समाज

बेसीशहर बजारमा चितुवा पसेपछि...

चितुवा हेर्न भेला भएका सर्वसाधारण। तस्बिर: किसान

लमजुङ-सदरमुकाम बेसीशहर नजिकैको जंगलबाट निस्किएको चितुवा बजारमा पसेर कुद्न थालेपछि बेसीशहरका सर्वसाधारण त्रसित बनेका छन्।

 नजिकैको पुवाखोला जंगल आसपासबाट आएको सो चितुवा चक्रपथ पार गरी त्रिवेणीटोल पछाडीको धानबारी हुँदै बजार तिर आएपछि बजारबासी त्रसित बनेका हुन्। चितुवा देखेपछि स्थानीयले लखेट्न थालेपछि अत्तालिँदै त्रिवेणीटोलका स्थानीय राजकृष्ण श्रेष्ठको घरको कोठामा पसेको छ। घरको पछिल्लो तर्फको कम प्रयोग हुने कोठामा सो चितुवा लुकेर बसेको श्रेष्ठले बताए।

कोठा अध्याँरो भएकाले कस्तो अवस्थामा छ भन्ने अवस्था थाहा पाउन नसकिएको बेसीशहर ईलाका बन कार्यालयका सहायक वन अधिकृत ईश्वरीप्रसाद दाहालले बताए । दिनभरी कुर्ने र रातीको समयमा ढोका खोलेर प्रहरीको सहयोगमा सुरक्षित रुपले बाहिर निकाल्ने तयारीमा आफुहरु रहेको पनि उनले बताए। सो प्रयास सफल नभएमा चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिक सुरक्षा टोली बोलाएर उद्धार गर्न सकिने उनको भनाई छ। सर्वसाधारणलाई चितुवाबाट सुरक्षा प्रदान गर्दै सुरक्षित उद्धारको तयारीमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बजारमा चितुवा पसेर जथाभावी भाग्दै गरेको हल्ला चलेपछि बजारबासीमा त्रास छाएको थियो । अहिले चितुवा कोठामा लुकेर बसेको हल्लाले शेरा, त्रिवेणीटोल, मनाङेचौतारा, ठाडोलाईन लगायतबाट सो चितुवा हेर्न आउने सर्वसाधारणको भिड बढ्दै गएको छ । चितुवा लुकेर बसेकै कोठा सँगै वाथरुम र शौचालय रहेको र व्यवसायी राजकृष्ण श्रेष्ठ वाथरुममा नुहाएर निस्किदै गर्दा केही मिनेटको अन्तरालले उनी चितुवाको आक्रमणबाट बचेको उनकी श्रीमति गीतादेवीले बताईन् । शनिबार, पसल डेकोरेसन गर्ने तयारी गरेको तर आवश्यक सामाग्री सोही कोठामा राखेको हुँदा सबैकाम ठप्पै भएको पनि उनले बताईन् । गतवर्ष बैशाख १२ गते ठूलो भूकम्प आएकै दिनमा पनि बेसीशहरमा दिउँसै चितुवा बजारमा पसेपछि स्थानीयले नियन्त्रणमा लिएर उद्धार गरिएको थियो।

 

प्रकाशित: १५ श्रावण २०७३ १०:१५ शनिबार

बेसीशहर बजारमा चितुवा पसेपछि...