समाज

प्रशासनद्धारा गोरखाका क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रमा तालाबन्दी

जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला भित्र बिना दर्ता संचालनमा रहेका, नबिकरण नगरी संचालन भएका क्रसर उद्योग बन्द गराएको छ। सोमबार जिल्ला अनुगमन समितिको बैठकले त्यस्ता उद्योग बन्द गर्ने निर्णय गरेपछि मंगलवार गोरखाका सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गराइएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।  

पालुङटार १ मा रहेको सिम्रन क्रसर उद्योग, माई मनकामना क्रसर उद्योग, गोरखा नगरपालिका १० मा रहेको गोरखकाली क्रसर उद्योग बन्द गराइएको छ। सिरानचोक ६ कालामाटाको दरौँदी क्रसर उद्योग, अजिरकोट २ को सुपर चेपे हाईड्रो पावरको क्रसर लगायतका उद्योग मंगलवार प्रहरी पुगेर बन्द गराएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए।  

‘जिल्ला अनुगमन समितिको निर्णय अनुसार हामीले अहिले जिल्लामा भएका सबै क्रसर उद्योग बन्द गराएका छौँ’ एसपी खनालले भने ‘नबिकरण र दर्ताको कागजात अहिले दुरुस्त भएका उद्योग भेटिएनन।’ जिल्ला भित्र क्रसर उद्योग, बालुवा प्रशोधन केन्द्र र बिभिन्न आयोजनाका नाममा खुलेका २३ वटा उद्योग छन्। यी मध्ये केही संचालनमा छैनन। सबै उद्योग तत्कालकालागि बन्द गराइएको एसपी खनालले बताए।  

प्रकाशित: २५ पुस २०७९ ०७:३१ सोमबार

गोरखा नगरपालिका जिल्ला प्रशासन कार्यालय गोरखा