समाज

धराप कक्षामा बर्खेभेल

काठमाडौं- भित्ता चर्केका छन् । कक्षाकोठा भेलले छताछुल्ल छ । झोला र कापी–किताबसमेत भिजेका छन्। विद्यार्थी सबै कुरा बेवास्ता गरेर पढिरहेका छन्।

दृश्य हो– रानीपोखरीस्थित संस्कृत माविको । केही दिनयताको निरन्तर वर्षाले भूकम्पले धराप बनाएको विद्यालय भवन धन्य उभिएको छ । विद्यार्थी भने वर्षाको पानी थेगेरै आफ्नो कर्तव्य पूरा गरिरहेका छन्– मंगलबार नागरिक प्रतिनिधि त्यहाँ पुग्दा पनि विद्यार्थी भिजेका किताब पल्टाउँदै थिए । पठनपाठन चलिरहेकै थियो । 

उनीहरु भत्कनै लागेको भित्तानजिकैको बेन्चमा बसेर अध्ययन गरिरहेका थिए । कक्षाकोठाभित्र पानी पसेकाले विद्यार्थी बेन्चमाथि टेकेर कक्षाकोठामा आ–आफ्ना सिटमा बस्न खोजेको देखियो ।

१५ महिनाअघिको भुइँचालोले पूर्ण क्षति पु¥याएको विद्यालय भवन बनाउन सरकारी पक्षले चासो नदिँदा अहिलेसम्म विद्यार्थीको बेहाल छ । राजधानी उपत्यकाकै सरकारी विद्यालयको हालत यस्तो छ भने दूरदराजका विद्यालयको कुन हालत होला, सहजै अनुमान गर्न सकिन्छ ।

१५ महिनाअघि भुइँचालोले पूर्ण क्षति पु¥याएको उक्त विद्यालय भवन पुनर्निर्माणमा सरकारले चासो नदिँदा विद्यार्थीको बेहाल छ । राजधानीकै सरकारी विद्यालयको यो हालत छ, दूरदराजका विद्यालयको अवस्था सहजै अनुमान गर्न सकिन्छ ।

‘हाम्रो कक्षाकोठाका भित्ता भुइँचालोले पूर्ण रुपमा चर्केको छ । मेघ गर्जंदासमेत पूरै हलिन्छ,’ कक्षा ६ मा अध्ययनरत सन्तोषले सुनाए, ‘कतिखेर कक्षाकोठाको भित्ता खसेर हामी दुर्घटनामा पर्ने हौं भन्ने चिन्ता लागिरहन्छ ।’ पण्डित बन्ने लक्ष्य लिएका उनले कक्षाकोठा पहिलेजस्तै सुरक्षित बनाइदिन सरकारसँग माग गरे ।

जीर्ण कक्षाकोठामा बसेर पढिरहेका सन्तोषजस्ता हरेक विद्यार्थी अहिले त्रासमा छन् । कक्षा ७ गाउँमै पढेर संस्कृत पढ्ने रुचिसाथ हुम्लाबाट काठमाडौं आएका मनरल जोशी भन्छन्, ‘भुइँचालोको अनुकम्पन आइरहेका बेला कक्षाकोठाका भित्ताबाट प्लास्टर झरेर धेरैपटक चोट  लागिसक्यो ।’

उनले नागरिकसँगको भेटमा भने, ‘बुबा गाउँमा पुरोहित हुनुहुन्छ । सम्मानजनक पेसा भएकाले मलाई संस्कृत पढ्ने रुचि बढ्यो तर नेपालकै  सबैभन्दा पुरानो र प्रतिष्ठित स्कुलमा कक्षाकोठाभित्र बसेर अध्ययन गर्न डर लाग्छ ।’

कालिकोटका कविराज उपाध्यायले पनि यसै वर्ष कक्षा ८ मा संस्कृत अध्ययनका लागि संस्कृत मावि भर्ना भएको सुनाए । उनमा पनि कक्षाकोठा भत्कने डरले अध्ययनमा एकचित्त नै छैन ।

‘ सामाजिक मिसले भुइँचालोबाट बच्ने तरिका सिकाइरहनुहुन्छ,’ कविराजले सुनाए, ‘तर भुइँचालोले कक्षाकोठा हल्लिँदा हामी पहिले नै भाग्छौं । मिसको कुरा व्यवहारमा लागू गर्न दिमागमै आउँदैन । पछि पो सम्झिन्छु ।’

