समाज

लागू औषधसहित सर्लाहीबाट एक युवक पक्राउ

सर्लाही प्रहरीले एक युवकलाई लागू औषधसहित पक्राउ गरेको छ।

सर्लाहीको हरिपुर नगरपालिका ८ हातिसारबाट सर्लाही प्रहरीले प्रतिबन्धित लागू औषधसहित एक जनालाई पक्राउ गरेको हो।

नवलपुर मलंगवा सडक खण्डमा ना १ ज २३८२ नम्बरको म्याजिक जिप चालकसित भाडाको विषयमा झगडा भएपछि चालकलाई कुटपिट गरी भाग्दै गरेको अवस्थामा पक्राउ गर्दा युवकबाट लागू औषध बरामद भएको हो। सर्लाहीको गोडैता नगरपालिका ७ घर भई हरिवन नगरपालिका ९ मा डेरा गरी बस्ने करिब २० वर्षका दीपक बैठा लागू औषधसहित पक्राउ परेका हुन्।

पक्राउ परेका बैठाले लगाएको कपडाबाट २६ पत्ता ७८० पिस नाइट्रोभेट १० लेखिएको ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

युवकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपी विजय यादवले जानकारी दिएका छन्।

प्रकाशित: २० पुस २०७९ १२:२५ बुधबार