समाज

सेनाका पूर्व सिनियर अधिकृतको जग्गा हड्पेको प्रमाण खुल्दै

 सेनाका पूर्व सिनियर अधिकृत जितेन्द्रजंग कार्की परिवारको इटहरी वडा नं. १९ मा पर्ने  एक विघामध्ये केही जग्गा स्थानीयसँगै संघसंस्थाले हड्पेको खुलेको छ।  

साविक हासपोसा वडा नं. ४  (ग) को कित्ता नं.६९२ र पछि कित्ताफोड हुँदाको कित्ता नं. ४५८२, ४५८३ र ४५८४ गरि एक विगाहा रहेकोमा त्यसमध्ये केही जग्गा मन्दिर, स्कुल, जेजीस संस्थासँगै केही स्थानीयले हड्पेको खुलेको हो। जिल्ला अदालत सुनसरीले जग्गा यकिन गर्नका लागि शनिबार नापी टोलीलाई खटाउने आदेश दिएर नापी हुँदा भूमाफिया मिलेर हड्पेको कार्की परिवारले जनाए। कार्की परिवारले सो जग्गा २०५७ सालमा खरीद गरेका थिए।

अहिले काठमाडौं निवासी जितेन्द्रजंगका अनुसार जग्गा खरीद गरेपछि त्यसको सम्पूर्ण रेखदेख बाबुले गर्दै आएकोमा २०६३ सालमा निधन भएपछि २०७१ सालदेखि जग्गा खोजी गर्न थालिएको हो। ‘सेनामा कार्यरत रहँदा माओवादी द्धन्दकालले गर्दा खासै जग्गा खोजी गर्न ध्यान गएन,’ कार्कीले भने, ‘२०७१ सालदेखि जग्गा खोजी गर्दा शुरुवातमा त स्थानीय र भूमाफियाले गर्दा जग्गा नापजाँच गर्न नै असहज स्थिती सिर्जना गरे। यसपटक तेस्रो प्रयासमा मात्र जग्गा नापी भयो।’

इटहरी वडा नं. १९ र २० को सीमना खार्साला खोला आसपास रहेको जग्गा पछिल्लो समय भने अदालतमा मुद्दा दायर गरेपछि अदालतबाट नापी गर्न आदेश भएकाले गर्दा सम्भव भएको हो। ‘अरुको जग्गा पुगेर हाम्रो नपुग्दा हामीलाई कुनै आपत्ती भएन,’ कार्कीले भने, ‘हामी पूर्जा एक विगाहाको बोकेर बस्नुपर्ने, कर पनि एक विगाहाकै तिर्दा हामीमाथि ठूलो अन्याय भो।’ उनले भूमाफियाले बडो चलाखीपूर्वक जग्गा विक्री गरेको र ती प्रमाण समेत संकलन गरेर अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको जनाए। ‘हाम्रो जग्गा नपुग्नुमा केही प्राविधिक त्रृटी पनि होला तर भूमाफियाले बडो चलाखीपूर्वक जग्गा विक्री गरेर हड्पेको पाइएको छ,’ उनले भने।  

जग्गा नापी हुँदा पुगेका वडा नं. २० का वडाअध्यक्ष मणीराम श्रेष्ठले वडा नं. १९ र २० को सीमाना भएकाले गर्दा सीमाना छुट्याउँदा जग्गा खप्टिएको वा कसैले जग्गा ओगटेको पाइएमा त्यसरी जग्गा ओगट्नेलाई झिकाएर जग्गाधनीसँग सहमति गराउन पहल गरिने बताए। ‘पहिला जग्गा देखिनु प¥यो, त्यसपछि स्थानीय तहले गर्ने समन्वय गराउनेछ,’ उनले भने।  

कार्की परिवारको जग्गा इटहरी वडा नं. १९ सँगै वडा नंं. ५ मा पनि एक कठ्ठाभन्दा बढी जग्गा अरुले हडपेर प्रयोग गरेकोमा अहिले अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ। कार्की परिवारले इटहरी वडा नं. ५ मा सञ्चालित जनता बहुमुखी क्याम्पसलाई समेत जग्गा दान गरेका थिए। तर, क्याम्पसलाई दाताले दिएको जग्गामध्ये कतिपय जग्गा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाको रेकर्डमा नदेखिने र क्याम्पसको स्वामीत्वमा रहेको जग्गामा समेत गढबढ भएको जनाउँदै कार्की परिवारले अख्तियार दुरुपायेग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन्।

क्याम्पसलाई जग्गा प्रदान गर्ने २१ जना दाता रहेको रेकर्डमा उल्लेख छ। तर, ती दाताले उपलब्ध गराएको जग्गामध्ये कतिपयको जग्गा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाको रेकर्डमा भेटिदैन्।  

प्रकाशित: ३० पुस २०७९ ११:४० शनिबार