समाज

पहिरोबाट पीडितलाई राहत र उद्धारमा सकस

प्यूठानको फोप्लीमा गाउँ माथिबाट गएको पहिरो ।

प्यूठान–बाढी र पहिरोबाट पीडितलाई राहत र उद्धारकालागि सकस परेको छ। जिल्ला प्रशासन कार्यालय एवं जिल्ला दैवी उद्धार प्रकोप समितिको सुस्तताका कारण पीडितले समयमै राहत पाउन सकेका छैनन् । सोमबार रातिदेखि अबिरल वर्षाका कारण पहिरोको क्षति उच्च रहेपनि बुधबार बिहानमात्रै दैवी प्रकोप उद्धार समितिको बैठक बसेको थियो।

बैठकको निर्णय अनुसार खटाइएको टोली बुधबार रातिसम्म घटना स्थल पुग्न सकेको थिएन। सबैभन्दा प्रभावित फोप्ली गाविसमा बुधबार राति राहत सामाग्री लगेपनि बिहीबार मात्रै वितरण गरिने बताइएको छ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार सडक अबरुद्ध भएका कारण राहत सामाग्री गाउँमा पर्¥याँउन असुविधा भएको बताउँछन्। उनी आज (बिहीवार) मात्र प्रभावित गाविस फोप्लीमा जाँदैछन्।

जहाँ सबैभन्दा धेरै २४ जनाको ज्यान गुमाएका थिए भने १ सय ५० भन्दा बढी घरपरिवार बिस्थापित छन्। सडक असुविधाका कारण बोकेर खाद्यान्न सामाग्री लैजान असुविधा भएकाले नेपाली सेनाले हेलिकप्टरमार्फत लैजाने तयारी भइरहेको छ।

बिस्थापित छिमेकीको घरमा आश्रय लिएर बसेपनि समयमै राहत नपुर्याँइदा राज्य विहीन असुविधाको महसुस भएको स्थानीय बताउँछन्। घटना भएको ३ दिनसम्म पनि प्रशासनको टोली गाउँमा नआएको उनीहरुले गुनासो गरेका छन्।

आफन्त र घरवास गुमाएकाहरुले बाँचेका वस्तु भाउ चौपाया बाहिरै छोडेका छन्। गाउँमा बच्चा, बृद्ध र असहायहरुको बिचल्ली छ। स्थानीयले राहतबिनै दुई रात बिताएका छन्। उनीहरु स्थानीय सामुदायिक संस्था, विद्यालय र छिमेकीको गोठमा बस्न बाध्य छन्।

गाउँमा खानेपानीको पाइपसमेत बगाएकाकारण शुद्ध पिउने पानीको अभावमा स्थानीय समस्यमा छन्। बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य टोली पनि अझै पुगेको छैन। पानी पर्न कम भएपनि ग्रामीण सडकमा ठाउँ ठाउँमा गएको पहिरोले बाटो अबरुद्ध छ। जिल्लाका अन्य प्रभावित ठाउँहरुमा राहत वितरणमा ढिलाई भएको पीडितको गुनासो छ।

फोप्लीको फोप्लीको गातिना, भिरकुना, चारीवाङ, अँधेरी लगायतका ठाउँ सबैभन्दा बढी प्रभावित हुन्। यो गाविसका फोप्लीको वडा नं. ३, ४, ५ र ६ मा करिब १ सय ५० घरपरिवार बिस्थापित छन् भने जिल्लाका अन्य ठाउँमा ५० भन्दा बढी घरपरिवार बिस्थापित छन्। प्यूठानमा बाढी र पहिरोको कारण अहिलेसम्म ३७ जनाले ज्यान गुमाएका छन् भने ६ जना अझै बेपत्ता छन्।

 

प्रकाशित: १३ श्रावण २०७३ ०५:०७ बिहीबार

पहिरोबाट पीडितलाई राहत उद्धारमा सकस