समाज

बुटवलको ५२ स्थानमा उच्च क्षमताका सडक बत्ती जडान गरिने

बुटवल उपमहानगरपालिका नगरसभाको १२ औं अधिवेशन शुरु भएको छ। नगरसभामा नगरप्रमुख खेलराज पाण्डेयले ३५ बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन्। नगरसभाको बैठकलाइ सम्बोधन गर्दै नगरप्रमुख पाण्डेयले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्ने तर्फ ध्यान दिइएको बताए।

‘नगरका जनप्रतिनिधि र कर्मचारी सबैले अधिकतम समय योजना सम्पन्न गर्न र व्यवस्थित सेवा प्रवाहमा ध्यान केन्द्रित गरेका छौं। चालु वर्षमा सम्पन्न गर्ने भनिएका योजनाहरु यही वर्ष पूरा गरी आउँदो वर्षमा नयाँ योजना, शैली र अभियानका साथ अघि बढ्नेछौं नगरप्रमुख पाण्डेयले भने।

चालु आर्थिक वर्षमा हासिल भएका उपलब्धि र प्रयासहरुलाइ ३५ वटा बुँदा मार्फत  सम्बोधन गर्दै उनलेवडा नं. १३ र १७ मा १६/१६ बेडका अक्सिजन सहितका दुई अस्पताल स्थापना गर्ने काम अघि बढेको जानकारी गराए। उज्यालो बुटवल अभियान अन्तरगत नगरका ५२ स्थानमा उच्च क्षमताका सडक बत्ती जडान, संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदानका लागि नगरका ६ वटा विद्यालयको स्तरोन्नति लगायतका कामलाइ नगरले अगुवाई गरिरहेको बताए।

यसपालीको बाढीपहिरोबाट नगरमा क्षति हुनबाट जोगाइएको र आगामी वर्षामा समेत जोखिम न्यूनीकरणका लागि प्रभावकारी काम गर्ने प्रतिवद्धता जनाए। नगरसभामा पेश गरीएको प्रगति विवरणमा बुटवलको ठेला व्यवस्थापन, इरिक्सा व्यवस्थापन गर्ने काम जारी रहेको र छाडा चौपाया व्यवस्थापनका लागि कार्यविधि तयार गरी प्रक्रिया अघि बढाइएको उल्लेख छ। रोजगारदाता र रोजगारप्राप्त गर्ने व्यक्तिबीच समन्वय र श्रमसम्बन्धि सहजीकरणका लागि श्रम बैंक स्थापनाको काम अघि बढेको जानकारी दिए।

बुटवलको बस्तीमाथि लगीएको विद्युत प्रशारण लाईन बस्तीक्षेत्रबाट हटाउन र तार भूमिगत बनाउनका लागि नेपाल विद्युत प्राधिकरणसँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाएको, बुटवलको खानेपानी समस्या समाधानका लागि हिलपार्कमा खानेपानी ट्यांकी निर्माण गर्ने र चिडियाखोला खानेपानीको निर्मलीकरण गर्ने गरी प्लान्ट स्थापनाका लागि सर्भेको काम अघि बढेको जानकारी गराए।

नगरसभाको बैठकमा स्वास्थ्यसम्बन्धि ऐन पहिलो संसोधनको प्रस्ताव विधायन समितिका संयोजक नरेन्द्र बस्नेतले टेबुल गरे। बस्नेतले प्रस्ताव टेबुल गरेपछि बैठक माघ ११ गतेसम्मका लागि स्थगित गरीएको छ।

प्रकाशित: २२ पुस २०७९ ०७:२० शुक्रबार

बुटवल उपमहानगरपालिका