समाज

त्रियुगा बसपार्कको ठेक्का तोड्न माग

आधुनिक र सुविधासम्पन्न निर्माणाधीन बसपार्कको टर्मिनल भवन। तस्बिरः महेश्वर

सदरमुकाम गाईघाटमा निर्माणाधीन ‘त्रियुगा बसपार्क आयोजना’को काम कछुवा गतिमा भइरहेको भन्दै चाँडो सक्न स्थानीयले माग गरेका छन्। डेढवर्षभित्र अर्थात ०७७ पुस २९ गतेभित्र सम्पन्न गर्नेगरी ०७६ असारमा सम्झौता भएको बसपार्क निर्माण कार्य हालसम्म आधा मात्र भएपछि छिटो काम सक्न ठेकेदार कम्पनीलाई स्थानीयले दबाब दिएका छन्।

जिल्लाबासी बुद्धिजीवि, व्यापारी, व्यवसायी र जनप्रतिनिधिदेखि सर्बसाधारणसम्मले सम्झौता अवधि नाघेको यत्तिका दिन बितिसक्दासम्म काम नभएको भन्दै त्यस्ता निर्माण कम्पनीलाई कारबाही गर्न समेत माग गरेका छन्। सम्झौताको म्याद सकिएको २ वर्ष बितिसक्दा पनि आधा मात्र काम भएको भन्दै जिल्लाबासीले कि ठेक्का तोडेर अर्कोलाई दिन या छिटो काम गर्न निर्माण कम्पनीलाई सुझाएका छन्। ‘डेढवर्षमा सक्ने सम्झौता गरे पनि ४ वर्ष बित्न लाग्दासम्म आधा भइरहेको छ’ गाईघाटका पुस्कर चामलिङले भने ‘यो ठेकेदारले काम गर्दैन भने ठेक्का तोडेर अर्कोलाई दिनुपर्छ। यो त अति ढिला भयो।’

गाईघाट उद्योग बाणिज्य संघका अध्यक्ष चुडामणि कार्कीले बसपार्कको काम ढिला हुनुमा ठेकेदार र सरोकारवाला व्यक्तिहरु सबैको कमजोरी औँल्याए। उनका अनुसार त्रियुगा नगरपालिका, यातायात व्यवसायीहरु, जनप्रतिनिधि सबैले ठेकेदारलाई बोलाएर चाँडो काम लगाउनु पर्नेमा कसैले चासो दिएका छैनन्। निर्माण सकिएपछि नगरपालिकालाई हस्तान्तरण गर्ने योजना भएकाले यसबारे नगर जनप्रतिनिधिले चासो बढी दिनुपर्ने उनको भनाइ छ। बोलाएर काम लगाउनु, नमाने ठेक्का तोडेर अर्कोलाई दिनु उचित हुने उनले बताए।

यातायात व्यवसायी शिवकुमार सापकोटाले २ वर्षअघि सक्नुपर्ने काम यति ढिला हुनुमा कसको दोष रहेको भन्ने कुरा थाहा पाउनै नसकिएको बताए।

काम ढिला गर्ने निर्माण कम्पनीलाई अरुतिर कारबाही भइरहेको, ठेक्का तोड्ने काम भइरहेको जानकारी आए पनि बसपार्क बनाउने ठेकेदारबारे केही बुझ्न नपाएको स्थानीयको भनाइ छ। फटाफट काम गरे चाँडै सुन्दर बसपार्क हेर्ने इच्छा राखेका जिल्लाबासीलाई कछुवा गतिमा भइरहेको कामप्रति पटक्कै चित्त नबुझेको यातायात व्यवसायी गणेश घिमिरे बताउँछन्।

त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेतले बसपार्क निर्माण कार्य ढिला भएको गुनासो आएपछि सम्बन्धित ठेकेदारलाई ताकेता गरिहेको बताए। उनले निर्माण कम्पनी सम्पर्कमा नआएपछि नियमन निकाय सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय राजविराजलाई भनेर झिकाउन लगाएको मेयर बस्नेतले बताए। ‘आफ्नो नगरपालिकाको काम ढिला भएकाले मैले ठेकदारलाई बोलाएको थिएँ, तर, आएन’ बस्नेतले भने ‘अनि सहरी विकासको डिईलाई भनेर झिकाएको छु, छिट्टै आउने भनेका छन्, आएपछि छिटो काम गर्न लगाइन्छ।’ उनले काम गर्ने जाँगर नदेखाएमा ठेक्का तोड्नेतर्फ प्रक्रिया अघि बढाउने चेतावनी पनि दिएका छन्।

कामको प्राविधिक रेखदेख तथा भुक्तानीको जिम्मा पाएको सघन सहरी आयोजना कार्यालय प्रमुख (डिई) सचिन्द्र देवले ०७७ पुस मसान्तभित्र निर्माण सक्ने गरी भएको सम्झौता म्यादभित्र काम नसकिएपछि पहिलो पटक १ वर्ष ७ महिना अर्थात ०७९ असोज २४ गतेसम्मलाई म्याद थपेको बताए। लगातार २ वर्ष कोभिड कहर परेको भन्दै निवेदन दिएकाले म्याद थपिदिएकोमा सो अवधिमा पनि काम नसकिएको भन्दै अर्को म्याद थप्न निर्माण कम्पनीले माग गरेको छ। ठेकेदारको माग अनुसार ०७९ असार मसान्तसम्मका लागि दोस्रो म्याद थप्ने प्रक्रिया अघि बढेको डिई देवले बताएका छन्।

आकर्षक फुलबारीसहितको पार्क, कालोपत्रेसहितको भित्री सडक, व्यापारिक कवल, चमेना गृह, घण्टाघर, टर्मिनल भवन, यात्रु प्रतिक्षालय र विविध संरचनासमेत राष्ट्रियस्तरको नमूना बसपार्क बनाउने प्राविधि इस्टीमेट रहेको सो योजनामा पहिलो फेजमा टर्मिनल भवन र घण्टाघर अन्तिम चरणमा पुगेको छ। १२ करोड ६१ लाख ५५ हजार १ सय ३७ रुपैँया २३ पैसामा रमण–आइएसएनबी जेवी जनकपुरले लिएको ठेक्काको भौतिक प्रगति हालसम्म ५५ प्रतिशत मात्र भएको छ। डिई देवका अनुसार भुक्तानी भने अहिलेसम्म ३१.६९ पतिशत मात्र भएको छ। यसबारे थप जानकारी लिन निर्माण कम्पनी सञ्चालक सन्तोष यादवसँग सम्पर्क गर्दा हुन सकेन। 

प्रकाशित: २२ पुस २०७९ १०:०८ शुक्रबार

त्रियुगा बसपार्क