उनले प्रश्न गरे, ‘हामी यसरी त्रासपूर्ण वातावरणमा कतिन्जेल पढ्ने ? सरकारले हाम्रो कक्षाकोठा सुरक्षित बनाइदिनुप¥यो ।’

वर्षाको समय भएकाले विद्यार्थीलाई थप जोखिम भएको प्रिन्सिपल बद्रीप्रसाद दाहालले बताए । उनले संस्कृत मावि नेपालको एक मात्र संस्कृत विद्यालय भएको र यसमा विद्यार्थीको चाप पनि बढी भएको बताए । हाल यो स्कुलमा कक्षा ६–१० सम्म पढाइन्छ । कुल १ सय ६९ विद्यार्थी छन् ।

कक्षाकोठा व्यवस्थापन गर्न नसकेकाका कारण विद्यार्थीलाई जोखिम मोलेरै पूर्ण क्षति भएकै भवनमा पढाउनुपरेको दाहालले सुनाए । ‘भूकम्पपछि तत्कालीन राष्ट्रपति रामवरण यादवले स्कुल भ्रमण गरी संस्कृत विद्यालयलाई प्राथमिकतासाथ बनाउनुपर्ने प्रतिबद्धता जनाए । कांग्रेस नेता रामचन्द्र पौडैल यहीँका विद्यार्थी पनि भएकाले आएर स्कुल  तत्काल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए,’ प्रिन्सिपल दाहालले सम्झे, ‘संसदीय समितिका टोली संयोजक दीपक बोहरालगायत शेखर कोइरालाको टोलीले समेत स्कुल भ्रमण गरेको डेढ वर्ष भयो तर स्कुल भवन बनेन ।’

शिक्षक माधव लामिछानेका अनुसार स्कुलमा विद्यार्थी जोखिम मोलेरै पढेर एसएलसीमा शतप्रतिशत नतिजा ल्याउँदा पनि कसैले चासो दिएनन् । ‘हामीले शिक्षा मन्त्रालय, विभाग, जिल्ला सबै निकाय गुहार माग्यौं । कसैले  हालसम्म सहयोगको हात बढाएका छैनन्,’ उनले प्रश्न गरे, ‘काठमाडौंको मुटुमै १० रोपनी जग्गामा फैलिएको सरकारी स्कुललाई त सरकारले हेर्दैैन भने दुर्गमको स्कुललाई कसरी सुरक्षित बनाउला ?’ 

शिक्षा मन्त्रालयले भूकम्पबाट जोखिममा रहेका सरकारी विद्यालय पुनर्निर्माण गर्न मन्त्रालयका सहसचिव इमनारायण श्रेष्ठ निर्देशक रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (सिएलपिआइयु) नै गठन गरेको छ ।

आयोजना निर्देशक श्रेष्ठले भूकम्पका कारण हाल मुख्य रुपमा १४ जिल्लाका ५ हजार ३ स्कुल पूर्ण क्षति भएको जानकारी दिए। काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, रसुवा, दोलखा, काभ्रे, ओखलढुंगा, सिन्धुली, रामेछाप र मकवानपुरका ५ हजार ३ स्कुल पुनर्निर्माणका लागि सरकारले ४२ अर्ब रकम खर्च हुने अनुमान गरेको छ । त्यहीअनुसार दातृनिकायसँग सहयोग जुटाउनेबारे छलफल भइरहेको उनले खुलाए।

‘काठमाडौंको दरबार र संस्कृत माविको भवन निर्माणको हकमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले चाइनासँग कुरा अघि बढाएर चाइनिज दूतावासलाई एक महिनाअघि नै प्रस्ताव पठाइसक्नुभएको छ,’ निर्देशक श्रेष्ठले नागरिकसँग भने, ‘हामी दूतावासको पर्खाइमा छौं ।’

चीनले नेपालको रसुवा, दोलखा, काठमाडौं र सिन्धुपाल्चोकका सात विद्यालय बनाइदिने प्रतिबद्धता जनाएको छ । यसैगरी, एसियाली विकास बैंक (एडिबी) ले काठमाडौं, भक्तपुर, काभ्रे, रामेछाप र ओखलढुंगाका गरी ४० स्कुल बनाइदिन सर्वेक्षण सूची मागेको उनले जनाए।

प्रकाशित: १२ श्रावण २०७३ ०४:५६ बुधबार

धराप कक्षामा बर्खेभेल