण २०७३ ०८:१७ बुधबार

नेता जन्माउने विद्यालय उपेक्षित