समाज

मर्दापर्दा सहयोग गर्ने गुठी संस्कृति भक्तपुरमा अझै जीवन्त

मर्दापर्दाको बेला सहयोग गर्ने गुठी संस्कृति भक्तपुरमा अझै जीवन्त रहेको छ। नेवार समुदायमा गुठी व्यवस्था अन्र्तगत गुठीका सदस्य परिवारलाई जन्मदेखि मृत्युसम्मका अनेक कार्यहरूमा सहयोग सहकार्य गर्ने गरिन्छ।  

गुठी संस्कार भक्तपुर नगरको टोलटोलमा अझै जस्ताको तस्तै जीवित छ। नगरभरि मात्रै दर्जनौं गुठीहरु अहिले पनि बाँंकी छन्। यस अनुसार टोलका मानिसहरु मिलेर गुठी (टोलबासीहरुको संगठन) हुन्छ। यसमा टोलका सबै परिवारका एकएकजना जेष्ठ पुरुष व्यक्ति सदस्य रहेका हुन्छन्। यही टोलीले टोलका गुठीका सदस्य परिवारलाई जुनसुकै काम (मर्दा पर्दा) गर्र्नुपर्दा सहयोग सहकार्य गरिन्छ। यही टोलीले गुठीका सदस्य परिवारको कसैको मृत्यु हुँंदा सबै सहयोग गरिदिएको हुन्छ। मशानघाटमा लानेदेखि लाश पोल्नेलगायतका सबै व्यवस्था गुठीले गरिदिएको हुन्छ। गुठीका कोही परिवारको मृत्यु हँंदा तुरुन्त खवर हुने र खवर भएको केही समयभित्रै गुठीका सदस्यहरु सहयोगको लागि सहभागी हुनुपर्ने नियम छ। विभिन्न कारणले सहभागी नभए उनीमाथि कारबाही हुने गर्दछ जसलाई स्थानीयहरु नेपाल भाषामा बंपुलेगू (जरिवाना तिराउने) भनी बुझ्दछन्।

गुठीको नाइके सदस्यहरुमध्ये सबैभन्दा जेष्ठ पुरुष हुने गर्दछ। गुठीमा टोलका सबै परिवारहरुबाट सबैभन्दा जेष्ठ एकएकजना पुरुष सदस्यका रुपमा सहभागी हुने गर्दछन्। यस हिसाबले टोलका जेष्ठ पुरुष व्यक्ति नै गुठीको नाइके हुने गर्दछन्।

गुठीयारहरु गुठीका सदस्यहरुको दुःखमा मात्रै होइन, खुशीमा पनि सहभागी हुने गर्दछ। बर्षमा एकपटक निश्चित दिनमा गुठीयाहरु मिलेर भोजभतेर पनि गरिन्छ। यसका लागि भोजको आयोजनाको पालो दिइएको हुन्छ। जेष्ठता अनुसार क्रमशः पालैपालो बर्षमा एक पटक भोज खुवाउने बन्दोबस्त गुठीयारका सदस्यहरुले क्रमशः मिलाइएको हुन्छ। भोजको आर्थिक श्रोत गुठीयारहरुले नै दामासाही राखिएको हुन्छ। साथै समय समयमा गुठीयारका सपरिवारको भोज पनि गरिन्छ, जसलाई नेपाल भाषामा लसन्ताङ पूजाको भोज भन्ने गरिन्छ।

भक्तपुरको जगातीस्थित जगाती भीमसेन गुठी (गुठीको नाम) का सदस्य तुल्सीराम लाखेमरुका अनुसार नेवार समुदायमा मर्दापर्दाको मुख्य आधार नै गुठी हो। दुःख सुख दुवैमा गुठीका सदस्यहरुले सम्बन्धित परिवारलाई सहयोग सहकार्य गर्ने काम गर्छ। यसले सम्बन्धित परिवारलाई राहत मिलेको हुन्छ। यही कारण यहाँंका नेवारहरु परिवारमा विवाह, ब्रतबन्ध आदि शुभ कार्य हुँदा पनि गुठीका सदस्यहरुलाई छुटै रुपमा विशेष प्रकारले बोलाई भोज खुवाउने गर्दछन्।  

नेवारका विभिन्न जातजातिहरूमा गुठीहरु विभिन्न प्रायोजनका लागि गठित हुन्छन्। सनागुठी, सिगुठी, द्येगुठीको माध्यमबाट आआफ्नो संस्कार र संस्कृतिलाई सम्पन्न गर्ने चलन छ। त्यसदेखिबाहेक सामाजिक, धार्मिक एवं व्यक्तिगत काम कारबाहीका लागि अरू गुठीहरू पनि हुन सक्छन्।  

