समाज

सीमावर्ती सहरमा मदिराप्रेमी पाहुना

बिराटनगर- कोसी ब्यारेजको पूर्व–दक्षिण नहर डिलछेउका लहरै होटल। साहुजीहरू कोसीका ताजा माछालाई आकर्षक परिकारमा ढालेर ग्राहक डाकिरहेका हुन्थे। जति कोसिस गरे पनि उनीहरूले कुनै दिन थाकुन्जेल व्यापार गर्न पाएनन्। कामदार अधिकांश समय फुर्सदिला रहन्थे। दैनिक मुस्किलले आठ–दस ग्राहक पस्थे। आम्दानीको दायरा साँघुरो थियो।

तर, अहिले तिनै साहुजीलाई उराठलाग्दो विगत सम्झने फुर्सदसम्म छैन। सबैका मुहार उज्यालिएका छन्। कुनै समय माछाका परिकार 'फ्रेस' राख्न पंखा हम्किएर बस्ने उनीहरूलाई अहिले माग थेग्नै हम्मे छ। माछाले नपुगेर कुखुरा र खसीको खपत ह्वात्तै बढेको छ। हरेक होटल उत्तिकै खचाखच छन्। अनि यो चटारो सीमित घन्टा होइन, बिहानदेखि साँझसम्मै उत्तिकै रहन्छ।  

होटलैपिहोटल पस्ने अधिकांश ग्राहकको 'अर्डर' मदिरा हुन्छ। ती पनि नेपाली कम, भारत बिहारका रैथाने धेरै हुन्छन्। बिहार राज्य सरकारले मदिरा प्रतिबन्ध लगाएपछि उनीहरू 'तिर्खा' मेट्न नेपाली बजार धाउन थालेका हुन्।

‘पहिले दिनभरमा माछा खान १० जना ग्राहक आउँथे,’ होटल व्यवसायी सर्जुग मण्डलले भने, ‘अहिले ग्राहकको भिड बढेको छ, सबैलाई माछा पुर्‍याउन सकिँदैन, कुुखुरा र खसीको मासु पनि पकाउन थालेको छु।’ पछिल्ला दिन सीमापारिका गाउँबाट रक्सी र मासुको स्वाद लिन आउनेहरू ह्वात्तै बढेको उनले जानकारी दिए।

त्यहाँ मात्र होइन, बिहारसँग सिमाना जोडिएका विराटनगर, राजविराज, जनकपुर, जलेश्वर, गौरलगायत सहरका रेस्टुराँ र होटल पनि उत्तिकै भरिभराउ छन्। सीमापारिबाट हरेक दिन मदिरा पारखीका मोटरसाइकल तथा गाडीको ताँती नै लाग्ने गरेको धनुषा, जटहीका नवीन साहले बताए। 'मदिरा पिउनेसँगै माछा, मासु, चुरोट र गुट्खाको बजारसमेत बढेको छ,' उनले भने। 

यसरी आउनेमा युवासमूह मात्र होइन, परिवारसमेत हुन्छन्। आफ्नो गच्छेअनुसार रेस्टुराँदेखि सामान्य भट्टी पसलसम्म छिर्छन्। भारतीयको थेगिनसक्नु भिडसँगै सीमावर्ती नेपाली बजारको व्यापार चम्किएको छ। यो देखेर वैदेशिक रोजगारीबाट फर्केका तथा खेतीपातीमा अल्भि्कएका धनुषाका युवा मदिरा व्यापारतर्फ आकर्षित भएको साहको भनाइ छ।

बिहार सरकारले करिब आठ महिनाअघि त्यहाँ मदिरा बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ।

ग्राहकको चाप बढेपछि विराटनगर, रानीस्थित देउराली होटलले तेस्रो तलामा रेस्टुरेन्ट थपेको छ। सीमानाका जोगबनीसँग जोडिएको रानीमा दर्जनभन्दा बढी मदिरा पसल थपिएका छन्। ती सबै बिहारका ग्राहकलाई लक्षित गरी खोलिएका हुन्।  सीमावर्ती गाउँसँगै जयनगर, मधुवनी, दरभंगा र सीतामढीसम्मका ग्राहक मदिरा पिउनै धनुषा धाइरहेका छन्। पहिले सुनसान रहने यहाँका जटही, खजुरी, दुहबी, इनरुवाजस्ता गाउँमा चहलपहल बढेको छ।

सडक र ढुवानीको भरपर्दो माध्यम नभएकाले तराईका सीमावर्ती गाउँमा  उपभोग्य वस्तुको अभाव हुन्छ। यति बेला भने भान्छामा प्रयोग हुने आलुदेखि नुनसम्म पारिबाटै आइरहेछ। यताबाट अवैध रूपमा मदिरा ओसार्ने क्रम बढेको छ। नेपालतर्फ फुटपाथमा माछा तारेर रक्सी बेच्नेहरूसमेत मालामाल छन्।

मदिराले आम्दानी बढाए पनि युवा पुस्तामा विकृति देखिन थालेकोमा स्थानीय चिन्तित भने छन्। ‘परिवार र समाजविकासका लागि व्यापार गरिनुपर्नेमा त्यसो हुन छाडेको छ,' स्थानीय वृद्ध महेन्द्र महतोले दुखेसो पोखे, 'यसले कालान्तरमा समाजमा विकृति जन्माउँछ।'

