समाज

सर्वोच्चले पायो ११ न्यायाधीश

काठमाडौं- संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिस भएका ११ जनाको नाम सर्वसम्मत अनुमोन गरेको छ। सिंहदरबारमा आइतबार बसेको समिति बैठकले मर्यादाक्रम र समावेशी समानुपातिक प्रतिनिधित्वलाई ध्यान दिई सिफारिस गर्न न्यायपरिषद्लाई ध्यानाकर्षण गराउँदै सुनुवाइ सकिएका ११ जनाको नाम पारित गरेको हो। समितिले गत बुधबार ६ जनाको र बिहीबार ५ जनाको नाममा सुनुवाइ गरेको थियो।

समिति सदस्यबीच छलफलका लागि समय पर्याप्त नभएको भन्दै अनुमोदन निर्णय भने आइतबारका लागि सारिएको थियो। समितिले दिपकुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, इश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, अनिल सिन्हा र सपना प्रधान मल्लको नाम पारित गरेको हो।

समितिले सबैको नाम अनुमोदन गरे पनि सिफारिस गर्दा परिषद्ले कार्कीको नाम पुनरावेदन अदालतका मुख्य न्यायाधीश खतिवडा र भट्टराईभन्दा अघिल्लो मर्यादाक्रममा सिफारिस गरेको प्रति असन्तुष्टि जनाएको छ। अनुमोदनका लागि पठाइएको प्रस्तावमा न्यायाधीशको सूची मर्यादाक्रमअनुसार नभएको प्रति समितिमा एकमत रहेको जानकारी न्यायपरिषद्लाई गराउने निर्णयसमेत समितिले गरेको छ।

उनीहरूको सपथ सोमबार राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीश सुशीला कार्कीले गराउने छिन्। सपथलगत्तै नयाँ न्यायाधीशलाई पद तथा जिम्मेवारी दिने तयारी सर्वोच्चले गरेको  छ। नेपालको संविधानको धारा १ सय २९ मा सर्वोच्च अदालतमा प्रधान न्यायाधीशको अतिरिक्त २० जना न्यायाधीश रहने व्यवस्था छ। संविधानअनुसार सर्वोच्चमा अब थप एक जना न्यायाधीशको पद रिक्त रहनेछ।

इजलास तयार हुँदै

संसदीय समितिले ११ न्यायाधीश अनुमोदन गरेपछि सर्वोच्च अदालत प्रशासन आवश्यक स्थानको व्यवस्थापनमा जुटेको छ। नयाँ संविधानको व्यवस्थाअनुसार थप ११ जना न्यायाधीश एकसाथ सर्वोच्च भित्रिने भएपछि भूकम्पका कारण क्षत–विक्षत बनेको सर्वोच्च अदालतको मूल भवनको निर्माण कार्य जारी छ। सर्वोच्च अदालतका सहायक प्रवक्ता विश्व पौडलले पुरानो भवनमा ६ वटा  इजलास र कार्यकक्ष प्रशासनले व्यवस्थापन गरिरहेको बताए। उनले मूल भवनमा पहिला १० वटा व्यवस्थित र थप एक इजलास रहेको र अहिले रेट्रो फिटिङ सकिएलगत्तै थप तीनवटा इजलास व्यवस्था गर्न लागिएको उनले बताए।

उनले भूकम्पपछि इजलास सञ्चालन भइरहेको एनेक्स बिल्डिङमा पनि पाँच इजलास रहेको र बाँकी पाँच इजालास चलाउने तयारी भइरहेको बताए। संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ११ जना न्यायाधीशको नाम सर्वसम्मतले अनुमोदन गरेपछि अब सर्वोच्चमा न्यायाधीश संख्या २० पुगेको छ।

उनीहरुको पदभार ग्रहणपछि इतिहासमै धेरै करिब २५ हजार मुद्दा रहेको सर्वोच्च अदालतमा १० इजलाससम्म सञ्चालन हुन सक्नेछ। पछिल्ला पाँच वर्षकै इतिहासमा धेरै इजलास सञ्चालन हुनसक्ने अवस्था सर्वोच्चमा सिर्जना भएको छ। सर्वोच्च अदालतमा तीन महिला न्यायाधीशको नयाँ इतिहास पनि कोरिएको छ। कार्की, खड्का र मल्लले इतिहासमै पहिलोपटक एकैचोटि सर्वोच्चको महिला न्यायाधीशको रूपमा जिम्मेवारी सम्हाल्ने छन्। यसअघि शीलु सिंह, शारदा श्रेष्ठ र गौरी ढकालले महिला न्यायाधीशको रूपमा जिम्मेवारी सम्हालेका भए पनि उनीहरु फरक–फरक समयमा नियुक्त भएका थिए।

प्रकाशित: १७ श्रावण २०७३ ०२:१० सोमबार

सर्वोच्चले पायो ११ न्यायाधीश