संस्कृतिविद् डा गोविन्द टण्डनका अनुसार गुठीको इतिहास केलाउँदा नेपालको प्रामाणिक इतिहासको सुरुवात काल अर्थात् लिच्छवीकालदेखि नै गुठीको माध्यमबाट बाटो बढार्ने, बाजा बजाउने, औषधोपचार गर्ने, मठ–मन्दिरमा पूजा–आजा गर्ने, रथ–खट यात्रामा विभिन्न थरी गुठीहरू संलग्न भई काम गर्ने गरेको पाइन्छ। लिच्छवीकाल, मध्यकाल, मल्लकाल, शाहकाल हुँदै गणतन्त्रकालसम्म पनि गुठी व्यवस्थाअन्तर्गत संस्कृतिसम्बद्ध अनेक काम त्यसैको माध्यमबाट हुने गरेको इतिहास साक्षी छ। नेपालमा समाजसेवाको थालनीमा समेत गुठी व्यवस्थाको ठूलो योगदान रहेको उनी सुनाउँंछन्। नेपालका विभिन्न जातजातिहरूको संस्कृतिको उत्थान र विकासमा गहिरोसँग भिजेको यो व्यवस्था पूर्व मेचीदेखि पश्चिम महाकाली उत्तर हिमालदेखि दक्षिण तराईसम्म आफ्नो प्रसिद्धिलाई कायम राख्न सफल भएको उनको बुझाई छ। गुठीव्यवस्थाको माध्यमबाट हुने कार्यहरूले नेपालको अनेक मूर्त र अमूर्त संस्कृति र सम्पदालाई जीवन्त तुल्याइराख्न भरपर्दो आधार बन्न पुगेको यथार्थ रहेकाउ उनी बताउछन्। यद्यपि कतिपय गुठीहरूमा जग्गाको कारण कैयन् किसिमका समस्या विद्यमान छन्। त्यो ठाउँपिच्छे फरक हुन सक्छ।

‘हामी दिगो विकासका लागि विकसित मुलुकका अनेकन विज्ञलाई ल्याएर ठूलो धनराशी खर्च गरेर कार्यशाला, सेमिनार एवं गोष्ठीहरू गर्छौं। उनीहरूले आफूले जानेका कुरा सिकाएर जान्छन् त्यसको नतिजा फलदायी छ या छैन भन्नेमा बहस र विवाद हुन सक्ला। तर नेपालमा विद्यमान गुठीव्यवस्था विश्वकै लागि एउटा यस्तो दिगो व्यवस्थापनको अनुपम उदाहरण हो। यसअन्तर्गत झन्डै साढे पन्ध्र सय वर्षदेखि नेपालमा त्यही व्यवस्थाको माध्यमबाट मूर्त र अमूर्त सम्पदाको व्यवस्थापन अवछिन्न रूपले सरकारले एक पैसा नबेहोरी सामूहिक हित र साझेदारीको भावनाबाट जिजुबाजे, बडाबाजे, हजुरबुबा हुँदै नाति, पनाति पुस्तामा हस्तान्तरण हुँदै अहिलेसम्म चलिरहेको छ’, डा टण्डन भन्छन्।

इतिहासको अनेक कालखण्डमा कैयन् राजा फेरिए, राजनीतिक व्यवस्था फेरिए, वंश फेरिए, प्रधानमन्त्री, मन्त्री फेरिए तर गुठीव्यवस्था ज्यूँकात्यूँ जीवन्त छ। यो कसरी चलेको छ ? यसका आफ्नै परिपाटी छन्। त्यसको बारेमा विश्वलाई बुझाउन सक्ने हो भने गुठीव्यवस्थालाई ‘विश्वसम्पदा सूची’ मा समेट्न कुनै गाह्रो पर्ने देखिन्न। यसबाट नेपालले अवछिन्न रूपले पाइरहेको फाइदाबाट अरूले पनि संस्कार, संस्कृतिको जोगाड एवं दिगो विकासका लागि उच्चतम अभिप्रेरणा प्राप्त गर्न सक्छन्।

जगाती भीमसेन गुठीद्धारा लसन्ताङ पूजाको आयोजना

भक्तपुरको जगातीस्थित जगाती भीमसेन गुठीको आयोजनामा लसन्ताङ  पूजा (बहृत भोज) को आयोजना भएको छ। भक्तपुर नगरपालिका वडा नं ५ स्थित भेलुखेलमा भोजको आयोजना गरिएको हो। गुठीका सदस्य १५ परिवारका एक सय ६० जना मानिसहरु भोजमा सहभागी थिए। भोजमा अनिवार्य सहभागिता हुनुपर्ने नियमका कारण विदेश गएका वा अन्य विशेष कारणले अनुपस्थित हुन नसकेकाहरुको पनि गणना गरिन्छ त्यही अनुसार भोज तयार गरिन्छ। त्यसका लागि प्रतिव्यक्ति पाँंचपाँंच सय रुपैयाँं दामासाहीले राखिएको थियो। सहभागी नभएकाहरुको हकमा भाग अनुसारको भोज घरका परिवारलाई दिएर पठाइन्छ। प्रतिव्यक्ति पाँंचपाँंच सय रकमको खर्चमा अपुग भए बाँंकी अपुग रकम भने गुठीबाट व्यर्होने जनाइएको छ।

प्रकाशित: १ माघ २०७९ ०५:१९ आइतबार

गुठी