समाज

शंखे पहरामा पर्यटक पुर्‍याउने स्थानीयको प्रयास

शंखे पहरामा शङ्खध्वनी निकाल्ने प्रयास गर्दै स्थानीय। तस्बिरःनागरिक

साइँलाले साइँलीलाई लग्यो

भिरको बाटो लालटिन बालेर।

गाउँघरमा निकै चलेको पुरानो गितको टुक्का हो। साइँला साइँलीको माया प्रितीको कुरामा बिम्बको रुपमा भिरको बाटो जोडिएको छ। यो त गितको कुरा भयो। जिल्लाको जैमिनी नगरपालिका—५ बिनामारेका स्थानीयले भने भिरको बाटो धेरै साइँला साइँली लगेर पर्यटनका विकास गर्ने अभियान थालेका छन्। बिनामारे रिठ्ठेडाँडा नजिकैको अक्करे भिरमा रहेको पहरामा भिरको बाटो पर्यटक पु¥याउने उनीहरुको योजना रहेको छ। उक्त पहरामा रहेको प्वालको फुक्दा शंखध्वनी जस्तो सुनिन्छ। त्यसैले स्थानीयले त्यो पहराको नाम नै शंखे पहरा राखेका छन्। त्यही शंखे पहराको प्रचार प्रसार र विकास गरी त्यहाँको पर्यटन विकास गर्ने उनीहरुको चाहाना छ। विगतमा अहिले भन्दा अझ राम्रो शंखध्वनी गुन्जने गरेको स्थानीय हर्कबहादुर थापामगर बताउँछन्।

‘पहिले पहिले नै राम्रो चिल्लो थियो, हाम्रा दामली साथीहरु खेल्दै गर्दा फुटेर अहिलेको अवस्थाम पुगेको हो,’ उनी भन्छन्,‘पहरामा रहेको प्वालमा फुक्दा शंखको जस्तो आवाज आउने भएका कारण हाम्रो पूर्खाले शंखे पहरा नाम राखेका हुन्।’ त्यहाँ नजिकै खानीको अवशेष रहेको पनि उनी बताउँछन्। ‘यहाँ नजिकै नाक ओढार भन्ने ठाउँ पनि छ, खानीका अवशेषहरु पनि भेटिन्छन्। अलि पर ठूलो ओढार छ, जहाँ एक सय ५० भन्दा बढि व्यक्ति अटाउँछन्,’ थापाले भने। शंखे पहराको प्वालमा फुक्दा शंख ध्वनी निस्कन्छ, तर सबैले त्यो ध्वनी निकाल्न सम्भव छैन। ‘राम्रोसंग शंख फुक्न जानेकाले फुक्दा राम्रो ध्वनी निस्कन्छ,’ उनी भन्छन्,‘सबैले फुकेर शंखध्वनी निकाल्न सकिदैन । पानी राखेर फुक्दा शंख बजाए जस्तै आवाज आउँछ।’

शंखे पहराको संरक्षण र प्रचार प्रसारका केही प्रयासहर पनि भएका छन्। गतवर्ष मात्रै स्थानीय युवाको सक्रियतामा केही कामहरु भएको छ। रिठेडाँडामा पर्यटकीय उद्यानका काम थालिएको छ। पोखरामा प्याराग्लाईडिङ गराउने युवा टेकबहादुर थापाले आफ्नो ठाउँमा रहेको उक्त ठाउँको पर्यटकीय विकासका लागि प्रयास थालेका थिए। उनको प्रयासमा अन्य गाउँलेले पनि साथ दिन थाले। टेकबहादुरकै अध्यक्षतामा रिठेडाँडा पर्यटन पूर्वाधार निर्माण उपभोक्ता समिति गठन गरेर शंखे पहराको संरक्षण र अन्य पूर्वाधार निर्माणको काम सुरु गरिएको हो। पहराको चट्टानबा शंखको ध्वनी निस्कन्छ भनेपछि जिज्ञाशा राखेर अन्य ठाउँबाट आगन्तुक आउन थालेपछि त्यसको प्रचार प्रसार र संरक्षण गर्नुपर्छ भनेर काम थालिएको थापा बताउँछन्।

