समाज

जथाभाबी बाटो काटे हजार जरिवाना

काठमाडौं- जेब्राक्रसिङको साटो जथाभावी जहाँ पायो त्यहीँबाट बाटो काट्ने बानी छ? सार्वजनिक यातायातमा पनि जहाँसुकै रोकेर चढ्नुहुन्छ? त्यसो गर्नुहुन्छ भने सचेत भइहाल्नुस् नत्र ट्राफिक प्रहरीले तपाईंलाई सचेत गराउने मात्र होइन जरिवाना नै तिराउन सक्छ।

सवारीचालक हुनुहुन्छ भने जेब्राक्रसिङमा सवारी बिस्तारै गुडाउनुस् र पैदलयात्रीलाई बाटो काट्न दिनुस्। र, जहाँ पायो त्यहीँ सवारी रोकेर यात्रु चढाउने र ओराल्ने पनि नगर्नुस्। त्यसो गरे तपाईं ट्राफिक प्रहरीको कारबाहीमा पर्नु होला।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार पैदलयात्रुको सुरक्षा सुनिश्चित गर्न पैदलयात्रु सुरक्षा अभियान थालेको छ। महाशाखाले जथाभावी बाटो काट्ने र जहाँ पायो त्यहीँ सवारीसाधन रोकेर चढ्न खोज्ने यात्रुलाई सचेत गराउन थालेको हो। महाशाखाले सवारीचालकलाई समेत सचेत गराउन थालेको छ।

'आज औपचारिक रुपमा पैदलयात्रु सचेत गराउने अभियान थालेका छौं,' ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी प्रकाश अर्यालले भने, 'पहिलो चरणमा सचेत गराउँछौं, त्यसपछि कारबाहीको दायरामा ल्याउनेछौं।' अर्यालका अनुसार पहिलो चरणको सचेतना अभियानपछि पनि अटेर गर्ने यात्रुलाई दोस्रो चरणमा कारबाही गरिनेछ। तोकिएको ठाउँभन्दा अन्य ठाउँबाट बाटो काटे २ सयदेखि १ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख छ। पहिलो चरण साउन र भदौलाई मानेको छ।

उपत्यकाको सडकमा भने कतिपय ठाउँमा जेब्राक्रसिङको संकेत गर्ने धर्सा नै छैनन् भने भएका ठाउँमा पनि मेटिएर मधुरो भईसकेका छन। 'भएका ठाउँमा सम्बन्धीत निकायसँग सहकार्य गरेर रंग लगाइनेछ भने नभएको ठाउँमा आवश्यकता हेरेर जेब्राक्रसिङको संकेत दिने रंग लगाईनेछ,' महाशाखाका डिएसपी सविन प्रधानले भने, 'सक्दो जेब्राक्रसिङमै गएर बाटो काट्न पर्यो र धेरै पर जेब्राक्रसिङ भएको ठाउँमा भने जेब्राक्रसिङमा काटे जसरी नै रोकिएर विस्तारो काट्न पर्यो भनेर सचेत गराउनेछौं।'

महाशाखाले यस्तो अभियान पहिला पनि चलाएको थियो। बीचमा निस्कि्रय गरेको अभियान पुनः सक्रिय बनाएको हो। 'पहिला चलाएको अभियानबाट अहिले धेरैले जेब्राक्रसिङबाटै बाटो काट्ने गरेका छन भने केही चालकले यात्रुलाई बाटो कटाएर मात्रै आफ्नो सवारी गुडाउने गरेका छन,' प्रधानले भने, 'सुधार एकैपटक र आजको भालि हुँदैन। विस्तारै हुँदै जाने हो र हुँदै गएको पनि छ।'

प्रधानले भने जस्तै पैदल यात्रुहरु सचेत भएतापनि जेब्राक्रसिङमै यातायातको स्पिड बढी हुने गरेको यात्रुहरु बताउँछन्। चालकलाई समेत जेब्राक्रसिङको बारेमा सचेत गराईने तथा कारबाहीको दायरामा ल्याईने प्रधानको जनाए। 'जेब्राक्रसिङमा स्पीड गर्ने हुने गरेको हामीले पनि अनुभुत गरेका छौं। त्यसैले हामीले चाकललाई समेत सचेत गराउँछौं,' प्रधानले भने, 'जेब्राक्रसिङमा १५ को गतीमा सवारी गुडाउनुपर्नेछ। र, बाटो काट्दै गरेका यात्रुलाई बाटो काटेपछि मात्रै सवारी अगाडि बढाउनुपर्ने हुन्छ।' नियम पालन गर्ने सवारीमाथि कारबाही गरिने पनि महाशाखाले जनाएको छ। त्यसैगरी यात्रु र सवारीलाई तोकिएको ठाउँमा मात्र चढ्न र ओराल्न पनि सचेत गराएको छ। सचेत गराउँदा अटेर गरेमा दोस्रो चरणमा कानुनअनुसार नै कारवाही गरिनेछ। तर उपत्यकाको सडकमा यात्रु चढाउने र ओराल्ने केही ठाउँमा निश्चित भएपनि धेरै ठाउँमा निश्ििचत छैन। यसो हुँदा सवारीले पनि जथाभावी रोकेर यात्रु चढाउने र ओराल्ने गरिरहेका छन भने यात्रुले पनि त्यसको फाईदा लिईरहेका छन।

आवश्यकता हेरेर सवारी रोक्ने र ओराल्ने ठाउँ कायम गर्ने मुख्यतः काठमाडौं महानगरपालिकाले गर्नपर्ने भएपनि गर्न सकेको छैन। 'केही ठाउँमा तोकिएको छ,' महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, 'व्यवस्थित यात्रु स्टेसन निर्माणको लागि महानगरले परिषद्बाटै पारित गरेको हुँदा यसै बर्ष महानगरले यात्रु प्रतिक्षालय बनाउने काम गर्नेछ।'

उपत्यकामा ठूलासाना गरी दैनिक ३६ वटा सवारी दुर्घटना हुँदै आएका छन्। पैदलयात्रीको लापरबाहीबाट औसतमा दैनिक एक दुईवटा दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ। 'उपत्यकामा भएको दुघर्टना मध्ये ४० प्रतिशत दुघर्टना पैदलयात्रुको कारण हुने गरेका छन,' प्रधानले भने, 'एकवर्षको अवधीमा सडक दुर्घटनामा परी १ सय ६६ जनाको मृत्यु भएकोमा ४० प्रतिशत पैदलयात्रु नै रहेका छन।'

प्रकाशित: १० श्रावण २०७३ ०४:०१ सोमबार

जथाभाबी बाटो काटे जरिवाना