जनकपुरका समाजिक कार्यकर्ता महादेव राउत मदिराको बढ्दो व्यापार नेपाली समाजका लागि घाटा साबित हुने बताउँछन्। ‘बिहारको मुख्यमन्त्री भएपछि नीतीशकुमारले अपराधीलाई जेल हाले,’ उनले भने, ‘तिनै नीतीशले मुख्यमन्त्रीको अर्को कार्यकालको शपथ खाएलगत्तै मदिरा सेवनमा प्रतिबन्ध लगाए। यसले बिहारलाई राम्रो बनाए पनि सीमावर्ती नेपाली क्षेत्रमा विकृति फैलाएको छ।' उनका अनुसार मदिराको अधिक कारोबार भएका गाउँमा झडप तथा झैझगडाका घटना बढ्न थालेका छन्।  

सप्तरी, तिलाठी–८ स्थित बेल्ही भन्सार चोकमा दुई महिनायता रक्सी बेच्ने आधा दर्जनभन्दा बढी नयाँ पसल खुलेका छन्। सप्तरीको मुख्य भन्सार नाका भए पनि अत्यन्तै सानो कृषि बजारका रूपमा चिनिने तिलाठीस्थित यस चोकमा हाल झन्डै डेढ दर्जनजति रक्सीभट्टी रहेको स्थानीय बजार समिति सदस्य अमर राय बताउँछन्। 'पहिले पनि जाँड–रक्सीको कारोबार हाम्रो चोकमा राम्रै थियो,' उनले भने, 'पारिबाटै बढी ग्राहक आउँथे, अहिले यो संख्या तेब्बर भएको छ।' राजविराजलगायत सप्तरीका अन्य बजारमा पनि पछिल्लो समय भारतीय ग्राहकको संख्या बढेको छ। कतिपय त मदिरा पिउनकै लागि नेपाल आएर आफन्तकहाँ एक–दुई बस्छन्।

 नेपाल–भारत सीमामा रहेको कोसी ब्यारेज, कुनौली भन्सार, सखडा, बेदेबर्साइन, पातो, रामनगर, हनुमाननगरलगायत बजारमा दिउँसैदेखि रक्सी पिउनेको भिड लाग्छ। मदिरा सेवन गरेर बिहारमा छिर्न नपाउने प्रावधानले गर्दा उताबाट आएका ग्राहक आफन्तकहाँ वा होटेलमा बस्ने गरेको बेल्ही भन्सारका सुशील यादवले बताए।

 बिहारका पटना, दरभंगा, समस्तीपुरलगायत ठूला सहरबाट पनि मदिरा सेवन गर्न राजविराजलगायत सीमावर्ती बजारसम्म आउँछन्। बिहार सरकारले रक्सी बनाउने तथा बेच्नेलाई १० वर्ष कैद र १० लाख रुपैयाँसम्म जरिवाना तोकेको छ।  सार्वजनिक ठाउँमा रक्सी खाए वा कुनै जमघटमा खुवाए १० वर्षसम्म कैद, नाबालिगलाई खुवाएमा ७ वर्षदेखि १० वर्षसम्म कैद तथा १० लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ।

  बिहारमा प्रतिबन्धपछि मदिरा सेवन गर्ने बहानामा नेपाली सीमा क्षेत्रमा आपराधिक चरित्र भएका भारतीयको गतिविधि बढ्न सक्ने भन्दै सुरक्षा अधिकारीले चिन्ता व्यक्त गरेका छन्। 'आपराधिक चरित्र भएका व्यक्ति बढी रक्सी खान पल्किएका हुन्छन्,' जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले भने, 'त्यस्ता व्यक्ति यता आए आपराधिक घटना बढ्ने भएकाले सुरक्षा चुनौती थपिन सक्छ।'

महोत्तरीको सीमावर्ती बजार पनि मदिरा पारखीको थलो बन्दै गएको छ। सीमावर्ती क्षेत्रका ग्रामीण साना तथा ठूला मदिराजन्य वस्तु बेच्ने पसलसाथै होटलमा भारतीयको बढी चहलपहल देखिने जलेश्वर–५ का होटल व्यवसायी पृथ्वी साहले बताए। पहिले सुनसानजस्तै देखिने सीमावर्ती क्षेत्रका मदिरा पसल तथा भट्टीहरू पछिल्लो समय 'गुलजार' हुँदै गएको उनको भनाइ छ।

 निम्न तथा मध्यमवर्गीय भारतीय नागरिक उतैबाट मोटरसाइकल तथा जिप लिएर आउने गरेको होटल व्यवसायी बताउँछन्। राम्रो आर्थिक हैसियत भएका कतिपय भारतीय मदिरा पिउनकै लागि सदरमुकामका ठूला होटलमा बास बस्छन्।

सीमावर्ती बजार भिट्ठामोड, मटिहानी, सिस्वाकटैया, सम्सी, खैरबन्नी, रघुनाथपुर, मनरा, कटैया, बथनाहा, एकडारा, मनरा, नैन्ही, सुगाभवानीपट्टीलगायत ग्रामीण तथा बजार क्षेत्रमा मदिरा पिउन आउनेको लर्को देखिन्छ। जलेश्वर छिर्न पुर्जी लिने भारतीय सवारीसाधनको बढ्दो संख्याले पनि यही पुष्टि गर्छ।

सुरु–सुरुमा भारतीय एसएसबीले मदिरा सेवन गरेर जानेलाई कडाइ गरे पनि चेकजाँच हुन छाडेसँगै फेरि संख्या संख्या ह्वात्तै बढेको सीमाक्षेत्रका बासिन्दा बताउँछन्। 'भारतीय नागरिकको ओहोरदोहोरसँगै व्यापार निकै बढेको छ,' जलेश्वरका होटल व्यवसायी अनिल साहले भने।

अजित तिवारी/विराटनगर, सुरेश यादव/जनकपुर, जितेन्द्रकुमार झा/सप्तरी, महेशकुमार दास/महोत्तरी

प्रकाशित: १७ श्रावण २०७३ ०१:५३ सोमबार

सीमावर्ती सहरमा मदिराप्रेमी पाहुना