समाज

३ सय गाइभैंसीको बिमा र कृतिम गर्भाधान गर्दै तीनपाटन गाउँपालिका

तीनपाटन गाउँपालिकाले गाउँपालिका भित्रका तीन सय गाइभैंसीको बिमा र कृतिम गर्भाधान गर्ने भएको छ। चालु आर्थिक बर्षमा गाउँपालिका भित्रका ११ ओटै वडाका किसानको घरघरमै पुगेर तीन सय गाइभैंसीमा कृतिम गर्भाधान र बिमा गर्ने योजना अनुसार काम भइरहेको गाउँपालिका कार्यालय सिन्धुलीले जनाएको छ।  

‘चालु आ.वको हालसम्म ६० भन्दा बढी पशुमा कृतिम गर्भाधान गरेका छौं’, गाउँपालिकाका पशु विकास शाखा प्रमुख जयन्त कार्कीले भने, ‘यस बर्ष ३०० ओटा गाँइभैसीमा गर्भाधान गर्ने लक्ष्य राखेका छौं।

किसानले माग गरेको १२ घण्टाभित्रै आफूहरुले सेवा दिएको प्रमुख कार्कीले बताए। यस्तै गाउँपालिकाले पशु पालन कृषकलाई थप टेवा पुगोस् भनेर पशु बिमा कार्यक्रमलाई समेत तिब्रता दिएको छ। गाउँपालिकाले यस आर्थिक बर्षमा तीन सय ओटा गाइभैंसीको बिमा गर्ने लक्ष्य राखेको र हालसम्म ८० ओटाको बिमा भइसकेको पशु विकास शाखा प्रमुख कार्कीको भनाई छ।  

‘किसानले निवेदन दिनुहुन्छ हामी किसानको घरमै गएर बिमा गर्न सहयोग गर्छौ’, उनले भने, ‘पशु विमा गर्दा किसानलाई फाइदा हुने भएपछि यो कार्यक्रम किसानको रोजाइमा छ।’ नियमानुसार बिमा गरेका किसानले पालेको पशुको मृत्यु भएमा शतप्रतिशत बिमा बापतको दावी रकम भुक्तानी हुने उनको भनाई छ। बिमा गरेका गाइभैंसीहरु सुत्केरी भएको अवस्थामा पालिकाले निशुल्क भिटामित, मिनरल्स तथा आन्तरिक तथा बाह्य परजिवीबाट बचाउने औषधिसमेत वितरण गर्ने गरेको गाउँपालिकाले जनाएको छ।  

तीनपाटन गाउँपालिका उर्वर भूमि भएकाले किसानलाई पशु पालनमा समेत सहज हुने देखिएपछि गाउँपालिकाले पशुपालनमा जोड दिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरको बताउँछन्। उनका अनुसार तीनपाटनमा व्यवसायीक रुपमा गाइभैंसी पालनलाई बढाउने र किसानलाई व्यवसायीक बनाउने गाउँपालिकाले लक्ष्य राखेको छ। पशु पालनमा सघाउने उदेश्यले पालिकाले घाँसको बिउ वितरण गर्ने, खोर गोठ सुधार गर्ने,बाख्रामा नश्ल सुधार गर्ने जस्ता कार्यक्रम गर्दै आएको छ। यस्तै मासु उत्पादनलाई समेत बढाउने उदेश्यले बंगुर विकास कार्यक्रम पालिकाले गर्दै आएको छ।

प्रकाशित: २१ पुस २०७९ ०२:५० बिहीबार

तीनपाटन गाउँपालिका