समाज

यति एयर दुर्घटना: कतै चराकै कारणले त होइन?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउनु ६ महिना अघि नै नजिकैको ल्याण्डफिलसाइट सार्नुपर्ने भनेर विज्ञले सुझाइरहेका थिए। तर, ल्याण्डफिल साइट सार्ने कामले त्यो दिन पूर्णता पायो, जुन दिन (२०२३ जनवरी १) का दिन विमानस्थल उद्घाटन हुन एकसाता मात्र बाँकी थियो।

ढिलागरि ल्याण्डफिलसाइट सार्दा त्यहाँका चराले आहारा र बासस्थान खोजिरहेका थिए। तर, सरोकारवाराले ती पंक्षीको बासस्थान र आहारालाई वेवास्ता गर्दा चरा रनभुल्लमा परेका थिए। आइतबार भएको जहाज दुर्घटनामा कतै तिनै आहारा र बासको खोजिमा रहेका चरासँग जहाज ठोक्किएर पो भएको हो की भन्ने आशंका पनि उब्जेको छ। 

हवाई क्षेत्रका एक प्राविधिकका अनुसार कुनैपनि प्राविधिक समस्या बिना जहाज अवतरणको अन्तिम कसरतमा हुँदा दुर्घटना भएको छ। ‘जहाजमा कुनै प्राविधिक समस्या आएको हुन्थ्यो भने त्यो पहिल्यै थाहा हुन्थ्यो, किनभने अन्तिम समयसम्म पनि जहाज र विमानस्थल टावरबीच सहज रुपमा संचार सम्पर्क भएको छ,’ ती प्राविधिकले भने, ‘त्यसैले प्राविधिक समस्या आएको भन्न सकिन्न। त्यसबाहेक दुर्घटना हुनुको अर्काे कारण जहाज चरासँग जुधेको हुनसक्छ।’

सामाजिक सञ्जालमा जहाजमा आगोको झिल्का देखिएको र एकाएक सेतीखोचमा खसेको देखिनुमा चरासँग ठोक्किएको हुनसक्ने पनि ती पदाधिकारीले बताए।

चराका जानकारहरुका अनुसार आफ्नो बासस्थान र आहारा खोसिएपछि विमानस्थल आसपासमा उड्ने चरा अलमलमा परेका छन्। ती चरा अहिले बास र गास खोज्न कहिले कता त कहिले कता उड्ने गरेका छन्। पोखरा पंक्षी समाजका सचिव हेमन्त ढकालले पनि चराका कारण दुर्घटना भएको हुनसक्ने सम्भावनालाई नकार्न नसकिने बताए।  

‘दुर्घटना चराका कारणले नै हो भनेर ठोकुवा गर्न सकिन्न, तर, नकार्न पनि सकिन्न,’ उनले भने, ‘चरासँग अचानक स्ट्राइक भएपछि अत्तालिन सक्ने अवस्था आएको हुनसक्छ।’ चरासँग ठोकिएर यस्ता दुर्घटना हुनसक्ने सम्भावना रहेको उनले सुनाए।

‘चरासँगको यो जोखिमतालाई पहिल्यैदेखि बाहिर ल्याएको हो, तर, वेवास्ता भएकै हो,’ उनले भने। उनका अनुसार विमानस्थल क्षेत्रमा १६७ प्रजातिका चरा छन्। ती मध्ये सात प्रजाति संकटान्मुख सुचिमा रहेको उनले बताए। ‘चरा हटाउन गरिएको उपाय काफि होइन, बन्दुक पड्काएको भरमा चरा भगाउन सकिन्न, आजको घटना चराको गतिविधि बढी हुने समय पनि परेको थियो,’ उनले भने।

नेपाल नागरिक उडडयन प्राधिकरणका पदाधिकारी पनि चराको कारण नै दुर्घटना भएको भन्न नसकिएपनि त्यो सम्भावना नकार्न पनि नसकिने बताउँछन। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराको भय अझै हटिसकेको छैन,’ ती अधिकारीले भने, ‘तर, आइतबारको घटना चराकै कारण भनेर भन्न सकिन्न। अध्ययन समितिले कारण पहिल्याउनेछ । तर, जहाजमा अन्तिम समयसम्म कुनै प्राविधिक समस्या भने थिएन।’

प्रकाशित: १ माघ २०७९ १४:२१ आइतबार

यति एयर