समाज

यौन धन्दा चलाउने २ महिलामाथि ‘मानव बेचबिखन मुद्धा’

अवैध यौनधन्दा चलाएको आरोपमा पक्राउ होटल सञ्चालक चौधरी र दनुवार। तस्बिरः महेश्वर

होटल सञ्चालनको नाममा अवैध यौनधन्दा चलाएको आरोपमा सदरमुकाम गाईघाटका २ महिलामाथि प्रहरीले ‘मानव बेचबिखन मुद्धा’ दर्ता गरेर कारबाही थालेको छ। त्रियुगा नगरपालिका ११ गाईघाट बजारस्थित निकिता होटलमा यौनधन्दा चलाउने गरेको आरोपमा प्रहरीले उनीहरुविरुद्ध मुद्धा चलाएको हो।

२ दिनअघि सो होटलबाट ५ महिला र २ पुरुषसहित ७ जना यौनजन्य क्रिया कलाप गरिरहेको अवस्थामा रंगेहात पक्राउ परेका थिए। प्रत्यक्षदर्शी स्थानीयका अनुसार कोही भने भाग्नसमेत सफल भएका थिए। जिल्ला प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले साँझ ५ः३० बजे छापा मार्दा कोको पक्राउ परे भन्ने विषयमा भने अनुसन्धान भइरहेको जनाउदँै प्रहरीले सबै विवरण बाहिर ल्याएको थिएन। पक्राउ ५ महिलामध्ये होटल सञ्चालक २ महिलामाथि प्रहरीले बेचबिखन मुद्धा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार त्रियुगा नगरपालिका ९ की शर्मिला दनुवार र त्रियुगा १ की देवकुमारी चौधरीविरुद्ध मुद्धा दर्ता गरेर काबारही प्रक्रिया अघि बढाएको जनाएको छ। पक्राउपछि कार्यालय ल्याएर बयान लिने क्रममा उनीहरुले गाउँका सोझासिधा महिलालाई होटलमा बोलाएर आर्थिक प्रलोभनमा पारी जवरजस्ती यौन व्यवसायमा संलग्न गराउने गरेको बयानका आधारमा उनीहरुमाथि मुद्धा दर्ता गरेर कारबाही चलाएको भनाइ छ।

लामो समयदेखि सो होटलमा अवैध यौनधन्दा चल्दै आएको भन्ने सूचना प्राप्त भए अनुसार निरन्तरको निगरानीपछि पुस २० गते सप्रमाण पक्राउ गर्न सफल भएको पनि प्रहरीको दावी छ। छापा मारेर खानतलासी लिँदा यौनजन्य कार्य गर्दा प्रयोग हुने अस्थायी साधन (ढाल) पनि ठूलो मात्रामा बरामद भएको प्रहरी भनाइ छ। त्यहाँ पक्राउ परेका पीडितहरुको बयानका आधारमा होटल सञ्चालक २ महिला मुख्य दोषी देखिए अनुसार  मुद्धा दर्ता गरेर अनुसन्धान थालेको प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेश पोदारले बताए।

उनीहरुमाथि जिल्ला अदालतबाट सुरुमा ५ दिनको म्याद थपेर अनुसन्धान थालिएको छ। सोझा सिधा महिलाहरुलाई आर्थिक प्रलोभन र करकापमा पारी अवैध यौन व्यवसायमा संलग्न गराएको आरोप प्रमाणित भए ५ वर्षदेखि २० वर्षसम्म कैद तथा जरिवानाको सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको कानुन व्यवसायीहरु बताउँछन्।  

प्रकाशित: २२ पुस २०७९ ०९:०१ शुक्रबार

मानव बेचबिखन