समाज

'कहिले फकाउँथे, कहिले धम्की दिन्थे'

काठमाडौं- काभ्रे, होक्सेको मिजार बस्ती। काली मिजारको घरमा पहिलेजस्तो चहलपहल छैन। सबैका आँखामा आँसु छ, उदासी मात्र छ। मिजार घरीघरी सम्हालिन खोज्छिन्, आफन्त उनलाई एक्लै छाड्दैनन्। तर, जति प्रयास गरे पनि पीडा बल्भि्करहन्छ। लाउँलाउँ खाउँखाउँ उमेरको लक्काजवान छोरो गुमाउनुपर्दा एउटी आमाको मन थामियोस् पनि कसरी?

असार २९ गते तामाघाट बजार हिँडेका छोरा अजितको शंकास्पद अवस्थामा शव फेला परेयता सिंगो परिवार शोकमा डुबेको छ। 'मैले दलित भएकै कारण छोरा गुमाएँ, अन्य दलितले यस्तो भोग्न नपरोस्,' गत बिहीबार अधिकारकर्मीमाझ उनले भनिन्।

परिवारका अनुसार असार २९ गते पाँचखालबाटै बेपत्ता भएका अजितको शव धादिङ, गजुरीमा फेला परेको थियो। प्रहरीले सनाखतका लागि आफन्त खोजतलासै नगरी शव गाडेको परिवारले दाबी गर्दै आएको छ। घटनाको जानकारी पाएर धादिङ पुगेका अजितका बुबा हरिभक्त ढकाल मिजारले गाडेको शव प्रहरीसँग मागेर काठमाडौं ल्याएका थिए। 'प्रहरीले दिन मानेको थिएन, जलाउन लैजाने भनेपछि मात्र दिएको हो,' हरिभक्तले भने।

छोराको हत्या भएको दाबी परिवारले गर्दै आएको छ। उनीहरूले काभ्रेकै ५२ किलो ज्याम्दीको पराजुली परिवारविरुद्ध किटानी जाहेरी दिएका छन्। असार २५ गते अजितले ज्याम्दीकी कल्पना पराजुलीलाई बिहे गरेका थिए। त्यसपछि पराजुली परिवारले धम्की दिन थालेको हरिभक्त बताउँछन्। उनका अनुसार माइती पक्षले कहिले कल्पना छाडिदिन अजितलाई फकाउँथ्यो त कहिले अपरिचित व्यक्तिले फोन गरेर धम्क्याउँथ्यो।

'फोनमा केही नबोल्ने गीत सुनाउने गरेका थिए, अन्तिमपटक ठूलीआमासँग कुरा गरेको थियो,' आमाले भनिन्।

साउने संक्रान्तिका दिन स्थानीयले फेसबुकमा अजितको शवसहितको समाचार देखे। लगत्तै परिवारलाई खबर गरे। छिनमै घटनाबारे सबैतिर हल्ला फैलियो। परिवारले तामाघाट प्रहरीमा निवेदन दिए। सोही रात मिजार परिवार धादिङ पुग्यो, जहाँ अजितको शव फेला परेको भनिएको थियो। प्रहरीले गाडिसकेको शव निकालेर परिवारले काठमाडौं ल्यायो।

काठमाडौं आएपछि घटना छानबिन गर्न राष्ट्रिय दलित आयोग तथा दलित अधिकारकर्मीको दबाबमा पुनः शव पोस्टमार्टम गरियो। त्यसको रिपोर्ट आइसकेको छैन। गृह मन्त्रालयले धादिङमै तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

मृतकको परिवारले अन्तरजातीय विवाहकै कारण छोराको हत्या भएको भन्दै किटानी जाहेरी दिएको छ। जाहेरी दिएको साता बितिसक्दा पनि प्रहरीले कसैलाई नपक्रनुले घटना रहस्यमय रहेको दाबी उनीहरूको छ। 'दोषीउपर चाँडो कारबाही होस्, सरकारले सहयोग गर्नुपर्‍यो,' मिजारले अनुनय गरिन्।

बिहेकै बेला कल्पनाले आफ्नो मोबाइल अजितको घरमा छाडेकाले अरूको फोनबाट अजितलाई तीन दिनभित्र तिमीसँगै आउँछु भनेर फोन गरेको साथी दीपेन्द्रले सुनाए। अजितको मृत्युको घटना थाहा पाएपछि साउन ३ गते त्यही मोबाइलमा फोन गरी कल्पना बेस्सरी रोएकी थिइन्।

पराजुली परिवारले पनि अजितसँग छुटाएपछि छोरीले कुनै खोजी नगरेको दाबी गर्दै आएको छ। 'अरू केही भन्दिनँ, छिनछिनमा टोलाउँछे,' कल्पनाका पिता भोजबहादुरले भने। 

बिहीबारै स्थानीय भोजबहादुर पराजुलीका दाइले फोन गरी अजित नेपालगन्जमा रहेको बताएको समाजसेवी रमेश काफ्लेले बताएका छन्। उनलाई दोलालघाटबाट पराजुलीकै दाइले फोन गरेर यस्तो जनाउ दिएका थिए।

