समाज

धनकुटा बस दुघर्टनाः १३ को मृत्यु, २८ घाइते

धनकुटा– कोसी राजमार्गअन्र्तगत धनकुटाको सिधुवाबजार नजिकै भएको यात्रुबाहक बस दुघर्टनामा १३ जनाको ज्यान गएको छ भने २८ जना यात्रु घाइते भएका छन्। सात जनाको घट्नास्थलमै र ६ जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ। बसमा ४१ यात्रु सवार थिए।   
 
संखुवासभाको मुडेशनिश्चरेबाट धरान जाँदै गरेको बा.२ ख ७३६६ नम्बरको डाँफेमुनाल बस दुघर्टनामा परेको हो। हुस्सु लागेको र पानी परिरहेको बेला ब्रेक फेल भई घुम्तिमा मोडिन नसक्दा बस सडबाट करीब ८० मिटर तल खसेको थियो। बसको सिट र पार्टसहरु टुक्राटुक्रा भएका छन् ।
    
दुघर्टना परी मृत्यु हुनेमा हात्तिखर्क गाविस वडा नं. ६ निवासी पुर्व अर्थराज्य मन्त्री हरिराज खेवा रहेका छन् । मारेककटहरेमा आफन्त भेटघाट गरेर फर्कदै गरेका खेवा चित्रेबजारबाट बसमा चढेका थिए। यसैगरी घट्नास्थलमै मृत्यु हुनेहरुमा परेवादिन गाविस वडा नं. ७ की तारादेवी बस्नेत र उनकी ३ बर्षिय छोरी रेश्मा, सोही ठाउँकी अतिमाया तामाङ र खिनमाया भट्टराई तथा धरान उपमहानगरपालिका वडा नं. २ का ब्यापारी बेदप्रकास अग्रवाल रहेका छन् ।  

त्यस्तै उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्यएएका फुलेक– ६ तेह्रथुमकी होमा पौडेल, धनकुटा लेगुवाका तेजबहादुर थापा, मारेककटहरेका वीरबहादुर काफ्ले, संखुवासभा मादी नगरपालिकाका टंक कटुवाल र धनकुटा बुढीमोरङ– ८ का सनम तामाङको पनि मृत्यु भएको छ। विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिस्ठानमा रहेका ट्राफिक जवान धनबहादुर बस्नेतका अनुसार मृत्तक २ जनाको अझै सनाखत हुन सकेको छैन ।  

घाइतेहरु मध्ये २७ जनाको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिस्ठान धरानमा र एक जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको ट्राफिक प्रहरी पोष्ट धनकुटा प्रमुख सुरेन्द्र खड्काले बताए। उक्त घटनापछि धनकुटा जिल्लाका सुरक्षा प्रमुख, स्थानीय विकास अधिकारी गणेसप्रसाद दाहाललगायतले घटनास्थलमा निरिक्षण गरेका छन्। दुघर्टनामा परेको मृत्तक र घाइतेलाई नेपाली सेनाको श्री मेहर गण धनकुटा, जिल्ला प्रहरी कार्यालय, सिधुवा प्रहरी चौकी, इलाका प्रहरी कार्यालय बसन्तपुरका जवानहरुले र स्थानीयबासीले उद्दार गरेका थिए ।  

धनकुटा अस्पतालमा उपचार गराइरहेकी धनकुटा नगरपालिका वडा नं. १० की कमला पोखरेल संखुवासभा र तेह्रथुमको संगमस्थल टुटे देउरालीबाट बसमा चढेकी थिइन्। माइती घरबाट फर्कदै गरेकी कमलाले सिधुवाबजार नजिकै आएपछि गाडीमा कोलाहल मच्चिएको र एकै पटक डिल नघेर बाजारिएको बताईन । हातखुट्टा र अनुहारमा चोट लागेका पोखरेलले नयाँ जीवन पाएको बताइन्। गाडीको ब्रेकफेल भएपछि नालीमा हाल भनेर कराएको सुनेकी पोखरेलले  बसले डिलकटेपछि केही थाहा नपाएको बताइन्।

 

प्रकाशित: १३ श्रावण २०७३ १३:५३ बिहीबार

धनकुटा बस दुघर्टनाः १३ को मृत्यु २८ घाइते