कुमारी आमा भनेर चिनिएकी महोत्तरी जलेश्वर नगरपालिका–८ की २१ बर्सिया निहारिका सिंह राजपूत मुद्दामा उच्च अदालत जनकपुरले डिएनए चेकजाँच गरेका विज्ञ झिकाउन आदेश दिएको छ।
बुधबार उच्च अदालत जनकपुरका न्यायाधीश विष्णुप्रसाद कोइराला र सागर विष्टको संयुक्त इजलासले उक्त आदेश दिएको हो।
राष्ट्रिय विज्ञान प्रयोगशालाले निहारिकाको बच्चा र आरोपित धनुषा महेन्द्रनगरका शिवराज श्रेष्ठसँग गरेको डिएनए परीक्षणको ९९.९ प्रतिशत मिलेको रिपोर्ट कार्तिक १८ गते अदालतमा प्राप्त भएको थियो।
निहारिकाले आफ्नो छोरा र आरोपित श्रेष्ठसँग डिएनए परीक्षणको माग गरेपछि अदालतले साउन ८ गते डिएनए परीक्षण गर्नका लागि आदेश दिएको थियो। तीन नम्बर इजलासमा निहारिका मुद्दाको बहस भएको थियो। सो मुद्दामा जाहेरीवालको तर्फबाट वरिष्ठ अधिवक्ता सुनिता पोखरेल अधिवक्ता शान्ति रिजाल, रिंकुकुमारी यादव र सह न्यायधिवक्ता यदुनाथ शर्मा र प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता श्याम मिश्रले बहस गरेका थिए।
माघ १० गतेसम्म डिएनए परीक्षण गरेका विज्ञलाई अदालतमा झिकाएर बकपत्र हुने निहारिकाको तर्फबाट बहस गर्दै आएकी वकिल रिंकुकुमारी यादवले जानकारी दिइन्। विज्ञको बकपत्रपछि अर्को पेशी तोकिन्छ। त्यही पेशीबाट अन्तिम फैसला आउने सम्भावना बढी रहेको वकिल यादवले बताइन्।
निहारिकाले आफूलाई श्रेष्ठले जबरजस्ती करणी गरेको भन्दै जिल्ला अदालत धनुषामा मुद्दा दायर गराएकी थिइन्। अदालतले उक्त मुद्दामा सुनवाइ गर्दै ०७८ माघ २४ गते जबरजस्ती करणी नभएको फैसला सुनाएको थियो।
निहारिकाले जिल्ला अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै ०७८ फागुन १२ गते उच्च अदालत जनकपुरमा पुनरावेदन दिएकी थिइन्। उच्च अदालतले तोकिएको पेसीमा सुनवाइ नगरेको र प्रतिवादीसँग मिलेको आरोप लगाउँदै उनले काठमाडौंमा दोस्रो पटक आमरण अनशन सुरु गरेकी थिइन्।
त्यस क्रममा सरकारले उनीसँग ५ बुँदे सहमति गर्दै गत असार ३ गते अनशन तोडाएको थियो। निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा उनले अनशन तोडेकी थिइन्। तर सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै उनले शीतल निवास अगाडि आफैंले बोतलमा लगेको पेट्रोल शरीरमा छर्केर आत्मदाहको प्रयास समेत गरेकी थिइन्।
पहरीले पेट्रोल खन्याउँदा खन्याउँदै उनलाई नियन्त्रणमा लिएको थियो। उनले आत्मदाह को प्रयास गरेपछि मुद्दा फास्ट्रयाक्मा अघि बढेको थियो।
प्रकाशित: २० पुस २०७९ १६:४९ बुधबार