समाज

अनुकूलन कोषको बोर्ड सदस्यमा उपसचिव शर्मा

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिअन्तर्गतको अनुकूलन कोषको बोर्ड सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा चयन भएका छन्।

मन्त्रालयको सिफारिसमा उनी अति कम विकसित राष्ट्रको समूह (एलडिसिज ग्रुप) का तर्फबाट अनुकूलन कोषको बोर्ड सदस्यमा छनोट भएका मन्त्रालयले जनाएको छ।

कोषमा अन्य विभिन्न समूहका गरी झन्डै २० पदाधिकारी रहन्छन्। उपसचिव शर्मा दुई वर्ष (सन् २०२३ र २०२४) का लागि सो पदमा छानिएका हुन्।

उक्त पदमा विभिन्न मुलुकबाट विभिन्न व्यक्तिले आवेदन दिएका थिए। कोषको बोर्ड सदस्यमा उनी एलडिसिज ग्रुपका तर्फबाट छानिए पनि नेपाललाई उक्त कोषको नीति निर्माणमा पहुँच र सहयोग प्राप्तिमा योगदान पुग्ने विश्वास छ।

नेपाल पक्ष राष्ट्र भएको जलवायु परिवर्तनसम्बन्धी महासन्धिको सदस्यका रूपमा काम गर्दै आएको छ। यस महासन्धि अन्तर्गत विभिन्न निकाय छन्। त्यसमध्ये अनुकूलन कोष महत्त्वपूर्ण एकाइ हो। कोषले जलवायु परिवर्तनका असरबाट प्रभावित गरिब र संकटासन्न अवस्थामा रहेका जनतालाई अनुकूलन कार्यमा सहयोग गर्ने गर्छ। रासस

प्रकाशित: २१ पुस २०७९ ०७:३९ बिहीबार

अनुकूलन कोषको बोर्ड सदस्य जलवायु परिवर्तनसम्बन्धी महासन्धि