समाज

सुनसरीमा हत्या गरि टाउँको गाडिएको अवस्थामा शव फेला

अज्ञात समूहले सुनसरी कोसी गाउँपालिकाका एक युवाको हत्या गरि टाउँको गाडिएको अवस्थामा शव फेला परेको छ।

कोशी गाउँपालिका वडा नं. २ का देवराम यादवको १७ वर्षे छोरा रञ्जितकुमारको हत्या गरि टाउँको गाडिएको अवस्थामा बुधबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। डिएसपी राजकुमार राईका अनुसार मंगलबारदेखि वेपत्ता रञ्जितको शव बुधबार बिहान १०.३० भेटिएको हो।

रञ्जित मंगलबार साँझदेखि वेपत्ता भएका थिए। वेपत्ता रञ्जितको घरदेखि सात सय मिटर दुरीमा रहेको आलु खेतमा टाउँको माटो मुनी पुरेर जीउँ भने बाहिर देखिने गरि शव भेटिएको डिएसपी राईले बताए। उनका अनुसार मृतक किशोरको अनुहारमा चोटपटक लागेको छ।

‘अनुहारमा चोटपटक हेर्दा कुटपिट गरेपछि हत्या गरिएको देखिन्छ,’ डिएसपी राईले भने। किशोर रञ्जितको शव पोष्टमार्टमका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। घटनाको अनुसन्धान थालिएको छ। अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन्। हत्या गरिएका रञ्जित लागूऔषध प्रयोगकर्ता भएकाले गर्दा त्यही समूहमा संलग्नले हत्या गरेको आशंका गरेर सोही अनुसार अनुसन्धान अघि बढाइएको छ।  

प्रकाशित: २० पुस २०७९ १४:०० बुधबार

शव फेला