समाज

चोरी गरेर भाग्दै गरेका दुई पक्राउ

काठमाडौँ- चोरी गरी भाग्दै गरेको दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जोरपाटी बस्ने सिन्धुपाल्चोक टिपेनी–४ घर भएका २१ बर्षीय टेन्सन लामा भन्ने छेसाङ थोकर र सिन्धुपाल्चोक थुङका–४ घर भएका २० बर्षीय सागर भन्ने लामा दोर्जे लामालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले सोमबार दिउँसो गोकर्णेश्वर नगरपालिका–८  माकलबारी बस्ने पुरुषोत्तम ढुङगानाको घरमा कोही नभएको अवस्थामा ढोका फुटाई नगद नेपाली रुपैयाँ २३ हजार, भारतीय रुपैयाँ १२ हजार तथा सुनका गरगहना ७ तोला र चांदीका गरगहना समेत चोरी गरेका थिए।

चोरी गरी भाग्ने क्रममा उनीहरुले घर धनी पुरुषोत्तम ढुङगाना समेतलाई कुटपिट गरी घाइते बनाएर भाग्दै गरेको अवस्थामा प्रहरी टोलीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट नेपाली नगद ११ हजार १ सय २५ रुपैयाँ, भारतीय १० हजार २ सय ९० रुपैयाँ, अंदाजी ६ तोला सुनका विभिन्न गहनाहरु, चाँदीका गहनाहरु, फलामको रड २ थान समेत बरामद गरेको छ।

               

प्रकाशित: १८ श्रावण २०७३ ०८:४२ मंगलबार

चोरी गरेर भाग्दै गरेका दुई पक्राउ