समाज

रुखबाट लडेर सर्लाहीमा एक जनाको मृत्यु

रुखबाट लडेर सर्लाहीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका १४ नारायण खोला मिलन चोकका करिब ५५ वर्षीय राम बहादुर स्याङ्बा रहेका छन्।

सर्लाहीको चुरे पहाडको फेंदीतिर पर्ने नारायण खोलामा सोमवार बिहान करिब ११ बजेतिर स्याङ्बाको रुखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। दुर्गम क्षेत्रमा पर्ने र मोबाइलको नेटवर्कले समेत काम नगर्ने हुनाले स्याङ्बाको मृत्युसम्बन्धी घटनाबारे स्थानीयले पनि निकै ढिलो थाहा पाएका थिए।

घटनाको बारेमा थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलतर्फ प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

घाँस काट्नका लागि रुखमा चढेका स्याङ्बाको लडेर मृत्यु भएको बताइएको र घटनाको बारेमा जानकारी आउन बाँकी रहेको प्रहरीको भनाइ छ। मृतक स्याङ्बा मिर्गी रोगी रहेको पनि बताइएको छ।

प्रकाशित: २ माघ २०७९ १२:५९ सोमबार