समाज

आजदेखि चरा गणना सुरु

तस्बिर: विवेक मिश्र/रासस

नेपालमा आजदेखि चरा गणना सुरु भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको  नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो।

गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिए। उनका अनुसार तीन हप्ता चरा गणनाको काम हुनेछ। गणनाको क्षेत्र विस्तार हुँदै जाँदा पनि चराको सङ्ख्या बर्सेनि घट्दै जानु चिन्ताको विषय भएको उनले बताए।  

चराको गुणस्तर बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेती बालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले चराको सङ्ख्या बर्सेनि घट्दै गएको उनको भनाइ छ। हरेक क्षेत्रमा जस्तै जलवायु परिवर्तको प्रभाव पनि चराको बासस्थानमा परेको डा बरालले बताए।

चितवनमा भने भोलिदेखि चरा गणना सुरु हुने वर्ड एजुकेशन सोसाइटी सौराहाका पूर्वअध्यक्ष वासु बिडारीले जानकारी दिए। पूर्वी चितवनमा वर्ड एजुकेशन सोसाइटी सौराहाको नेतृत्वमा र पश्चिम चितवनमा वर्ड एजुकेशन सोसाइटी मेघौलीको नेतृत्वमा चरा गणना हुनेछ।  पश्चिम सेक्टर अन्तर्गत लोथर पुलदेखि कसरा पुलसम्म चराको गणना हुनेछ। जसमा चराको मुख्य बासस्थान रहेको ढुङ्ग्री खोला, बूढीराप्ती खोला, लामी ताल, तमोर ताल, बरुण ताल, बिसहजारी ताल र राइनो तालमा चराको गणना गरिनेछ। यस्तै चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा छुट्टै समूहमार्फत चरा गणना गरिनेछ। नेपालमा पछिल्लो तथ्याङ्कअनुसार आठ सय ९२ प्रजातिका चरा छन्। जसमा दुई सय चरा पानीमा आश्रित छन्। चितवनमा मात्रै छ सय ५२ प्रजातिका चरा छन्।

प्रकाशित: २३ पुस २०७९ ०४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App