समाज

बागलुङमा तीनको मृत्यु, बाढीपहिरोले २६ घर बगायो

काठमाडौं– अविरल वर्षासँगै आएको बाढी, पहिरोले बागलुङमा मानवीयसहित करोडौंको क्षती भएको छ। पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता भएका छन् भने २६ घर बाढीले बगाएको छ। मृत्यु हुनेमा राजकुत—७ का सन्तबहादुर तामाङकी छोरी तुजी तामाङ(८), डिकी तामाङ(२२) , दर्लिङ—७की यमुना बुढा(१८) छन्।

पहिरोमा पुरिएर दर्लिङ—७ देवी बुढा र देवीको छोरा सन्दिप बुढा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ।  माथिबाट आएको पहिरोले पुरिएकोले बेपत्ता भएकाको मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक चक्रबहादुर सिहंले बताए। पहिरोले अधिकारीचौर—७ मा १६ घर, भिमगिठे—८ मा ५, बुर्तिवाङ—१ मा ५ गरी २६ घर बगाएको प्रारम्भिक जानकारी आएको सिंहले बताए। ‘अधिकारीचौरमै थप २५ घर बगाएको सूचना आएको छ,’ सिंहले भने, ‘ठूलो धनजनको क्षती भयो।’

बाढीले अधिकारीचौर गाविसमा ११ झोलुंगेपुल बगाउँदा गाउँ सम्पर्कविहीन भएको अधिकारीचौरका स्थानीय रहेका नेपाली कांग्रेसका क्षेत्रीय सभापति दोर्ण कुँवरले बताए। ‘चार लघुजलविद्युत् आयोजना पनि बगाएको छ,’ उनले भने, ‘करोडौंँको क्षती भएको छ ।’

 

प्रकाशित: ११ श्रावण २०७३ १३:०० मंगलबार

बागलुङमा तीनको मृत्यु बाढीपहिरोले २६ घर बगायो