समाज

बौद्धको सडक विस्तार न मर्मत

काठमाडौं- तस्बिरमा देखिएको सडक विश्व सम्पदा सूचीमा रहेको राजधानीको बौद्धनाथ स्तुप अगाडिको हो। बौद्धनाथ स्तुपदेखि पिपलबोटसम्म करिब १ किलोमिटर सडक बिगे्रको ६ महिनाभन्दा बढी भइसक्यो। हिँउद याममा सडकम सवारीसाधन गुड्दा धुलाम्मे भएर दिउँसै अन्धकार हुने यो सडक बर्खा लागेपछि भने पानी जमेर रोपाईं गर्न हिल्याएको खेतको गराजस्तै भएको छ।

कमसल कालोपत्रे उप्किएर बनेका खाल्डाका कारण सवारी आवतजावतमै अवरोध हुँदै आएको छ। 'वैशाखदेखि नै पानी जमिरहेको छ,' बौद्धका स्थानीय अम्बरबहादुर खड्काले भने, 'घाम लागे पनि खाल्डामा जमेको पानी सुक्दैन। तसर्थ सडक असारको खेतजस्तो हुने गरेको छ।' दैनिक हजारौं सवारीसाधन आवतजावत गर्ने सडकमा बनेका खाल्डा दिनहुँ ठूला हुँदै भड्खाला बनेका छन्। बिग्रेको सडकबारे सञ्चारमाध्यममा अनेकौंपल्ट समाचार सार्वजनिक भएपछि सडक डिभिजन कार्यालयले आँखामा छारो हाल्न सडक मर्मत गरेजस्तो गरी खाल्डामा माटो भर्‍यो। तर माटोले सडक मर्मत हुनुको साटो बर्खामा झन् हिलाम्मे बनायो।

डिभिजनले कार्यालयले सडकका भड्खालामा दुईपल्ट माटो भरिसकेको छ। दैनिक हजारौं सवारीसाधन गुड्दा सडकमा भरेको माटो धुलो र हिलोमा मात्र परिणत भयो। पहिलेभन्दासडकका भड्खाला अहिले झन् फराकिला हुँदै गएका छन्। बौद्धबाट जोरपाटी जाने मुख्य सडक भए पनि १ किलोमिटर सडकखण्डका कारण सवारीसाधन र यात्रु आवतजावत गर्नै कष्टकर बनेको छ। स्थानीय र व्यापारी व्यवसायीले खेपेको सास्ती सडकको अवस्थाले नै सहजै अनुमान गर्न सकिन्छ।

सडक मर्मतका लागि जिम्मेवार निकाय सडक डिभिजन कार्यालयले खाल्डामा माटो भरेर आँखा छारो हालेर उम्कीरहेकेा छ। 'चावहिल–जोरपाटी सडक विस्तार गर्न सडक विस्तार आयोजनालाई ठेक्का दिईसकेका छौं,' कार्यालय प्रमुख धर्मेन्द्र झाले भने, 'अब उक्त सडक आयोजनाले नै बनाउने हुँदा हामीले मर्मत नगरेका हौं।' उनका अनुसार माटो हालेर सडकमा आवागमन सहज बनाइएको छ। तर सडक हेर्दा कार्यालयले गरेको काम कस्तो थियो स्पष्ट हुन्छ।

सडक डिभिजन कार्यालयले भनेजस्तो सडकको मर्मत सडक विस्तार आयोजनाले गर्दैन। आयोजनाले कार्य क्षेत्रभित्र सडक विस्तार गर्ने र एकैपटक कालोपत्रे गर्ने मात्र रहेको जनाएको छ। अहिले विस्तार आयोजनाको निर्देशनपछि केहीले चावहिल जोरपाटी खण्डमा घर भत्काउन थालेका छन्। तर सबै घर भत्काईसकेर विस्तार गर्दा अझै केही वर्ष लाग्छ। आयोजनाले पनि आफैं भत्काउन चाहने घरधनीलाई समय दिनुपर्ने हुन्छ। यसो हुँदा बौद्धको सडक विस्तार सकिन अझै केही वर्ष कुर्नुपर्नेछ। त्यसैले बौद्धको सडक मर्मत हुन अझै केही वर्ष कुर्नपर्ने आशंका स्थानीयले व्यक्त गरेका छन्।

प्रकाशित: ६ श्रावण २०७३ ०३:२७ बिहीबार

बौद्धको सडक विस्तार मर्मत