समाज

अखिल क्रान्तिकारीका १६ बुँदे माग

काठमाडौं- शैक्षिक क्षेत्र सुधारका माग राख्दै अनेरास्ववियु (क्रान्तिकारी) ले सोमबार शिक्षा मन्त्रालयमा १७ बुँदे ज्ञापनपत्र बुझाएको छ। नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी अध्यक्ष पूर्णबहादुर सिंहको नेतृत्वमा गएका टोलीले निमित्त शिक्षासचिव डा.लवदेव जोशीलाई मागपत्र बुझाएको हो।

शिक्षामा समान पहँुच, अवसर र गुणस्तर वृद्धि हुनुपर्ने, शैक्षिक संस्थाले बढाएको शुल्क खारेज, शैक्षिक क्यालेन्डर, समान शुल्क तथा छात्रवृत्ति व्यवस्थित गर्न उनीहरूको माग छ।

अखिल क्रान्तिकारी महासचिव दीपेन्द्र चलाउने, उपत्यका संयोजक लोकेश विश्वकर्मा, नारायण नेपाल, गणेश रैकाललगायत विद्यार्थी नेतासहितको टोलीले कन्सल्टेन्सीले पुँजी र प्रतिभा पलायन गराइरहेको भन्दै राज्यले नियमन एवम् नियन्त्रण गर्नुपर्ने माग राखे। कन्सल्टेन्सीलाई नाफामुखीभन्दा पनि उत्तरदायी बनाउनुपर्ने ठहर्‍याएको क्रान्तिकारीले तिनमार्फत सञ्चालन हुने विदेशी 'फेयर' लाई प्रतिबन्ध लगाउनुपर्ने जनाएको छ।

'नेपालको शिक्षा निजीकरण, व्यापारीकरण, दलालीकरण, माफियाकरण, भ्रष्टीकरण र साम्राज्यवादीकरणले आक्रान्त छ,' ज्ञापनपत्रमा उल्लेख छ।

अध्यक्ष सिंहले विश्वविद्यालयका पदाधिकारीमा योग्यभन्दा आफ्नालाई छान्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। उनले भर्तीकेन्द्रका रूपमा रहेको सेवा आयोगलाई पारदर्शी र निष्पक्ष बनाउन पनि माग गरे। मन्त्री, नेता, सांसदलगायत उच्चपदस्थ सरकारी कर्मचारी र विश्वविद्यालय पदाधिकारीले लोगो एवम् शक्ति दुरुपयोग गरी निजी स्कुल– कलेज सञ्चालन गर्न नपाउने व्यवस्थासहित त्यस्ता व्यक्तिमाथि कारबाही बढाउन संगठनको माग छ।

सचिव अवस्थीले संगठनका माग जायज भएको बताउँदै तिनलाई पूरा गर्न वातावरण तयार पार्ने प्रतिबद्धता जनाए। उनले कतिपय माग आफ्नो पहुँचभन्दा बाहिर भएकाले सक्दो पहल गर्ने वचन दिएको क्रान्तिकारी महासचिव चलाउनेले बताए।

प्रकाशित: १८ श्रावण २०७३ ०२:४१ मंगलबार

अखिल क्रान्तिकारीका १६ बुँदे माग