समाज

महावीरको महादान

पोखरा- राष्ट्रिय आविष्कार केन्› स्थापना गर्न सूचना प्रविधिका अभियन्ता तथा म्यागासेसे पुरस्कार विजेता महावीर पुनले कास्कीमा आफ्नो नाममा रहेको २८ रोपनी जग्गा दिने घोषणा गरेका छन्। केन्द्र खोल्न सरकारले बेवास्ता गरेको भन्दै पुनले आफ्नो जग्गा दिएर काम अघि बढाउने घोषणा गरेका हुन्।

 केन्द्र स्थापनाका लागि आफूले चार वर्षसम्म अनुरोध गर्दा पनि सरकारले बेवास्ता गरेपछि आफ्नो नामको जग्गा दिने निर्णय गरेको उनले बताए। 'चार वर्षसम्म मैले सरकारसँग अनुरोध गरेरै बिताए। तर, मेरो मागबारे  सुनुवाइ भएन। त्यही भएर अरुसँग अन्य सहयोग माग्दै केन्द्र खौल्न आफैंले जग्गा दिने घोषणा गरेको छु,' पुनले नागरिकसँग भने, 'अब राष्ट्रिय आविष्कार केन्द्रका लागि काम अघि बढ्छ। त्यसका लागि करिब ३ करोड रुपैयाँ मूल्यको जग्गा मैले दिनेछु।'

पुनले केन्द्र खोल्न एक वर्षभित्र ५० करोड रुपैयाँ उठाउने योजना बनाएका छन्। त्यो रकमले कम्तीमा १० मेगावाट क्षमताको विद्युत् आयोजना बनाउने पनि उनको योजना छ। 'विद्युत आयोजनाबाट वर्षमा करिब ४० करोड रुपैयाँ आउँछ। त्यो रकमले नेपालका प्रतिभाशाली व्यक्ति, विज्ञान, प्रविधि क्षेत्रमा काम गर्न चाहने तर अवसर नपाएका व्यक्तिका लागि आविक्ष्कार केन्द्र स्थापना गर्न सकिन्छ,' उनले भने, 'त्यसको सुरुवात म आफैंले जग्गा दिएर गरेको छु।'

सर्वसाधारणको सहयोगमा ५० करोड रुपैयाँ उठाउने उनको अठोट छ। 'सय–दुई सय रुपैयाँदेखि हजार, लाख रुपैयाँसम्म चन्दा मागेर रकम जुटाउने हो। कसैले जग्गा दिन चाहन्छ भने पनि लिने, त्यो बेचेर पैसा जुटाउने हो,' पुनले भने, 'कसैले पाखो जग्गा दियो भने पनि त्यहाँ रुखबिरुवा रोपेर आयस्रोत जुटाउन सकिन्छ।'

पुनले केन्द्रलाई आफूले जग्गा दिनेबारेमा वर्तमान र पूर्वप्रधानमन्त्री र मन्त्रीहरूलाई पनि जानकारी गराएको बताए। पूर्वअर्थमन्त्री रामशरण महत, वर्तमान अर्थमन्त्री विष्णु पौडेल, अर्थ मन्त्रालयका सचिव, सहसचिवसहित पछिल्ला दुई प्रधानमन्त्रीसँग पनि यसबारे आफूले कुरा गरेको उनले बताए। 'सरकार हाक्नेलाई मैले बारम्बार यसबारेमा भनिसकेको छु। सरकारले राष्ट्रिय अविष्कार केन्›लाई सहयोग गर्न मिल्दैन अथवा सहयोग गर्न सक्दैन भने मेरो नाममा भएको जग्गा दिन्छु समेत भनेको थिएँ,' उनले भने, 'तर, उहाँहरूको आश्वासन जग्गा बेच्नु पर्दैन भन्ने थियो। तर, त्यसमा प्रगति भएन।'

पुनले केन्द्र स्थापनका लागि दिने भनेको जग्गा लेखनाथ बेगनासतालको उत्तर ठूलाकोटमा छ।  त्यो जग्गा केही साथीसँग मिलेर पुनले २० वर्षअघि किनेका थिए। 'त्यो जग्गा किन्दा हामीले त्यसलाई भविष्यमा समुदायलाई फाइदा हुने कुनै राम्रो कामका लागि प्रयोग गर्ने भनेर सल्लाह गरेका थियौं। त्यति बेला त्यो जग्गा पदम पुनका नाममा किनेका थियौं। तर पदम अमेरिकामा बसोबास गरेकाले केही महिनाअघि सो जग्गा मेरो नाममा नामसारी गरिएको छ,' उनले भने। उनले आफ्नो नाममा योभन्दा अरु कुनै भौतिक सम्पत्ति नरहेको बताए।

उनले केन्› स्थापना गर्न सरकारको ढोका छोडेर अब जनताको ढोकामा जाने बताए। 'नेपालको विकासमा अब मेरो सबै समय दिनेछु। मेरो नामको २८ रोपनी जग्गा पनि केन्›लाई दान गर्ने घोषणा गर्छु,' उनले भने, 'सबैतिरबाट सहयोग जुटाउँदा पनि केन्द्र स्थापनका लागि अपुग भए यो जग्गा बेच्न सकिनेछ। अन्यत्रबाट उठेको पैसाले  पुगे त्यो जग्गामा अनुसन्धानका लागि चाहिने केही भौतिक संरचना बनाइनेछ।'

आविष्कार केन्द्रको जग बसाल्ने र त्यसमा भविष्यका कर्णधारले अनुसन्धान गर्न सकून भन्ने चाहना रहेको उनले बताए। 'अनुसन्धान कुनै पनि क्षेत्रमा हुन सक्नेछ। अनुसन्धानलाई चाहिने आर्थिक र प्राविधिक सहयोग केन्द्रले गर्न सक्नेछ,' पुनले भने। सरकारसँग सहयोगको अपेक्षा राखेर अमूल्य चारवर्ष बिताउँदा ठूलो नोक्सान भोगेको पनि उनले बताए। 'चार वर्षसम्म धाएँ, तर सरकारले सहयोग गरेन। चार वर्ष त्यसै खेर गयो,' उनले भने, 'त्यसैले आफैं अघि सरेको हुँ।'

भविष्यमा कुनै न कुनै सरकारले केन्द्रको महसुस गरेर सघाउन वा यसलाई चलाउन चाहे दिन सकिने उनले बताए। 'सरकारले चाहे हामी सहकार्य गर्न सक्छौं,' उनले भने। उनका अनुसार केन्द्र कहाँ बनाउने भन्ने अझै टुंगो लागिसकेको छैन। 'केन्द्र पूर्व, पश्चिम जहाँ पनि बन्न सक्छ। अनुसन्धानका लागि ठाउँठाउँमा ल्याब बन्न सक्छन्। कास्कीको यो जग्गामा एउटा ल्याब बन्न पनि सक्छ,' उनले भने, 'केहीगरी केन्द्र बनाउन पैसा पुगेन भने त्यो जग्गा बेचेर काम चलाउन पनि सकिन्छ। पैसा पुग्यो भने त्यसमा एउटा ल्याब बनाउन सकिन्छ।'

प्रकाशित: १७ श्रावण २०७३ ०३:०५ सोमबार

महावीरको महादान