समाज

नक्कली मागमा जापान पठाउने भन्दै ठगी

काठमाडौं-आइइबी इन्टरनेसनल कन्सल्टेन्सीलाई एक लाख रुपैयाँ बुझाएपछि सुनसरी, भासी–५ का अर्जुन बस्नेतले जापान जाने दिनगन्ती गर्न सुरु गरिसकेका थिए। कन्सल्टेन्सी सञ्चालक नेत्रकुमार लोहनीले रकम बुझाएको दुईदेखि तीन महिनामा जापान जान पाइने आश्वासन दिएका कारण बस्नेतको उत्सुकता झनै बढेको थियो । गत वैशाख १३ गते घरमै पुगेर लोहनीले बस्नेतसँग एक लाख रुपैयाँ लिएर बढीमा तीन महिनाभित्र थप आठ लाख रुपैयाँ तयार गर्नु भनेपछि उनी जापान जाने दिन पर्खेर बसेका थिए।

सुनसरी, मरुल–३ कै हेमराज खत्रीको अवस्था पनि बस्नेतको जस्तै हो । तिनै कन्सल्टेन्सी सञ्चालक लोहनीलाई पेस्की स्वरुप एक लाख रुपैयाँ बुझाएका खत्रीले पनि चाँडै जापान उड्ने सपना देखिसकेका थिए। गाउँघरमा साथीभाइसँग जापानको बखान गर्न र जापानबाट फर्केपछि गर्ने योजनासमेत बुन्न खत्री व्यस्त थिए । सोही ठाउँका शेरबहादुर कार्कीले त जापान उड्ने सपनामा लोहनीले भने अनुसार नै थप आठ लाख रुपैयाँ जम्मा गरिसकेका थिए ।

कन्सल्टेन्सीको वास्तविकता बुझ्दै नबुझी धमाधम रकम बुझाएका बस्नेत, खत्री र कार्कीमात्र नभई सुनसरी र मोरङका १० युवा यतिखेर जापान जानु त कता हो कता कन्सल्टेन्सी सञ्चालकले ठगी गरेको पुष्टि भएपछि डुबेको रकम कसरी फिर्ता लिने भन्दै कहिले वैदेशिक रोजगार विभाग त कहिले प्रहरीमा धाइरहेका छन् । यतिखेर उनीहरूको जापान जाने मोह भंग भइसकेको छ तर यतिमै समस्या समाधान भने भएको छैन । उनीहरूलाई एकातिर डुबेको रकम कसरी फिर्ता गर्ने भन्ने तनाव छ भने अर्कोतिर रकम लिएर जापान नपठाउने लोहनीलाई कसरी कारबाही गर्ने भन्ने समस्या आइपरेको छ ।

जापान जान १० जनामध्ये पाँचजनाले १–१ लाख रकम लोहनीलाई बुझाएका छन् भने चारजनाले ५० हजार र एक जनाले २३ हजार रुपैयाँ । कन्सल्टेन्सी सञ्चालकले तय गरे अनुसारको जापान जान तयारी गर्न लगाएको मितिमा काठमाडौं आउँदा लोहनी ‘फरार’ भएपछि उनीहरूले ठगीमा परेको आंशका गरेका हुन् । जापानमा कृषि र कार धुलाइको काममा वर्किङ भिसामार्फत पठाउने प्रतिबद्धता जनाएका लोहनीले ती युवालाई दिएका विभिन्न कागजपत्र खोतल्दै जाँदा रोजगारदाता कम्पनीले दिएको भनिएको कामको मागपत्र नै नक्कली रहेको पुष्टि भएपछि ठगीमा परेको पुष्टि भएको कार्कीले जनाए । ‘रकम असुल गरेपछि कन्सल्टेन्सी सञ्चालक फरार भएपछि कम्पनीको मागपत्र भनिएको कागजलाई काठमाडौंस्थित दूतावासमा देखाउँदा नक्कली रहेको पुष्टि भयो,’ कार्कीले भने, ‘हुँदाहुँदा कन्सल्टेन्सी नै नक्कली मागपत्र बनाएर ठगी धन्दामा लागेपछि कसको विश्वास गर्ने र कसको नगर्ने भन्ने अन्योल भयो ।’

पछिल्लो समयमा वैदेशिक रोजगारीको क्रममा ठगी बढेपछि रोकथाम गर्न  श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग तथा प्रहरी सक्रिय भए पनि ठगीका घटना घट्नुको साटो दिनप्रतिदिन बढिरहँदा पीडितलाई कसरी न्याय प्रदान गर्ने भन्ने चुनौती थपिएका छन् । ‘राजधानीमै रहेका कन्सल्टेन्सीले खुलमखुला ठगी गर्छन् भने कसको विश्वास गर्नु ?,’ पीडित आशकुमार राईले भने, ‘यो त दिनदहाडै लुटपाट हो ।’

विभागका अनुसार चालु आर्थिक वर्षको असारसम्म वैदेशिक रोजगारीको क्रममा लुटिएको भन्दै २४ सय उजुरी दर्ता भएका छन् । विभागका कानुन निर्देशक गोविन्दप्रसाद उपाध्याय रोजगार पीडितलाई न्याय दिन वैदेशिक रोजगार ऐन २०६४ संसोधन गरी उजुरी लिने व्यवस्था स्थानीय तहबाट गर्नैपर्ने बताउँछन् । त्यस्तै अधिवक्ता वीरबलकाजी राई वैदेशिक रोजगारीमा जाने युवायुवती नै सचेत नभएसम्म समस्या ज्युँका त्युँ रहने बताउँछन् । अर्का अधिवक्ता शोभा कार्कीको अनुभवमा पढेलेखेका र जानेबुझेका युवायुवती नै वैदेशिक रोजगारीको क्रममा ठगिएको भन्दै दिनहुँ गुनासो गरिरहनुको कारण ठगीमा ठूलै गिरोह सक्रिय रहेको पुष्टि हुन्छ ।

 

प्रकाशित: ५ श्रावण २०७३ ०३:५५ बुधबार

नक्कली मागमा जापान पठाउने भन्दै ठगी