समाज

मुलुकभर भारी वर्षा, १२ को मृत्यु २ जना बेपत्ता

काठमाडौं–गएरातिदेखि परेको अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ। मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरोका कारण १२ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन्। अबिरल वर्षासँगै गएको पहिरोले पुरिएर गुल्मीमा पाँच जनाको मृत्यु भएको छ।

राससका अनुसार गुल्मीको हस्तिचौर गाविस एक मल्दी एकै परिवारका ६२ वर्षीया कालीका दर्जी, ४९ वर्षीया तुलसा दर्जी र १९ वर्षीया अस्मिता दर्जीको मृत्यु भएको छ। त्यसैगी गुल्मीकै बिसुखर्क गाविस–९ मा पहिरोले परिएर गोपाल रानाका ८ वर्षीय छोरा सुनम राना र ६ वर्षीया छोरी सिमाना रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिए। पहिरोले पुरिएर हस्तिचौरका ५० वर्षीय विष्णु सारु घाइते भएका छन्। अहिले पनि घरमाथिबाट पहिरो खसिरहेका कारण पहिरोमा पुरिएका बिसुखर्कका राना परिवारको उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ।

यसैगरी मकवानपुर जिल्लाको भीमफेदी गाविस–५ सोला भञ्याङमा गएराति पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय टेकबहादुर रुम्बालामा, उनी श्रीमती २३ वर्षीया पार्तती रुम्बालामा र उनका  पाँच वर्षीय छोरा विकास रुम्बालामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको राससले उल्लेख गरेको छ।

यसैगरी प्युठान जिल्लाको लुङ गाविस–६ मा शिशिर रिजालको घर पहिरोले भत्काउँदा उनकी श्रीमती शोभा रिजालको मृत्यु भएको छ।  पहिराले घर भत्काएपछि शोभाको उद्धार गर्नखोज्दा मृत्यु भएको थियो भने परिवारका अन्य सदस्य भाग्न सफल भएको प्रहरीले जनाएको छ। यसैगरी बागदुला पुलमुनि अन्दाजी १३ वर्षीया अज्ञात बालिकाको शव फेला परेको र कार्कीडाँडा पक्की पुलमुनि झिमुरक खोलको माझमा पनि एक बेवारिसे शव फेला परेको छ।

खैरा झोलुंगे पुलमुनि अर्को एक शव पनि फेला परेको प्युठानका प्रहरी नायब निरीक्षक रञ्जीतसिंह राठौरले जानकारी दिए। यसैगरी लुङ–६ मा डेरागरी बस्ने काली विक र पवित्रा पुन आफ्नो घर पहिरोले बगाउँदा बेपत्ता भएका छन्।
त्यसैगरी, खवाङ राजवारा अर्खा गाविसमा अहिलेसम्म एक दर्जन घरमा क्षति भएको तर मानवीय क्षतिको कुनै विवरण आएको छैन्। रासस

 

प्रकाशित: ११ श्रावण २०७३ ०५:१४ मंगलबार

मुलुकभर भारी वर्षा १२ को मृत्यु जना बेपत्ता