घटना विवरणअनुसार असार २५ गते अजितसँग कल्पना भागेर गएदेखि नै पराजुली परिवारले धम्की दिँदै आएको थियो। अजित कल्पनालाई लिएर भक्तपुरस्थित ठूलीआमाको घर पुगेका थिए। दबाब आएपछि मिजारले छोरालाई घरैमा बोलाएकी थिइन्। तामाघाट प्रहरीमा बोलाई २७ गते अजित र कल्पनालाई छुटाएका थिए। छुटाउँदा कल्पनाले जान नमानेपछि दुई जनाले जबरजस्ती मोटरसाइकलमा राखेर लगेका थिए। प्रहरीचौकीमै कल्पनाकी दिदी सम्झनाले धम्की दिएकी थिइन्।

 'प्रहरीकै अघि तीन दिनभित्र सात–आठ लाख खर्च गरेरै भए पनि जमिनमाथि हिँड्न दिन्नँ भनिन्,' मिजारले भनिन्। त्यसपछि पनि दिदीसहित अपरिचित नम्बरबाट धम्की आइरहन्थ्यो। त्यही बीचमै वकिल बनेर फोन गरेका व्यक्तिले कल्पनालाई आफूले अर्को बिहे गरेको भन्न लगाएका थिए। डरका कारण अजितले त्यही व्यक्तिकै फोनमा 'मैले बिहे गरेँ, विदेश जाँदै छु' भनेका थिए। यो कुरा अजितका मिल्ने साथी कान्छाराम तामाङ र रोशनले सुनेका थिए। अजितको बिहेपछि विकसित घटनाले नै छोराको हत्या भएको दाबी मिजार परिवारले गरेको छ। 'उनीहरूकी छोरीले मेरो छोरासँग बिहे गर्ने अड्डी कसेपछि हत्या भएको देखिन्छ,' मिजारले भनिन्।

घटनाबारे गृह मन्त्रालयले सात दिनभित्र प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ।

'आफ्नै जातमा बिहे गर्ली भन्ने थियो'

पराजुली परिवार कान्छी छोरी कल्पनाले 'सानो जात' सँग बिहे गर्नु र केटाको मृत्यु हुनुले तनाबमा परेको जनाउँछ। 'जे भयो–भयो, पछि आफ्नै जातसँग बिहे गर्ली र सधैं माइती आउन पाउली भन्ने थियो,' आमा सीताले मानवअधिकारवादी टोलीसँग भनिन्। सीताले घटनाले पीडामाथि पीडा थपेको बताइन्। 'यस्तो हुन्छ भन्ने ठानेको भए लिने थिएनौं,' उनले  भनिन्।

बाबु भोजबहादुर भने जातका कारणभन्दा पनि उमेर सानो भएकाले छुटाएको बताउँछन्। उनले कल्पनाको उमेर १५ वर्ष बताए पनि स्थानीय भने १७ वर्ष नाघिसकेको बताउँछन्। 

पराजुलीले चौकीको रोहबरमा छुटाएको र चौकीमा लिखित मिलापत्रमा छुटेपछि केही भए कोही जिम्मा नहुने गरी कागज बनेको जानकारी दिए। 'प्रहरीले पढेर सुनाए, प्रहरीले लेखेको झुट छैन होला,' उनले भने। मिजार परिवारका अनुसार अजित र कल्पनालाई हातै समाएर सही गर्न लगाइएको थियो। दिदी सम्झनाले कल्पनाले लगाएको चुरापोते बलजफ्ती चुँडाएर लछारपछार गरेको मिजार परिवार तथा स्थानीयले बताए।

भोजबहादुरले आफूले कुने गल्ती नगरकाले फोन खुलै राखेको, प्रशासनले बोलाए जाने बताउँछन्। मानवअधिकार टोली पुग्दा पराजुली बिहीबार मात्रै बाउन्न किलो आएको बताइरहेका थिए। 'तपाईंको सबै परिवार धुलिखेल लगिसके भनेको सुनेपछि झसंगै भएँ,' उनले भने।

स्थानीयले पनि जातकै कारण पराजुली परिवारले छुटाएपछि घटना भएको बताएका छन्। उनीहरूका अनुसार कल्पना र अजितको दुई वर्षदेखि पे्रम थियो। 'छुटाउनेबित्तिकै दस वर्षपछि पनि आउँछु, पर्खेर बस अजित भनेकी थिई रे,' स्थानीय एक महिलाले भनिन्। कल्पनाले बिहेअघि नै अजितको तस्बिर आफ्ना साथीहरूलाई देखाइसकेकी थिइन्। घरपरिवारसंगै दलित जातिसंग बिहे गरेकोमा गाउँलेले समेत कुरा काटेपछि पराजुली परिवारलाई असह्य भएको स्थानीय युवतीले बताए।

छुटाएर लगेपछि काठमाडौं राखिएकी कल्पनालाई गाउँले र घरमा ९० वर्ष पुगेका हजुरबुवाका कारण सधैंका लागि घर नलगिएको हो। 'हजुरबुबाले म बाँचुन्जेल त्यसलाई घरमा नलेऊ भनेका छन् रे,' स्थानीय एक महिलाले भनिन्। अजितसँग छुटाएपछि कल्पनाले खाना खान छाडेको र टोलाउने गरेको स्थानीयले बताए। 'छिनछिनमा टोलाउँछे, अरू केही गर्दिन,' बाबु भोजबहादुरले भने।

प्रकाशित: ९ श्रावण २०७३ ०३:०२ आइतबार

फकाउँथे धम्की दिन्थे