समाज

‘यौनजन्य हिंसाको अनुसन्धान प्रभावकारी बनाऊ’

राष्ट्रिय मानव अधिकार आयोगले बलात्कार तथा यौनजन्य हिंसाका घटनाको अनुसन्धान प्रभावकारी बनाउन सरकारलाई पत्र पठाएको छ।

आयोगले बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरूको अनुसन्धानलाई प्रभावकारी बनाउन, स्रोत-साधन सम्पन्न विधि विज्ञान प्रयोगशाला बनाउन माग गरेको छ।

आयोगले विगत केही वर्षदेखि नेपालमा बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरूमा वृद्धि हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ। अहिलेसम्म भएका जर्बजस्ती करणीका घटनाका दोषीलाई पहिचान गरी कारबाही गर्न नसकेको उल्लेख गरेको छ।

गत वर्ष मात्र २ हजार ३ सय ८० जना महिला तथा किशोरीहरू जबरजस्ती करणीको घटनाबाट पीडित भएको आयोगले सरकारलाई पठाएको पत्रमा उल्लेख गरेको छ। आयोगले सातै प्रदेशका अस्पतालमा दक्ष जनशक्तिसहित स्रोत, साधन सम्पन्न विधिविज्ञान प्रयोगशाला स्थापना गर्न माग गरेको छ। ‘अधिकांश दोषी पहिचान हुन नसकेको एवम् तत्काल कारबाहीको प्रक्रियामा लैजान नसकिएको देखिँदा बलात्कार तथा यौनजन्य हिंसालाई सम्बोधन गर्न द्रूत अनुसन्धान तथा अभियोजन प्रक्रिया अगाडि बढाउन तथा सातै प्रदेशका प्रादेशिक अस्पतालहरूमा दक्ष जनशक्तिसहित स्रोत, साधन सम्पन्न विधि विज्ञान प्रयोगशाला सीघ्र स्थापना गर्न’ आयोगले भनेको छ।

त्यसैगरी महिला तथा यौनिक अल्पसंख्यकमाथि हुने गरेका हिंसाका घटनाहरूको उजुरी उपर तत्कालै सम्बोधन गर्न आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आयोगले बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनालाई पुनः अनुसन्धान प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयबाट भएको पहललाई सहना गरेको छ।

बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरूमा वृद्धि हुँदै गइरहेको भन्दै पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगले पत्राचार गरेको हो। बालिका पन्तको घटनालाई निष्कर्षमा पुराउन समेत माग गरेको छ।

प्रकाशित: २५ पुस २०७९ ०३:१५ सोमबार

राष्ट्रिय मानवअधिकार आयोग महिला तथा यौनिक अल्पसंख्यकमाथि हुने गरेका हिंसा