समाज

बजार पसेको चितुवा ३ दिनपछि नियन्त्रणमा

लमजुङ– शनिबार बिहान नै बजारमा पसेर सदरमुकाम बेसीशहरका सर्वसाधारणलाई त्रसित बनाएको चितुवालाई ३ दिनपछि नियन्त्रणमा लिएर जंगलमा लगिएको छ।
    
चितवनबाट आएका राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्रका वरिष्ठ वन्यजन्तु प्राविधिकहरु विष्णु लामा, हर्कमान लामा र चितवन राष्ट्रिय निकुञ्जका भेटेरेनरी प्राविधिक किरणराज रिजालको टोलीले चितुवाको उद्दार गरेको हो। जंगलबाट निस्किएर स्थानीयको गोठ, कुखुराको खोर तथा झाडीमा लुक्दै बजारमा पसेको सो चितुवा त्रिवेणीटोलका स्थानीय राजकृष्ण श्रेष्ठको घरको कोठामा पसेको थियो।

तीन दिनदेखि घरमा थुनिएको चितुवालाई बेहोस् बनाएर शारीरिक विवरण लिई बेसीशहर २ स्थित उदीपुरको जंगलमा छाडिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक समिरचन्द्र खरेलले बताए। १ सय ६९ सेमी लम्बाई, ५९ सेमी उचाई र २५ किलो तौलको रहेको उक्त चितुवाको स्वास्थ्य अवस्था सामान्य रहेको प्राविधिक रिजालले बताए। स्थानीयले पोथी चितुवा भएको र गर्भवती अवस्थामा रहेकाले निकै कमजोर भएका हुनसक्ने अनुमान लगाएकोमा सो चितुवा भाले भएको प्राविधिकले बताए।

शनिबार बेसीशहर नजिकैको पुवाखोलाको जंगल आसपासबाट आएको उक्त चितुवा गैरीधारा, चक्रपथ, त्रिवेणीटोल पछाडिको खेत हुँदै बजारतिर आएपछि बजारबासी त्रसित बनेका थिए। चितुवा देखेपछि स्थानीयले लखेट्न थालेका थिए। अत्तालिँदै त्रिवेणीटोलका स्थानीय राजकृष्ण श्रेष्ठको घरको कोठामा पसेको थियो। स्थानीयको कोठामा चितुवा थुनिएको हल्ला फैलिएपछि शनिबार र आईतबार दिनैभरी चितुवा हेर्नका लागि बजारबासीहरुको भीड लागेको घरधनी गीतादेवी श्रेष्ठले बताईन्। प्राविधिक टोलीले चितुवाको उद्दार गर्ने थाहा पाएपछि मंगलबार बिहान झनै ठूलो भीडलागेको जिल्ला वन कार्यालयका सहायक वनअधिकृत काशीराज पण्डितले बताए।

गतवर्ष वैशाख १२ गते ठूलो भूकम्प आएकै दिनमा पनि बेसीशहरमा दिउँसै चितुवा बजारमा पसेपछि स्थानीयले नियन्त्रणमा लिएर उद्दार गरिएको थियो।

शनिबारदेखि बेसीशहरको एकघरमा थुनिएको चितुवा उद्दार गरिँदै। तस्बिरः किसान संगीत नेपाली

 

प्रकाशित: १७ श्रावण २०७३ १०:३३ सोमबार

बजार पसेको चितुवा दिनपछि नियन्त्रणमा