समाज

खोटाङमा 'लिफ्टिङ खानेपानी योजना' निर्माण सुरु

लिफ्टिङ खानेपानीको शिलान्यास गर्दै संविधानसभा सदस्य अर्जुन राई। तस्विरः महेश्वर

खोटाङमा लिफ्टिङ खानेपानी योजना निर्माण प्रारम्भ भएको छ। सदरमुकाम दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाका ३ वटा वडावासीलाई सुद्ध खानेपानी उपभोग गराउने उद्देश्यले लिफ्टिङ खानेपानी योजना निर्माण सुरु भएको हो।

मझुवा गढीका ३, ४ र ५ नं. वडा बासी उपभोक्ताका लागि स्थानीय साप्सु खोलाको पानी लिफ्टिङ प्रविधिमार्फत तानेर गाउँमा वितरण गर्न लागिएको हो। ३ नं. वडा बाम्राङ, ४ नं. खाल्ले र ५ को लफ्याङ बस्तीवासीलाई सुद्ध पिउने पानी उपभोग गराउन ‘मेवा दोभान–साप्सु कालिका देवीस्थान लिफ्टिङ खानेपानी योजना’ निर्माण सुरु भएको उपभोक्ता समितिका अध्यक्ष ललित राईले बताए। 

उनका अनुसार योजनाको मुहान लफ्याङस्थित साप्सु खोला किनारमा छ। सो ठाउँमा मुहान थापेर खोलाको पानी लिफ्टिङ मार्फत ५ हजार १ सय मिटर माथि देवीस्थान पुर्‍याएर ट्याङ्की निर्माण गरी गाउँमा वितरण गर्ने प्राविधिक इस्टीमेट छ। योजना सम्पन्न भएपछि मझुवा गढीका २ हजार ३ सय ८२ घरधुरी उपभोक्ता लाभान्वित हुने अध्यक्ष राईले बताए।

लिफ्टिङ योजना संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खोटाङमार्फत निर्माण सुरु भएको हो। कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) सहित ५४ करोड ६७ लाख ९० हजार ७ सय १६ रुपैँया लागतमा ठेक्का लगाएको जनाएको छ। ०७९ साउन २२ गते सम्झौता गरेर आउँदो २०८२ भदौ ४ गतेभित्रमा योजना सम्पन्न गर्ने योजनाको निर्माण गर्ने जिम्मा मृत सञ्जीवनी–सगरमाथा जेवी, काठमाडौँले लिएको छ।

गाउँलेले वर्षौँदेखि भोग्दै आएको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यले खोलाको पानी लिफ्टिङ प्रविधिमार्फत गाउँ निकालेर वितरण गर्ने योजना अघि सारिएको हो। योजना निर्माणको जिम्मा ठेकेदारलाई दिइए पनि नियमित अनुगमन, आवश्यक रेखदेख र समन्वयका लागि स्थानीयको सहभागितामा उपभोक्ता समिति गठन गरिएको कार्यालयले जनाएको छ।

सो योजना अन्तर्गत देवी स्थानमा रिजर्भेसन ट्याङ्की निर्माण गरिनेछ भने आरसिसी ट्याङ्की ६१ वटा बनाइनेछ। त्यस्तै ट्रिटमेन्ट प्लान्ट, कार्यालय भवन, ७ वटा सम्पवेल (इनार) र चौकीदार भवन (गार्ड हाउस) लगायत संरचना बनाउने प्राविधिक इस्टीमेट रहेको कार्यालयले जनाएको छ। सम्झौता अनुसार ठेकेदारले १ सय ३ किलोमिटर पाईपलाईनको काम गर्नुपर्नेछ भने खोलादेखि मूल ट्यांकीसम्म ५ हजार १ सय मिटर ट्रान्समिसन लाइन वितरण निर्माण गर्ने निर्माण कम्पनीका इन्जिनियर हरिदेव किशोर रजकले बताए।

इन्जिनियर रजकका अनुसार खोलाको पानी लिफ्टिङ गरेर प्रतिसेकेन्ड २५ लिटरका दरले देवीस्थानस्थित मूल ट्यांकीमा पुर्‍याइने छ। त्यसका लागि आवश्यक विद्युत् व्यवस्था गर्न १ मेगावाट क्षमताको मेवा खोला हाइड्रोपावर यसअघि नै निर्माण भई सञ्चालनमा आइसकेको छ। हाल सो विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समावेश भईसकेको छ।

०६४ मा निर्वाचित समानुपातिकतर्फका संविधानसभा सदस्य अर्जुन राईको पहलमा लिफ्टिङ खानेपानी योजना निर्माण सुरु भएको हो। लिफ्टिङ खानेपानी बनाउने उद्देश्यले नै त्यस बेला संविधानसभा सदस्य राईले साप्सु हाइड्रोपावर निर्माण गरेको स्थानीयले बताएका छन्। खानेपानी योजनाको शिलान्यास पनि राईबाटै गत शनिबार गराइएको अध्यक्ष राईले बताए।

प्रकाशित: २५ पुस २०७९ १३:३० सोमबार