समाज

सप्तरीकाे दशगजा क्षेत्रमा नेपाली र भारतीयबीच झडप, २ नेपाली घाइते

तिलाठी(सप्तरी)– सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा बाँध निर्माणको विषयलाई लिएर नेपाली र भारतीय पक्षबीच भएको झडपमा २ नेपाली घाइते भएका छन्। भारतीय पक्षले चलाएको ढुंगा र लाठी लागेर तिलाठी–४ का देवनारायण यादव र तिलाठी–६ का रोशन झा घाइते भएका हुन्।

घाइते मध्ये यादवको अवस्था गम्भीर रहेको बताइएको छ। प्रकोप प्रभावित जिल्ला सञ्जालका अध्यक्षसमेत रहेका यादवले अवैध रुपमा भारतीय पक्षले निर्माण गरेको बाँधको लामाे समयदेखि विरोध गर्दै आएका कारण भारतीय पक्षले उनलाई निशाना बनाएर कुटपिट गरेको बताइएको छ।

एकतर्फी रुपमा भारतीय पक्षले बनाएको बाँधको विरोध गर्दै स्थानीय नेपाली युवाहरुले उक्त बाँधकाे करिब ८० प्रतिशत भाग भत्काइदिएपछि नेपाली र भारतीय पक्षबीच बिहीबार अपरान्ह झडप भएको थियो। अहिले पनि उक्त स्थानमा झडप जारी नै छ। करिब १ हजार जनाको संख्यामा रहेका भारतीयहरुले भारतीय प्रहरी प्रमुख तथा प्रशासनकै आडमा पुनः बाँध निर्माण गरिरहेका छन्। उनीहरूले बिहान निर्माण गरेकोभन्दा पनि उत्तर(नेपाल)तर्फ बढाएर पुनः तीव्र गतिमा बाँध निर्माण गरिरहेका छन्।

तर, उक्त क्षेत्रमा करिब ५ सयको संख्यामा रहेका स्थानीय नेपाली युवालाई भने नेपाली सुरक्षाकर्मीले सम्भावित दुर्घटनालार्इ ध्यानमा राख्दै बाँध निर्माण कार्यको प्रतिकारमा उत्रन दिएकाे छैन।

अपरान्ह बाँध निर्माण गरिएको स्थानमा पुगेका प्रमुख जिल्ला अधिकार र सुरक्षा प्रमुखहरु पनि त्यस ठाउँबाट फर्किसकेका छन्।

बाढि बहने नहरको निर्माण गरेर मात्र उक्त स्थानमा बाँध निर्माण गर्ने भनी भारतीय पक्षले सोमबार नेपालको स्थानीय प्रशासनसँग सहमति जनाएको थियो। तर, उक्त सहमतिअुनसार नहर निर्माण नगरी भारतीय पक्षले नेपाली बस्ती डुबानमा पार्ने गरी बाँध निर्माण शुरु गरेको हो।  

 

प्रकाशित: १३ श्रावण २०७३ १३:११ बिहीबार

सप्तरीकाे दशगजा क्षेत्रमा नेपाली भारतीयबीच झडप नेपाली घाइते