‘पोखरामा प्याराग्लाईडिङ गराउँदा स्वदेशी विदेशी धेरै पर्यटकहरुसंग संगत गरेको छु,’ उनी भन्छन्,‘यहाँको शंखे पहराबाट शंखको आवाज आउँछ भन्दा धेरैले चासो राखेको र हेर्न आउने चाहाना राखेका कारण यसको संरक्षणसंगै विकास गर्नुपर्छ भन्ने लागेको हो।’ पहराबाट शंखको आवाज निस्कनु अनौठो भएकाले त्यसको संरक्षणमा लागेको उनी बताउँछन्। शंखे पहराको तलपट्टी देवी देउताका आकृति समेत रहेको उनको भनाइ छ। स्थानीयले त्यसलाई धार्मिक आस्थासंग जोडेर त्यहाँ पूजा अर्चना गर्ने र दक्षिण चढाउने चलन पनि चलाएका छन्। अहिले रिठेडाँडाबाट शंखे पहरा जान पदमार्ग बनाइएको छ। त्यसलाई व्यवस्थीत गरी तारबार गर्न भने बाँकी छ।

एकदमै डरलाग्दो भिर भएका कारण पदमार्गसंगै तारबार गर्नुपर्ने देखिन्छ। गत आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट प्राप्त ९ लाख रुपैयाँ बजेटबाट रिठेडाँडामा घेराबार गरिएको छ। पदमार्ग र पोखरी ढलान तथा उद्यान निर्माणको काम पनि अगाडि बढेको छ। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत पूर्वाधार विकास कार्यालयले झण्डै साढे चार लाख बजेट चौतारो संरक्षण र उद्यान निर्माणमा खर्च भएको छ। त्यस क्षेत्रमा अन्य भौतिक पूर्वाधार निर्माणको काम पनि थालिएको छ। ‘यो  ठाउँलाई पर्यटकीय गन्तव्य बनाउनुपर्छ भनेर हामी लागेका छौं,’थापाले भने। शंखे पहराको विकासका लागि थप पूर्वाधारका कामहरु गर्नु आवश्यक रहेको स्थानीय पुस्पबहादुर थापा बताउँछन्। ‘निकै अप्ठ्यारो भिर छ, पदमागै बने पनि रेलिङ हाल्न बाँकी छ, बाटो पारी पु¥याउनुपनेछ,’ उनी भन्छन्,‘तारबार गर्नुपर्ने, बाटो ढलान गर्नुपर्ने काम पनि छ।’

स्थानीय, प्रदेश र संघीय सरकारले यहाँको भौतिक विकासमा ध्यान दिनुपर्ने उनी बताउँछन्। नगरपालिकाको पर्यटकीय क्षेत्रको रुपमा नजर परेकाले त्यसका विकासका लागि नगरपालिकाले ध्यान दिने जैमिनी नगर उपप्रमुख हरिहर शर्मा बताउँछन्।  ‘हामीले समग्र जैमिनीका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको विकासका लागि योजना बनाउँछौं,’ उनले भने,‘शंखे पहराको विकासका लागि पनि हामीले कार्यक्रम बनाउँदैछौं।’ सम्भवाना हुँदा हुँदै पनि लामो समयदेखि बेखबर उक्त शंखे पहरालाई गन्तव्य बनाउनका लागि स्थानीय जुटेका छन्।

पर्यटनको माध्यमबाट गाउँलाई चिनाउने र त्यसै मार्फत आर्थिक उपार्जन गर्ने स्थानीयको योजना छ। पर्यटकको आगमन बढ्दै जाँदा होमस्टे सञ्चालन गर्ने पनि उनीहरुको सोंच छ। उत्तर दक्षिण जोड्ने कालिगण्डकी करिडोरसंगै अन्य सहायक मार्गबाट त्यहाँ पुग्न सकिन्छ। झण्डै १३०० मिटरको उचाईमा रहेको उक्त ठाउँबाट हिमश्रृङ्खला समेत देख्न सकिने भएकाले पर्यटकको रोजाईमा पर्ने स्थानीयको विश्वास छ।  

प्रकाशित: २४ पुस २०७९ १३:०१ आइतबार

शंखे पहरा