समाज

अठहत्तर वर्षमा नागरिकता

सोलुखुम्बु जिल्लाका एक वृद्धले ७८ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन्। विसं २००१ चैत ३ गते जन्मिएका सोताङ गाउँपालिका-१ का शुक्रबहादुर राईले ७८ वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्।

आफन्त सबै गुमेकाले एक्लो रहँदै आएका उनी सनाखत गर्ने व्यक्तिसमेत नहुँदा नागरिकता पाउनबाट वञ्चित भएकामा जनप्रतिनिधिको पहलमा नागरिकता बनाए।

थुलुङ दूधकोसी गाउँपालिका-५ का पूर्व वडाध्यक्ष प्रेमकुमार राई, वर्तमान वडाध्यक्ष चन्द्रबहादुर राई र सोताङ गाउँपालिका-१ का वडाध्यक्ष जंग गुरुङको पहलमा नागरिकता उपलब्ध गराइएको थियो।

राई एक वर्षकै उमेरदेखि जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका-५ जुबुमा अर्काको जग्गामा बस्दै आएको वडा कार्यालयका कम्प्यूटर अपरेटर जेपी थुलुङको भनाइ थियो।

जुबुका दोर्जे राईको जग्गामा डेरा बनाई बसिरहेका उनी नागरिकता नभएकै कारण सरकारबाट पाइने सेवा तथा सुविधाबाट वञ्चित हुँदै आएकामा अब भने सामाजिक सुरक्षा भत्ताका लागि आवश्यक प्रक्रिया समेत सुरु गरिएको वडाध्यक्ष चन्द्रबहादुर राईले बताए। रासस

प्रकाशित: २१ पुस २०७९ ०६:५९ बिहीबार

७८ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र