समाज

बालिकालाई जबरजस्ती गरेको अभियोग लागेका ६ जनाले पाए सफाई

१४ वर्षे एक बालिकालाई जबरजस्ती करणी र बाल यौन दुरुपयोग गरेको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका ताप्लेजुङका ६ जनाले सफाई पाएका छन्।

नेपाल सरकारवादी भएको सो मुद्दामा वादीको दावी नपुगेपछि जिल्ला न्यायाधीस निर्मला योङयाको इजलासले पुर्पक्षमा रहेका सबै ६ जनालाई सफाइ दिएको जिल्ला अदालतमा श्रेष्तेदार शम्भुप्रसाद रेग्मीले जानकारी दिए। 

ताप्लेजुङ जिल्ला अदालतले गत साउन पहिलो साता ४ पुरुष र २ महिलालाई जबरजस्ती करणी,मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी अभियोगमा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो। अनुसन्धानमा रहेका ६ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए।

अदालतको आदेश बमोजिम ४ जना पुरुष ताप्लेजुङ कारागार चलान भएका थिए भने २ जना महिलालाई पाँचथर कारागार पठाइएको थियो। ताप्लेजुङमा महिला कारागार छैन। पुर्पक्षमा पठाउँदा अदालतले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा ३ र ४ को उपदफा(१)‘ख’तथा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा(१) बिपरित,उपदफा ३‘ग’बमोजिमको कसुरमा उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको थियो।

तर,बिहीबार अदालतले मुद्दाको सुनुवाई गर्दै वादीको दावी नपुगेको भन्दै सफाई लिने फैसला सुनाएको छ। प्रहरीले ३ पुरुषलाई जबरजस्ती करणी,मानव बेचबिखन तथा ओसारपसार सम्वन्धी,१ पुरुषलाई जबरजस्ती करणी,मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी अभियोगमा मतियार बनेको तथा २ महिलालाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कार्य गरी बाल यौन दुरुपयोग गरेको अभियोगमा अनुसन्धान गरी अदालतमा पेश गरेको थियो।  

प्रकाशित: २२ पुस २०७९ ०६:४९ शुक्रबार

बालिका