समाज

अव्यवस्थित तार व्यवस्थापन नगरे महानगरले तार काट्ने

फाइल तस्बिर।

विराटनगर महानगरपालिकाभित्र रहेको विद्युत्का पोल तथा टेलिफोनको पोलमा अव्यवस्थित रुपमा टाँगिएका तार व्यवस्थापन गर्ने भएको छ।

पुस २८ गते बिहीबारदेखि महानगरले केवल तथा नेटको तार व्यवस्थापन गर्ने भएको हो।

विराटनगरस्थित केवल तथा नेट व्यवसायीलाई बोलाएर महानगरले तारको व्यवस्थापन गर्ने निर्णय गरेको हो। पहिलो चरणमा हिमालय रोडबाट तारको व्यवस्थापन गरिने छ। अटेर गर्ने कम्पनीको तार काट्न प्रमुख नागेश कोइरालाले निर्देशन सम्बन्धित शाखालाई दिएका छन्।

उनले विराटनगरलाई अब यथास्थितिमा राख्न नसकिने बताउँदै केवल र नेटको तारका कारण महानगरको सौन्दर्यतामा ह्रास आउनुका साथै जथाभाबी तार झुण्डिएका कारण दुर्घटना हुने गरेको बताए।

प्रमुख कोइरालाले यसअघिको बैठकले गरेको निर्णय कार्यान्वयनमा बेवास्ता भएपछि पुनः बैठक राखेर समय सीमा नै तोकिएको उल्लेख गरे।

गत असोज १३ गते पनि बैठक राखेर केवल तथा नेट व्यवसायीलाई तार व्यवस्थापन गर्न भनेका थिए। अव्यवस्थित तारका कारण विराटनगरको सुन्दरतामा कमी आएको बताउँदै प्रमुख कोइरालाले  भने, ‘तपाईँहरू आफैंले व्यवस्थित गर्नु भएन भने हामी आफैँ काटेर हटाउँछौँ। चैत मसान्तभित्र विराटनगरका सबै तार व्यवस्थापन गरिसक्ने निर्णयसमेत गरेका छौं।’

केवल तथा नेट व्यवसायीहरू आफैंले तारको व्यवस्थापन गर्नुपर्ने छ। व्यवस्थापन नगर्ने कम्पनीका तार महानगरले काटेर हटाउने छ।

प्रकाशित: २५ पुस २०७९ १३:०० सोमबार